काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति नजिकिँदै छ। संघको अध्यक्षदेखि सदस्यसम्मका लागि उम्मेदवारी दर्ता गर्ने दिन सोमबारलाई तोकिएको छ। निर्वाचनमा मुख्यत प्रजातान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने गर्छ।
प्रगतिशिल समूह तर्फ यसपटक अध्यक्ष र महासचिवको उम्मेदवार को भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन। उक्त समूहले शनिबार एक छलफलको आयोजना गर्दै उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।
हालसम्म बाहिर आएको विषय अनुसार प्रगतिशील समूहमा अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा छ। अध्यक्षमा डा जागेश्वर गौतम, डा सन्तोष पौडेल र डा रक्षा श्रेष्ठको नाम चर्चामा छ।
यस्तै महासचिवमा भने डा लिजन महर्जन र डा कालुसिंह खत्रीको नाम चर्चामा छ।
'अहिले सामान्य रुपमा केही व्यक्तिका नाममा चर्चा सुरु भएको हो। भोलि शनिबार हुने छलफलपछि उम्मेदवारहरुको विषयमा केही प्रष्ट विषय बाहिर आउन सक्छ,' प्रगतिशिल समूहका एक चिकित्सकले भने।
प्रजातान्त्रिक समूहबाट भने अध्यक्षमा डा भुपेन्द्र बस्नेत, डा अनिल कार्की र डा बद्री रिजालको नाम चर्चामा छ। यस्तै महासचिवमा डा सन्जिव तिवारी डा प्रकाश बुढाथोकी र डा विश्वराज दवाडीको नाम चर्चामा छ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ।