काठमाडौं– गत मंसिर २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभागमा कार्यरत रेजिडेन्ट डाक्टर किरण श्रेष्ठको हृदयघातका कारण मृत्यु भयो। डा श्रेष्ठ मंसिर २० गते बिहान ८ बजेदेखि ड्युटीमा थिए। रातभर शल्यक्रियामा संलग्न रहेका डा श्रेष्ठ २१ गते बिहान ६ बजे शारीरिक अस्वस्थताका कारण आराम गर्न कोठामा गएका थिए। कोठामा पुग्ने वित्तिकै बेहोस् भएका उनलाई अचेत अवस्थामा प्रतिष्ठानकै आकस्मिक ल्याइयो।बिहान १० बजे आइसियूमा उनलाई मृत घोषित गरियो।
सर्जन बन्ने सपना लिएर एमएस पहिलो वर्षमा अध्ययन गरिरहेका २७ वर्षीय डा श्रेष्ठको जीवन रेजिडेन्ट अवस्थामै पूर्णविराम लाग्यो। डा श्रेष्ठको मृत्युपछि त्यहाँका अन्य आवासीय चिकित्सकहरु आन्दोलित छन्। आवासीय चिकित्सकहरुको प्रतिष्ठानको मुल प्रवेशद्धारमै डा श्रेष्ठको तस्बिरसहितको कालो ब्यानर विरोध स्वरुप राखेका छन्।
आफूहरु डा श्रेष्ठको न्यायका लागि १० बुँदे माग राखेर आन्दोलनमा रहेको रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटीका अध्यक्ष डा हिमलाल भण्डारीले जानकारी दिए। डा श्रेष्ठको मृत्युको कारण हार्टअट्याक भएको पोष्र्टमार्टम रिपोर्ट छ।
तर आवासीय चिकित्सकहरुले ड्युटीमै रहेको अवस्थामा मृत्यु भएका डा श्रेष्ठको नाममा प्रतिष्ठानको पुस्तकालय हुनुपर्ने र उनको परिवारलाई राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने सरहको सुविधा दिनुपर्ने मुख्य २ माग राखेका छन्।
यस्तै देशभरिकै विभिन्न प्रतिष्ठान, मेडिकल कलेज तथा अस्पतालमा कार्यरत तथा अध्ययनरत आवासीय चिकित्सकहरुको ड्युटी आवर र कार्यभारको विषयमा अध्ययन गरी आवासीय चिकित्सकको शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सा शिक्षा आयोग लगायतका निकायमार्फत वैज्ञानिक तरिकाले ड्युटी आवर निर्धारण गर्नुपर्ने माग गरेका छन्। यस्तै आवासीय चिकित्सकलाई अस्पताल भित्रै आधारभूत व्यवस्था सहितको आवासको अनिवार्य व्यवस्था हुनुपर्ने र सो सुविधा नभएका अस्पतालहरुमा रेजिडेन्टीको कार्यक्रमको स्वीकृती नै खारेज गर्नुपर्ने माग आवासीय चिकित्सकहरुको छ।
यस्तै सम्पूर्ण आवासीय चिकित्सकहरुलाई आफू कार्यरत अस्पतालले प्रदान गर्ने सेवाहरु सहज र निःशुल्क पाउने व्यवस्था हुनुपर्ने, रेजिडेन्ट डाक्टरहरुको निर्वाह भत्ता प्रत्येक महिनाको अन्तिम साताभित्र दिनुपर्ने, रात्रिकालिन ड्युटीमा रहेका रेजिडेन्ट डाक्टरलाई बिहानको खाजा, खाना दिउँसोको खाना र रातिको खाना अस्पतालकै चमेना गृहमा निःशुल्क व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ।
सबै रेजिडेन्ट चिकित्सकको सरकारले नै जीवन बिमा गर्नुपर्ने, रेजिडेन्ट चिकित्सकहरुलाई अस्पतालभित्र विश्राम गर्ने कक्षको उचित व्यवस्थापन भएको छ वा छैन भन्ने विषयमा सम्बन्धित निकायले निगरानी गर्नुपर्ने र चिकित्सा शिक्षा आयोग मार्फत भर्ना भएका सबै आवासीय चिकित्सकहरुको सेवा सुविधा सरकारको आठौं तह अधिकृत सरह एक रुपता कायम गर्नुपर्ने र हप्तामा ४८ घण्टा भन्दा बढी हुन आएको श्रम बराबरको मुल्य अन्तर्राष्ट्रिय श्रम कानून अनुसार भुक्तानी गर्नुपर्ने माग गरेका छन्।
डा भण्डारीले आवासीय चिकित्सकलाई अस्पतालमै बस्ने व्यवस्था हुनुपर्ने आवासको व्यवस्था नभएको गुनासो गरे।
उनले भने, ‘सरकारी प्रतिष्ठानहरुमा रेजिडेन्ट चिकित्सकका लागि कुनै मापदण्ड पूरा गरेको छैन,हामी नाम मात्रको आवासीय चिकित्सक भयौ, हाम्रो लागि भित्र बस्ने ठाउँ पनि छैन, बाहिरै डेरा लिएर बस्नुपर्ने बाध्यता छ।’
नेपालमा आवासीय चिकित्सकहरुलाई पानी खाने समयसमेत नहुने गरी निरन्तर लामो समयसम्म ड्युटीमा खटाइने गरेको डा भण्डारीले बताए। जसले गर्दा डाक्टरहरुको जीवनशैली अस्वस्थगर भएको र डाक्टरहरुमा हार्टअट्याक लगायत समस्या निम्तिएको उनको तर्क छ।
प्रतिष्ठानका निर्देशक डाक्टर भरत बहादुर खत्रीले भने आन्दोलनरत आवासीय चिकित्सकको मागहरुको विषयमा प्रशासन र आन्दोलित चिकित्सकहरुसँग पनि वार्ता तथा छलफल भइरहेको बताए।
आवासीय चिकित्सकहरुले राखेका ३ देखि १० बुँदे मागहरु सम्बोधनका लागि समस्या नभएको तर पहिलो र दोस्रो नम्बरको मागबारे भने अन्य कर्मचारीबाट विरोध आइरहेको निर्देशक डा खत्रीले बताए।
उनले भने, ‘ अस्पतालमा उपचाररत बिरामीको मृत्यु हुदा क्षतिपूर्ती स्वरुप रकम दिन हुन्न भनेर चिकित्सकहरुले नै आवाज उठाउने अनि चिकित्सकको मृत्यु हुदा क्षतिपूर्ती माग्नु उचित भएन।’
निर्देशक डा खत्रीले प्रतिष्ठानको पुस्तकालयलाई डा श्रेष्ठको नाममा बनाइदा अस्पालमा कार्यरत अन्यको मृत्यु हुँदा पनि सोही प्रकारका माग आउनसक्ने भएकाले सो माग पुरा गर्न सम्भव नभएको बताए।
यस्ता छन् १० बुँदे माग