काठमाडौं- नेपाल चिकित्सक संघले आगामी माघ ६ गतेबाट हुन लागेको निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली सार्वजनिक गरेको छ। संघले सूचना जारी गर्दै मंसिर १७ गतेसम्म आजीवन सदस्यता लिएका मतदाताहरुको नामावली सार्वजनिक गरेको हो। मतदाताको अन्तिम नामावली भने पुष २ गते सार्वजनिक गरिने संघले जनाएको छ।
यसअघि संघले निर्वाचनमा सहभागी हुने चिकित्सकलाई १७ गतेभित्र आजीवन सदस्यता लिन आग्रह गरेको थियो।
आफु मातहतका आजीवन सदस्यहरुको नामावली संकलन गरी नेपाल मेडिकल काउन्सिलको नम्बर सहितको मातादाता नामावली संघको केन्द्रीय कार्यालयमा पुष १ गतेसम्म उपलब्ध गराउन संघले सबै शाखा कार्यालयहरुलाई आग्रह गरेको छ। मतदाता नामावलीमा कुनै त्रुटी भए आवश्यक प्रमाण सहित जानकारी गराउन पनि संघको आग्रह छ।
डा लोचन कार्की अध्यक्ष रहेको संघमा उनको कार्यकाल सकिदैछ। संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष, ६ सदस्य गरी १९ जना र संघको परिषद् सदस्य ६० जनाको लागि निर्वाचन हुँदैछ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुँदैछ।