दोहा– विश्वकपको दौरान तेस्रो पत्रकारले ज्यान गुमाएका छन्। कतारमा जारी विश्वकपका क्रममा रोजर पियर्सको पनि निधन भएको छ। उनी आइटिभी स्पोर्ट्सको प्राविधिक निर्देशकको रुपमा कतार विश्वकपमा कार्यरत थिए।
उनको निधनको समाचार सोमबार बाहिरिएको छ। यसअघि अमेरिकाका ग्रान्ट वाल र कतारी फोटो पत्रकार खालीद अल–मिस्सलामको ह्दयघातका कारण निधन भएको जानकारी बाहिर आएको थियो।
रोजरको वेल्स र अमेरिकाबीच २२ नोभेम्बरमा खेल हुँदा निधन भएको अहिले सार्वजनिक गरिएको छ।
‘हामीले निकै दुःखद खबर तपाईहरूलाई कतारबाट दिनु परिरहेको छ,’ प्रस्तोता मार्क पाउगेचले भने, ‘हाम्रो प्राविधिक निर्देशक रोजर पियर्स, जो आफ्नो आठौं विश्वकपको छायाँकनका लागि यहाँ आएका थिए, उनी बितेका छन्।’
रोजर खेलकुद प्रसारण उद्योगमा सम्मानित व्यक्ति थिए। उनले रग्बी विश्वकप, फुटबल विश्वकप र युरोपेली च्याम्पियनसिपको कभरेजमा अग्रणी भूमिका निर्वाह गरेका थिए। ‘उनी सधै हाँसिरहेका हुन्थे। मर्दा पनि हँसिलो अनुहार छोडेर गए,’ उनले भने।
रोजरको उमेर ६५ वर्ष थियो। उनले ग्राम्पियन टिभीमा इन्जिनियरको रूपमा काम सुरु गरेका थिए।