काठमाडौं- सामान्यतया १२ वर्षभन्दा पछि र ५० देखि ५५ वर्षसम्मको समय महिनावारी हुने समय हो। तर सबैलाई ठ्याक्कै यति नै उमेर भनेर किटान गर्न सकिदैन। व्यक्ति अनुसार फरक पर्छ। तर सामान्यतया महिनावारी हुने र सुक्ने समय यही हुन्छ।
महिलाहरु समयभन्दा छिटो महिनावारी हुनु र ढिलो सुक्नु दुवै राम्रो होइन। यो समस्या कसैलाई छ भने केही समस्या छ की भनेर जाँच गराउनुपर्छ। पहिला १५ वर्षको उमेरमा महिलाहरु महिनावारी हुन्थे। तर अहिले १२ वर्षको उमेर र यो भन्दा अघि नै महिनावारी भइरहेका छन्। यसका कारण यकिन यही नै भन्ने छैन। वातावरणीय प्रभाव, रहनसहन र खानपान प्रमुख कारण मानिएको छ।
अहिले सानै उमेरमा मोटोपनाको समस्या पनि धेरै देखिन्छ। उनीहरुले खाने जंक तथा फास्ट फूड, धेरै गुलियो जस्ता अस्वस्थकर खानपानले बालिकाहरुको शरीर धेरै माटो हुन्छ। उनीहरु मोटो हुँदा चाँडै महिनावारी हुन्छन्। वंशाणुगत कारण पनि हुन सक्छ। परिवारमा आमा छिटो महिनावारी हुने गरेको थियो भने छोरीहरुको पनि छिटो हुन सक्छ।
१२ वर्षभन्दा अघि भएको महिनावारीलाई असामान्य रुपमा लिनुपर्छ। १२ वर्षपछि भएको महिनावारी सामान्य हो। तर १६ वर्षसम्म पनि महिनावारी नहुनुलाई पनि समस्याको रुपमा लिनुपर्छ। महिनावारीसँगै किशोरीको उमेर अनुसारको शारीरिक वृद्धि विकासमा पनि ध्यान दिनुपर्छ।
महिनावारी हुनुभन्दा अघि स्तनको विकास हुन्छ। काखी र यौनाङ्गमा रौँ आउँछ। उचाई बढ्छ। यो विकासक्रमपछि मात्र किशोरी महिनावारी हुनुपर्छ। १६ वर्षसम्म यी सबै शारीरिक विकास भएको छ तर महिनावारी भएको छैन भने परीक्षण गराउनुपर्छ। १४ वर्षसम्म पनि स्तनको विकास र अन्य शारीरिक विकास हुनुपर्छ। महिनावारी छिटो हुनुमा वातावरणीय कारण हो। तर यसले यो तरिकाबाट असर गर्छ भन्ने यकिन भन्न सकिदैन। तर शरीर मोटो भएपछि महिनावारी गराउने इष्ट्रोजन हर्मोन बढाईदिन्छ। यो हर्मोन बढ्ने बित्तिकै वृद्धि विकास उमेरभन्दा छिटो हुने र महिनावारी पनि छिटो हुन्छ। अहिले धेरै नै १२-१३ वर्षको उमेरमै महिनावारी भइरहेका हुन्छन्।
पहिलो पटक महिनावारी भएपछि नियमित रुपमा महिनै पिच्छे हुँदैन। महिनावारी नियमित हुन मस्तिष्क, पाठेघर र अण्डाकोसँगसँगै विकास हुनुपर्छ। यी सबैको सँगै विकास भएर एउटा चक्रमा जान २२ देखि २५ वर्ष लाग्न सक्छ। त्यसैले सुरुमा महिनावारी भएपछि २÷३ महिना वा धेरै अन्तराल हुने, समयमै नहुने, लामो समयसम्म रगत जाने समस्या हुन सक्छ।
महिनावारी अनियमित भएको गुनासो लिएर धेरै अभिभावकहरु आउनुहुन्छ। छिटो महिनावारी हुनेहरुमा अन्य रोगहरुको पनि संभावना हुन्छ। हुन त यो संभावना निकै कम हुन्छ। तर पनि छिटो महिनावारी हुनेहरुमा हर्मोनको एक्सपोजर लामो समयसम्म हुन्छ। १२ वर्ष र १४ वर्षमा हुने महिनावारीमा दुई वर्ष बढी हर्मोन एक्सपोजर हुने भयो। पाठेघरको मुख र भित्ताको क्यान्सर हुने संभावना तुलनात्मक रुपमा धेरै हुन्छ।
छिटो महिनावारी हुने महिलाहरुमा पछि मधुमेह र उच्च रक्तचापको समस्याको पनि देखिन सक्छ। प्रत्यक्ष रुपमा नभएपनि अप्रत्यक्षमा रुपमा यसको कारण मोटोपना नै जोडिन जान्छ। जुन हर्मोनले उनीहरुलाई छिटो महिनावारी गरायो, त्यही हर्मोनले मधुमेह र उच्च रक्तचापन गराउन सक्छ। सिधै छिटो महिनावारी भएकै कारण यो समस्या निम्त्याउने होइन। तर अप्रत्यक्ष रुपमा गर्ने असरले हुने हो। छिटो महिनावारी हुँदा किशोरीहरु आत्तिने हुन्छन्। महिनावारीलाई व्यवस्थापन गर्न सक्दैनन्। महिनावारी बुझेकै हुँदैनन्। एक किसिमको मानसिक तनाव पनि उनीहरुमा हुन्छ। त्यसैले परिवारमा अभिभावकले महिनावारी व्यवस्थापन सम्बन्धी जानकारी दिनुपर्छ। साथै अभिभावक आत्तिनुभन्दा पनि अभ्यस्त हुन सिक्नुपर्छ।
खानपान र रहन सहन मुख्य कुरा भएकाले अभिभावकले किशोरीहरुको जीवनशैलीलाई ध्यान दिनुपर्छ। सन्तुलित र स्वस्थकर खानपान गराउनुपर्छ।
(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)