काठमाडौं- १६ वर्षदेखि कृषि पेसामा लागेका हिमराज न्यौपाने (४०) चार रोपनी जमिनमा खेतीपाती गर्छन्। नमोबुद्ध नगरपालिका- ६ बेलुवाटार, काभ्रेका न्यौपानको आम्दानीको मुख्य स्रोत नै कृषि हो।
१६ वर्ष पहिले परम्परागत रुपमै खेतीपाती गर्न थालेका न्यौपाने हाइब्रिड होइन, स्थानीय बिउ-बिजन लगाउँथे। रासायनिक मल होइन, प्राङ्गारिक मलको प्रयोग गर्थे।
उत्पादन कम हुन्थ्यो। तर लामो समयसम्म भण्डारण गर्न मिल्थ्यो। किरा लाग्ने र कुहिने समस्याले कम सताउँथ्यो।
‘म स्थानीय बिउ-बिजनको प्रयोग गर्थे। त्यो बेला विषादी हाल्दैनथ्यौँ। उत्पादन कम भए पनि भण्डारण गरेर राखिएका अन्नपात एक वर्ष बढीसम्म उपयोग गर्न मिल्थ्यो। किराहरुले कम खान्थ्यो,’ उनले भने।
त्यो बेला किटनाशक विषादीको प्रयोग उनको लागि नयाँ थियो। हाइब्रिड बिउबारे पनि खासै थाहा थिएन। गाउँघरमा हाइब्रिड बिउको प्रयोग गर्न थालेपछि भने आफूले पनि थाहा पाएको उनी बताउँछन्।
उत्पादन दोब्बर, किरा पनि कम लाग्ने। हेर्दा नाफै-नाफा। यही लोभले हाइब्रिड बिउ र किटनाशक विषादीतर्फ उनको झुकाव बढ्दै गयो। छिमेकीको देखासिकी गरेर उनले विषादीको प्रयोग त बढाए तर अन्य समस्या पनि आउँदै गयो। उत्पादन राम्रो हुने तर लामो समय भण्डारण गर्न नमिल्ने समस्याले उनलाई सताउन थाल्यो।
‘एक/दुई वर्ष त राम्रै उत्पादन भयो। रोग-किराले पनि त्यति दु:ख दिएन,’ उनले भने, ‘एक मुरी मकै सञ्चय गरेर राख्दा एक महिना खान पुग्थ्यो भने हाइब्रिड जातको अन्नबाली भने १५ दिनलाई पनि पुगेन। आधा मकै किराले खाएर नै धुलो पार्यो।’
मुनाफाको लोभले स्वास्थ्य समस्या
विषादीले उनलाई केही समय आर्थिक रुपमा नाफा त गर्यो। तर स्वास्थ्य समस्या पनि बढाउँदै लग्यो। विषादी प्रयोग गर्न थालेपछि उनको कपाल झर्न थाल्यो। शिरमा रहेको बाक्लो कपाल अहिले पातलिँदै गएको न्यौपाने बताउँछन्।
आफ्नो टाउकोतर्फ देखाउँदै उनले भने, ‘यो मेरो कपाल झरेको विषादीकै कारणले हो। आज विषादी हालियो भोलि नै गोडमेल गर्न जाँदा बिरुवामा लागेको विषादी जिउमा लाग्ने रहेछ।’
कपाल झर्ने समस्यासँगै उनलाई शरीर चिलाउने, थकान महसुस हुने, आँखा पोल्ने जस्ता स्वास्थ्य समस्या पनि थियो। विषादीले स्वास्थ्यमा पारेको असरबारे कृषक न्यौपानेसँग कुराकानी गरिरहँदा उनको छेउमै थिए, सोही ठाउँका पर्शुराम केसी (४२)।
उनले पनि विषादीले गर्दा आफ्नो कपाल झरेको भन्दै टाउको देखाए। उनको शिर पूरै खाली जस्तै भइसकेको रहेछ।
विगत ६ वर्षदेखि उनी कृषि पेसामा छन्। ६ रोपनी जमिनमा उनी खेती गर्छन्। कपाल झर्ने समस्या मात्र नभई आँखा पोल्ने, पाक्ने, शरीर पोल्ने, चिलाउने समस्या देखिएको उनले बताए।
रासायनिक मल र किटनाशक विषादीले छाला र कपालमा असर गर्ने छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराई बताउँछिन्। किटनाशक विषादीमा हुने विभिन्न केमिकलको सिधा सम्पर्कमा आउँदा कृषकहरुमा छालामा एलर्जी हुने, चिलाउने पानीको फोका जस्तो आउने समस्या हुन्छ। कपालमा पनि यो विषादी परे चिलाउने, सुख्खा हुने, झर्ने, टुक्रिने समस्या हुने उनले बताइन्।
‘कृषकहरुले प्रयोग गर्ने किटनाशक विषादीमा विभिन्न केमिकल हुन्छन्। सावधानीपूर्वक प्रयोग नगर्दा र सिधा सम्पर्कमा आउँदा छालामा र कपालमा विभिन्न समस्या आउँछन्,’ उनले भनिन्।
छालामा यी विभिन्न समस्या देखिने बित्तिकै पानीले पखाल्ने, तेल लगाउने वा ठिक नभए चिकित्सकलाई देखाउन उनको सुझाव छ।
किटनाशक विषादीको विकल्प घरेलु विषादी
नमोबुद्ध नगरपालिका- ६ का कृषकले मुनाफाको लोभमा हाइब्रिड बिउको प्रयोग गरे। किटनाशक औषधिको पनि अत्यधिक प्रयोग गरे। त्यसकै फलस्वरुप विभिन्न स्वास्थ्य समस्या देखियो। त्यसैले उनीहरु विस्तारै किटनाशक विषादीलाई कम गर्दै घरेलु (अर्गानिक) विषादी प्रयोग गरेर खेती गर्नतर्फ लागेका छन्।
जमिनको उत्पादकत्वमा ह्रास आएको र स्वास्थ्यमा पनि समस्या निम्त्याएको भन्दै उनीहरुले हाल विषादीको प्रयोगलाई घटाएका छन्। विषादी प्रयोग गरे पनि मापदण्ड अनुसार सुरक्षित तरिकाले र थोरै मात्रामा मात्र प्रयोग गरिएको उनीहरु बताउँछन्।
किटनाशक विषादीको सट्टा उनीहरुले प्राङ्गागरिक मललाई जोड दिएका छन्। हिमराज न्यौपानेले किटनाशक विषादीको प्रयोगलाई कम गरेको चार वर्ष भयो। घरमै बनाइएको अर्गानिक विषादी प्रयोग गर्न थालेदेखि आफ्नो स्वास्थ्य समस्या पनि कम भएको उनको अनुभव छ।
गाईवस्तुको पिसाब र गोबरबाट बनाइने झोल मल, स्थानीय स्तरमा रहेका विषालु जडिबुटी (तितेपात्ती, खुर्सानी, निम) को प्रयोग गर्ने गरेको उनी बताउँछन्। किटनाशक विषादीलाई पूर्ण रुपमा घटाउन नसके पनि धेरै मात्रामा घटाइएको उनले बताए।
किटनाशक विषादीको प्रयोग पूर्ण रुपमा घटाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘मैले पूर्ण रुपमा विषादीको नियन्त्रण गरेको छैन। स्वास्थ्यमा हानि नगर्ने र वातावरणमा पनि असर नगर्ने खालको अर्गानिक विषादी सरकार आफैंले उत्पादन गरेर किटनाशक औषधिको निर्यात रोक्दियो भने हामी सबैले त्यही प्रयोग गर्न बाध्य हुन्छौं।’
हिमराज न्यौपानेसँगै पर्शुराम केसीले पनि विषादीको प्रयोगलाई कम गरेका छन्। किटनाशक विषादीको विकल्पमा उनले घरमै बनाएर अर्गानिक विषादी प्रयोग गर्छन्। विषादीको प्रयोग घटाउन अफ सिजनको खेतीलाई कम गरिएको उनले बताए। विषादीको प्रयोग कम गरेदेखि स्वास्थ्य समस्या कम भएको उनको पनि अनुभव छ।
‘बरु अफ सिजनमा खेती नगर्ने, अफ सिजनमा खेती गर्दा विषादी धेरै प्रयोग गर्नुपर्छ। त्यसैले सिजनको बेलामा मात्र खेती गर्ने गरेको छु,’ उनले भने, ‘जाडोमा काउली लगायो भने केही विषादी हाल्नु पर्दैन। तर गर्मीमा भने विषादी हाल्नुपर्छ।’
नमोबुद्ध नगरपालिका- ६ बेलुवाटारका किसान हिमराज र पर्शुरामसँगै भरत न्यौपाने अहिले जलवायु अनुकुलन कृषि गर्छन्। जलवायु परिवर्तनका कारण कम र बढी वर्षा हुँदा खेतीपाती प्रभावित हुने गरेको न्यौपाने बताउँछन्।
