काठमाडौं- नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्यसमिति चयन भएको छ। नेसोगको बिहीबार बसेको बैठकले डा पदमराज पन्तलाई वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) सहित १४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।
नेसोगको अध्यक्षमा डा सरोजा पाण्डे आएकी छिन्। नेसोगको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि अध्यक्ष चयन हुने व्यवस्था छ। डा पाण्डे यसअघि वरिष्ठ उपाध्यक्ष थिइन्। विधान अनुसार नै उनले अध्यक्षको जिम्मेवारी पाएकी हुन्। त्यसैगरी डा पन्त अर्को कार्यकालमा स्वत अध्यक्ष हुनेछन्।
यसैगरी, उपाध्यक्षमा डा यम प्रसाद द्वा निर्वाचित भएका छन्। उनी २०२ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी डा जागेश्वर गौतमले १९२ मत ल्याएका छन्।
महासचिवमा डा सपना (अमात्य) वैद्य, सहमहासचिवमा डा स्मृती मास्के, सामाजिक सांस्कृतिक वैज्ञानिक सचिवमा डा जितेन्द्र परियार, सामाजिक सांस्कृतिक वैज्ञानिक सह-सचिवमा डा आस्था श्रेष्ठ, कोषाध्यक्षमा डा देवी गुरुङ, सह-कोषाध्यक्षमा डा सुमन राज ताम्राकार निर्विरोध चयन भएका छन्।
सदस्यहरुमा डा कुमकुम झा, डा सौगात कोइराला, डा श्रेयपी अर्याल, डा अस्मिता घिमिरे, डा सुरेश कायस्थ र डा पुन्या पौडेल निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समिति अध्यक्षमा प्रा डा गणेश दंगाल सहित प्रमुख निर्वाचन आयुक्त डा बाबुराम मरासीनी र निर्वाचन आयुक्तमा डा सौजन्य कर्माचार्य थिए।