काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ सात सिटमा जित निकालेको छ। जसमा २ जना महिला र ५ जना पुरुष छन्। समानुपातिकतर्फ ११ लाख ३० हजार मत पाउँदै १३ सिट पाएको छ। यो पार्टीबाट कुल २० सांसद रहने भएका छन्।
रास्वपाले १३ सांसदको नाम पठाउँदा प्रतिनिधि सभा सदस्य ऐन २०७४ ले व्यवस्था गरे अनुसार पठाउनु पर्नेछ। उक्त ऐनले विभिन्न क्षेत्र र समुदायलाई समावेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। यस्तै, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ दफा १३ र दफा ३३ ले परिकल्पना गरे अनुसारको क्लस्टर मिलाउनु पर्ने हुन्छ।
संसद्मा एक तिहाइ महिला समावेश गर्न रास्वपालाई कुल ७ सांसद आवश्यक पर्छ। २ जना प्रत्यक्षतर्फबाट जितेकोले अब ५ जना समानुपातिकबाट पठाउनु पर्नेछ। रास्वपाबाट कम्तीमा ७ सांसद महिला र १३ सांसद पुरुष हुनेछन्। महिलाको उपस्थिति एक तिहाइ पुर्याउँदै गर्दा क्लस्टर अनुसारका सांसदको नाम पठाउनु पर्ने हुन्छ। यो प्रावधान अनुसार आदिवासी जनजातिबाट ३, खस आर्य ४, थारु १, दलित २, मधेसी २ र मुस्लिम १ जना छानिने छन्। यस भित्र पिछडिएको क्षेत्रलाई पनि समेट्नु पर्ने हुन्छ। तर प्रत्येक क्लस्टरबाट कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने हुन्छ। र, यही प्रावधानमा रहेर समग्रमा एक तिहाइ महिला पुर्याउनु पर्ने हुन्छ।
रास्वपाबाट दुई जना चिकित्सक पनि सासंद बन्ने संभावना देखिएको छ। समानुपातिक सूचीमा डा चन्दा कार्की र डा ढाकाकुमार श्रेष्ठ छन्। निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार खस आर्य क्लस्टरबाट डा चन्दा कार्की, निशा डाँगी, डोलप्रसाद अर्याल र पिछडिएको क्षेत्र समेत रहेकी विनिता कठायत सांसद बन्ने सम्भावना रहेको छ। आदिवासी जनजातिबाट डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, र समुना श्रेष्ठ सांसद बन्ने सम्भवना छ। यस्तै, थारु क्लस्टरबाट अशोक चौधरी, दलितबाट सन्तोष परियार र शिव नेपाली सांसद बन्ने देखिन्छ। त्यस्तै, मधेशी कलष्टरबाट लक्ष्मी तिवारी र मनिष झा, र मुस्लिमबाट असिम शाह सांसद बन्नेछन्।