‘पानी पर्ने बेलामा पानी पर्दैन। नपर्ने बेलामा धेरै पर्छ। यसले बाली सबै बिग्रिन्छ। बाली सपार्न विषादी धेरै प्रयोग गर्नुपर्ने बाध्यता भयो। यो विधिबाट गर्दा नियन्त्रण हुन्छ है भनेर हामीले गरेका हौँ,’ उनले भने।
विषादीको प्रयोग गर्दा गाउँकै कतिपय कृषकलाई विभिन्न रोगहरु लागेको उनी बताउँछन्। जलवायु अनुकुलन खेतीमा उनले घरेलु विषादी प्रयोग गर्ने, सिजन अनुसारको खेती गर्ने, स्थानीय स्तरमा रहेका जडिबुटीबाट किराहरु मार्न विषादी बनाउने काम आफैँ गर्छन्।
किटनाशक विषादी रोक्न बेलैमा सोचौँ: डा वन्त
दैनिक उपभोग गर्ने तरकारी र फलफूलमा रासायनिक विषादीको प्रयोग बढ्दो छ। नेपालमा कृषि व्यावसायीकरणसँगै बढ्न गएको विषादीको आयात, किनबेच र प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जनस्वास्थ्यविद् डा शरद वन्त बताउँछन्।
उनी भन्छन्, ‘कृषिमा प्रयोग हुने किटनाशक विषादीले दीर्घकालीन रुपमा मानव स्वास्थ्यमा असर त पार्छ नै। जनस्वास्थ्यका हिसाबले यो अति नै हानिकारक छ। हाल प्रयोग गरिएका विषादी भोलिको दिनमा कम प्रभावशाली भएर यो भन्दा कडा खालको विषादी प्रयोग गर्नुपर्ने अवस्था पनि आउला। त्यतिखेर झन् जनस्वास्थ्यमा कस्तो असर पर्ने होला?’
नेपालमा कृषकहरुले उत्पादन गर्ने तरकारीहरुमा मात्र नभई आयातित तरकारीहरुमा पनि विषादीको प्रयोग बढी छ। त्यसैले पनि नेपाली विषादीको दोहोरो मारमा छ। विषादीले स्वास्थ्यमा दुई किसिमले असर गर्छ। एक, तत्कालीन र दोस्रो, दीर्घकालीन।
छालामा हुने विभिन्न प्रतिक्रिया र स्नायु सम्बन्धी समस्याहरु तत्काल हुन् भने स्नायु प्रणालीमा समस्या ल्याउनेदेखि क्यान्सर, छाला सम्बन्धी रोग, मिर्गौला सम्बन्धी रोगदेखि नसर्ने रोगहरुलाई बढाउन सक्ने दीर्घकालीन असर हुन्।
डा वन्त नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा पनि आवद्ध छन्। यो प्रतिष्ठानले अर्गानिक खेतीका लागि पैरवी समेत गरिरहेको छ। यही प्रतिष्ठानको एक अध्ययनमा गर्भावस्थामा महिलाहरु विषादीको सम्पर्कमा आउँदा नवजात शिशुको तौल घटाउने गरेको पाइएको थियो। यद्यपि, नेपालमा विषादीले स्वास्थ्यमा पारेको असरबारे कुनै अध्ययन नभएको डा वन्त बताउँछन्।
उनी भन्छन्, ‘नेपालमा मिर्गौला फेल, क्यान्सर लगायतका नसर्ने रोगहरु बढिरहेका छन्। नसर्ने रोग बढ्नुमा कतै यसको भूमिका पो छ कि? तर पनि अध्ययन नभएका कारण हामीले यो कुरा स्थापित गर्न सकेका छैनौँ। विषादीले स्वास्थ्यमा पार्ने असरबारे अनुसन्धान गर्नु आवश्यक छ।’
विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षाका विधि, कुर्नुपर्ने निश्चित समय हुन्छन्। तर मुनाफाको लोभले कृषहरुले निश्चित समय र मापदण्ड पूरा नगरी विषादी प्रयोग गर्ने गरेको उनी बताउँछन्।
प्रांगारिक कृषि बढाउनेसँगै किटनाशक विषादीको प्रयोग कम गर्ने प्रतिवद्धता राज्यले गर्नुपर्ने बताउँदै उनले भने, ‘विषादीको प्रयोग कम गर्नका लागि आवश्यक विधि पहिचान गर्नुपर्छ। ती विधिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता र संयन्त्रण निर्माण गर्नुपर्छ।’