काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण भएको छ।
बिहीबार दिउँसो सवा २ बजे उडेको इन्डिगो एयरको विमानका एक जना यात्रु बिरामी परेपछि आकस्मिक अवतरण भएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जिसीले जानकारी दिए।
१६१ यात्रु बोकेको विमानमा सल्यान घर भएका रूद्रवीर खत्री पनि सवार थिए। उनमा छारे रोगको समस्या देखिएको एसएसपी जिसीले बताए।
उनमा विमान उडेको केहीबेरमै एक्कासि समस्या देखिएपछि अवतरण गरेको हो। जिसीका अनुसार विमान उडेको सात मिनेटपछि नै अवतरण गरिएको थियो।
अहिले उनको उपचारको लागि नर्भिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।