काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुको संख्या पनि बढ्दो क्रममा छ। अध्यक्षदेखि सदस्यहरुमा आकांक्षीको संख्या दैनिक बढ्न थालेपछि प्रजातान्त्रिक समूहले उम्मेदवार छनोटका लागि सर्च कमिटी नै बनाएको छ।
अध्यक्षमा यसअघि प्रजातान्त्रिक समूहबाट तीन जनाको नाम चर्चामा थियो। डा भुपेन्द्रकुमार बस्नेत, डा अनिल कार्की र डा बद्री रिजालसँगै अध्यक्षमा डा रुद्र मरासिनीले पनि दाबी गरेका छन्। यस्तै महासचिव, सचिव लगायतका पदमा पनि धेरै आकांक्षी भएपछि प्रजातान्त्रिक समूहले उम्मेदवारको अन्तिम टुंगो लगाउन सर्च कमिटी बनाएको छ।
डा लोचन कार्कीको संयोजकत्वमा कमिटी गठन गरिएको हो। बिहीबार भएको छलफलले समूहका आधिकारिक उम्मेदवार टुंगो लगाउन कमिटी गठन गर्ने निर्णय गरेको हो।
प्रजातन्त्रिक समूहबाट महासचिवमा डा प्रकाश बुढाथोकी, डा विश्वराज दवाडी र डा सञ्जिव शर्माले दाबी गरेका छन्।
प्रजातान्त्रिक प्यानलबाटै बागमती प्रदेशको उपाध्यक्षमा डा मनोर दिन सैयदले आकाङ्क्षा देखाएका छन्। त्यसैगरी प्रदेश २ बाट डा निरज सिंह, गण्डकी प्रदेशबाट डा राजन शर्मा र सुदुरपश्चिम प्रदेशबाट डा प्रदिप मिश्रले दाबी गरेका छन्।
सहसचिव पदको लागि डा प्रमोद जोशी र डा विपेश आचार्यले आकांक्षा देखाएका छन्।
प्रगतिशिल समूहबाट भने आन्तरिक तयारी गरिरहेको बताइएको छ। उक्त समूहबाट अझै पनि अध्यक्षमा को उठ्ने भनेर स्पष्ट रुपमा बाहर उम्मेदवारहरु देखिएका छैनन्।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ।