काठमाडौं-वायु प्रदूषणको समस्या वर्षेनी बढ्दो छ। यो समस्या जाडोमा झनै बढ्छ। वायु प्रदूषणबाट विशेषगरी काठमाडौं उपत्यकाका स्थानीय हैरान छन्। वायु प्रदूषण नेपालमा मात्र नभई विश्वमा नै बढीरहेको विज्ञहरु बताउँछन्। काठमाडौंमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको युएसआइडी स्वच्छ हावाका प्रमुख एवं वातावरणविद् भुषण तुलाधर बताउँछन्। पानी पर्दा वायुमण्डलमा भएको प्रदूषण पखालिन्छ। तर जाडोमा पानी कम पर्ने र अन्य कारणले वायु प्रदूषण बढ्छ।
वायु प्रदुषण भनेको के हो? यसलाई कसरी रोक्न सकिन्छ लगायत विषयमा हामीले वातावरणविद् भुषण तुलाधरसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
वायु (हावा) पदूषण भनेको के हो?
कुनै पनि ठोस, तरल र ग्याँस पदार्थहरु हाम्रो वायुमण्डलमा यदी अलि बढी मात्रामा भयो र त्यसले स्वास्थ्यमा असर गर्छ भने त्यो वायु प्रदूषण हो। ठोस भन्नाले स–साना कणहरु हुन सक्छ। त्यसमा कुन–कुन पर्छ भन्दा एउटा पिएम पर्छ। पिएम भनेको पार्टिकुलेट म्याटर हो अर्थात् मसिना कणहरु हुन्।
पिएम २.५ माइक्रोनभन्दा मसिना कणहरु हाम्रो शरीरको भित्रि भागसम्म पनि जान सक्छ। पिएम १० माइक्रोनभन्दा सानो हो भने त्यो हाम्रो नाकबाट भित्र छिर्दैन। नाकको रौँले त्यसलाई निकाल्छ। कहिले काँही सिँगानमा टाँसिन्छ। खोक्दा पनि निस्कन्छन्। ती ठूला कणहरुले हामीलाई इरिटेट गर्छ। तर दीर्घकालीन रुपमा असर गर्दैन। स्वास्थ्यमा दीर्घकालीन रुपमा असर गर्ने भनेको मसिना कणहरुले हुन्।
हाम्रो कपालको मोटाइ भनेको करिब ६० माइक्रोनजस्तो हुन्छ। २.५ माइक्रोन भनेको त्यो भन्दा २५ गुणा सानो हुन्छ। ती कणहरु शरीर भित्र गएपछि फोक्सोसम्म जान्छ। एकदम मसिना ती कणहरु फोक्सोबाट पनि रक्तसञ्चारमा जान सक्छ। त्यसैले वायु प्रदूषणले असर नगर्ने कुनै अंग छैन, कुनै प्रणाली छैन।
सामान्यतया हावामा नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड हुन्छ। यो एउटा कम्पोजिसनमा मिलेर बसेको हुन्छ। त्यो कम्पोजिसनमा फेरबदल भयो भने त्यो हावा प्रदूषित हुन्छ। कत्तिसम्म फेरबदल भयो भने हाम्रो स्वास्थ्यमा असर पर्ला/नपर्ला त्यो हेर्नुपर्छ। त्यसको लागि डब्लुएचओले मापदण्ड समेत तोकेको छ।
वायु प्रदूषण जनस्वास्थ्यका हिसाबले कत्तिको ठूलो समस्या हो ?
विश्व स्वास्थ्य संगठन डब्लुएचओले नै विश्वकै ठूलो र मुख्य समस्याका रुपमा वायु प्रदूषणलाई वातावरणीय स्वास्थ्यको समस्याको रुपमा परिभाषित गरेको छ। विश्वमा करिब वर्षेनी ७० लाख मानिसको मृत्युको कारक भनेको वायु प्रदूषण हो। त्यसमा पनि धेरैजसो मृत्यु हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा हुन्छ।
नेपालको तथ्यांक हेर्ने हो भने बोस्टनमा रहेको हेल्थ इफेक्ट इन्स्टिच्युटले गरेको सन् २०१९ को अध्ययनमा करिब ४२ हजार १ सय जनाको मृत्यु वायु प्रदूषणका कारण भएको देखिएको थियो। यो भनेको वायु प्रदूषणले नै सिधै मानिसको मृत्यु हुने होइन। कसैको ह्रदयघात, फोक्सो सम्बन्धी समस्याले मृत्यु भएको होला। तर यो समस्या हुनुमा वायु प्रदूषणको ठूलो भूमिका छ।
विश्वमा वायु प्रदूषणका कारण हुने मृत्युहरु हेर्ने हो भने जति पनि सिओपिडी छन्, त्यसको ४० प्रतिशत वायु प्रदूषणका कारण हुन्छ भनिन्छ। पिएम २.५ को कारणले औसत आयु २.२ वर्षले घटेको पाइएको छ। तुलनात्मक रुपमा धूम्रपानले औसत आयु १.८ वर्षले घटाउँछ। वायु प्रदूषणले मानिसको औसत आयु पनि घटाइरहेको छ। सन् २०२१ मा ६ हजार शहरमध्ये काठमाडौं उच्च वायु प्रदूषण हुने शहरको ९१ औँ सूचीमा परेको थियो।
काठमाडौंमा गर्मीको समयमा भन्दा जाडोमा वायु प्रदूषण किन बढ्छ?
अहिले काठमाडौंको वायु प्रदूषण कति छ त भनेर हेर्न वर्षभरीको एभरेज लिने हो भने विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा १० गुणा बढी छ। डब्लुएचओको मापदण्ड भनेको ५ हो। पिएम २.५ को माइक्रोग्राम परक्युबिक मिटर भन्छ। ५ माइक्रोग्राम परक्युबिक मिटर हुनुपर्नेमा हाम्रो ५० छ। त्यसैले डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी छ भनिएको हो। काठमाडौंको वायु प्रदूषण सिजनल हो। वर्खामा कम हुन्छ, जाडोमा बढ्छ। गर्मीमा वायु प्रदूषण धेरै नै हुन्छ। अब वायु प्रदूषण बढ्न थाल्यो।
सामान्यतया दसै तिहारभन्दा अगाडीबाट नै पानी पर्न कम हुन्छ। पानी पर्दा वायुमा भएको प्रदूषणलाई पखालेर पठाउने हो। त्यो फोहोर पखाल्ने मेकानिजम रोकेपछि वायु प्रदूषण बढ्न थाल्छ। त्यसपछि मुख्य गरी दुईवटा कुराहरु हुन्छ। जाडो मौसममा वैज्ञानिक भाषामा ‘टेम्प्रेचर इन्भर्जन’ भनिन्छ। यो भनेको चिसो, तातो, चिसो हावाको तहहरुले उपत्यकामा एउटा ढकनीको काम गरिदिन्छ र प्रदूषणलाई कही जान दिँदैन। हावा पनि राम्रोसँग चल्दैन। पानी नपरेकाले पनि प्रदूषण जहाँको तही रहन्छ। हावा नचल्दा पनि प्रदूषण त्यही रहन्छ। यो भनेको त प्राकृतिक कुराहरु हो। त्यो बाहेक हामी आफैँले पनि वायु प्रदूषण बढाउने काम गरिरहेका छौँ।
वर्खामा बन्द हुने इट्टा भट्टाहरु अहिले मंसिर पुस तिर सुरु हुन थाल्छ। फोहोर बाल्ने काम हुन्छ। त्यसै पनि पात पतिंगर झर्ने मौसम हो। फोहोर, कृषिजन्य अवशेष, आगो ताप्ने गर्नाले पनि प्रदूषण थपिन्छ। एकातिर जाडो मौसमले पनि प्रदूषण कतै जाँदैन। अर्को भनेको हामी आफैँले प्रदूषण थप्ने काम गर्छौ। डढेलोको सिजन पनि सुरु हुन्छ। डढेलो लाग्न थालेपछि पनि वायु प्रदूषण हुन्छ। भारतमा पनि जाडो मौसममा वायु प्रदूषण बढ्छ। र, त्यो प्रदूषण हामी कहाँ पनि आउँछ। पश्चिमी वायु आउने भएकाले बाहिरबाट पनि थपियो र भित्रको पनि प्रदूषण थपियो। र, प्रकृतिले पनि साथ नदिएपछि वायु प्रदूषण बढ्दै गएर जनवरी महिनामा प्रदूषण उच्च विन्दुमा पुग्छ।
वायु प्रदूषणको प्रमुख स्रोतहरु के के छन्?
नेपालमा वायु पदूषण घर भित्र र बाहिरको हुन्छ। वायु प्रदूषण सामान्यतया घरबाट, सवारी साधन, उद्योग र खुला रुपमा फोहोर जलाउँदा हुन्छ। अन्य पनि होलान्, तर मुख्य रुपमा वायु प्रदूषण हुने स्रोत यही नै हुन्। नेपालमा अहिले पनि करिब दुई तिहाई घरमा दाउरा, गुइठा बाल्ने गर्छ। सबैभन्दा ठूलो प्रदूषण भनेको त्यो हो। यसबाट महिला र बालबालिका बढी पीडित हुन्छन्। तर अहिले आएर शहरी क्षेत्रमा गाडीहरुको प्रयोग बढ्नाले बाहिरी वायु प्रदूषण बढीरहेको छ।
कुन समयमा सबैभन्दा बढी वायु प्रदूषण उच्च विन्दुमा पुग्छ?
काठमाडौंमा बिहानको समयमा सबैभन्दा धेरै वायु प्रदूषण हुन्छ। बिहान ८ देखि ९ बजेसम्म वायु प्रदूषण धेरै हुन्छ। दिउँसो ३ बजेतिर भने अलि कम हुन्छ। यही बेलामा नै हो, हामी वायु प्रदूषणबाट बच्न अलि सचेत हुनुपर्ने।
वायु प्रदूषणबाट बच्न हामीले समय, स्थान र सुरक्षामा ध्यान दिनुपर्छ। बिहानको समयमा सबैभन्दा धेरै सवारी साधन गुड्ने ठाउँमा बाहिर जगिङ्ग गर्न नजाने पो हो की? समयको ख्याल गर्नुपर्छ। अझ जाडोमा त झनै वायु प्रदूषण बढ्छ। बाहिर निस्कदा मास्कको प्रयोग गर्नुपर्छ। सर्जिकल मास्कले ८० प्रतिशत र एन ९५ मास्कले ९५ प्रतिशत वायु प्रदूषणबाट सुरक्षा दिन्छ। सामान्य कपडाको मास्कले पनि सुरक्षा दिन्छ तर यी मास्कहरुले जत्तिको सुरक्षा भने दिँदैन।
घरभित्र र बाहिरको वायु पदूषण कसरी कम गर्न सकिन्छ?
घरभित्रको वायु प्रदूषण कम गर्न सुधारिएको चुल्हो प्रयोग गर्न सकिन्छ। बायो ग्याँसको चुल्हो पनि प्रयोग सकिन्छ। बाहिरको वायु प्रदूषण कम गर्न सवारी साधनको प्रणालीमै सुधार गर्नुपर्छ। विद्युतीय सवारी साधन, साइकलको प्रयोग गर्न सकिन्छ। उद्योगको सही तरिकाले व्यवस्थापन गर्नुपर्छ। फोहोर व्यवस्थापनको कुरा पनि मुख्य रुपमा आउँछ। हामी सडकको डिजाइन गर्दा अक्सर गाडीको लागि मात्र डिजाइन गर्छौ। साइकल र हिडाईलाई प्रोत्साहन गर्दैनौ। गाडीलाई मात्र केन्द्रित गरेर सडकको डिजाइन गर्छौ भने सबै जना गाडी चढ्न मात्र चाहन्छ। सबै जना गाडी मात्र चढ्न चाहन्छन् भने ट्राफिक जाम हुन्छ। धूलो धूँवा बढी हुन्छ। र, वायु पदूषण बढाउँछ। यदी हामीले साइकल र हिडाईलाई प्रवद्र्धन गर्ने हो भने मात्र पनि वायु प्रदूषणको समस्या केही हदसम्म कम गर्न सकिन्छ।
इट्टा भट्टाले पनि वातावरणमा धेरै नै वायु प्रदूषण गराइरहेको छ। इट्टा भट्टालाई व्यवस्थित गर्नु पनि अति नै जरुरी छ। तपाईलाई म करिब २० वर्ष पहिलेको एउटा कुरा सुनाउँछु । करिब २० वर्ष अघि इट्टा भट्टाले धेरै नै प्रदूषण भयो भनेर भक्तपुर र ललितपुरका जनताले आवाज उठाए। आन्दोलन नै गरे। त्यसपछि सरकारले इट्टा भट्टालाई नयाँ प्रविधिमा जाउ भने। ती इट्टा भट्टाहरु दुई वर्षभित्रमा नयाँ प्रविधिमा गए। त्यो बेला हामीले नै वायु प्रदूषणको अनुगमन गर्थेउ। ती इट्टा भट्टाहरु नयाँ प्रविधिमा गएपछि भक्तपुरमा वायु प्रदूषण २४ प्रतिशतले घटेको देखियो। जनताले आवाज उठायो भने सरकारले त्यसलाई सम्मान गरेर एउटा ठोस निर्णय गर्ने हो भने परिवर्तन सम्भव छ भन्ने उदाहरण हो यो।
काठमाडौंमा जति इट्टा भट्टाहरु छन्, त्यसको ५० प्रतिशत इट्टा भट्टाहरु एउटै चाँगुनारायण नगरपालिकामा मात्र छ। त्यसैले चाँगुनारायण नगरपालिकामा इट्टा भट्टाको विषय महत्वपूर्ण हुन आउँछ। धेरै वर्ष पुराना गाडीहरुको नियमन गर्न सकिन्छ। वायु प्रदूषण कम गर्न सर्वसाधारणको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आफ्नै घरबाट, आफुले गर्ने प्रदूषण घटाउने, एक्पोजर घटाउने, आवाज उठाउने गर्न सकिन्छ।
वायु प्रदूषण नियन्त्रणका लागि ऐन पनि बनेको छ। विभिन्न निकायले पनि आवाज उठाइरहेका छन्। तर पनि वायु प्रदूषण किन कम हुन नसकेको हो?
वायु प्रदूषणको विषय सरकारको प्राथमिकतामा नपरेको भन्छु म। वायु प्रदूषण हेर्ने निकाय पनि खासै छैन। जस्तै फोहोरमैला व्यवस्थापनको नगरपालिकाले हेर्छ। हुन त वातावरण मन्त्रालयले हेर्छ। तर वातावरण मन्त्रालयले धेरैजसो जलवायु परिवर्तनको कुरा गर्छ। जलवायु परिवर्तन सम्बन्धी प्राजेक्ट धेरै आउने तर वायु प्रदूषण सम्बन्धी प्रोजेक्ट पनि नआउने र आफुले पनि नहेर्ने भएकाले यसमा समस्या छ। मन्त्रिपरिषदले काठमाडौं वायु गुणस्तर कार्य योजना २०७६ झण्डै तीन वर्ष अघि नै पारित गरेको छ। तर त्यस अनुसार खासै काम भएको छैन। अलिअलि भएको छ, तर पर्याप्त छैन।
यही गतिमा वायु पदूषण बढ्दै गयो नियन्त्रण गर्न सकिएन भने भोलिका दिनमा यसले कस्तो समस्या निम्त्याउँछ होला?
सबैभन्दा पहिले यसले असर गर्ने भनेको जनस्वास्थ्यलाई नै हो। अहिले नै स्वास्थ्यलाई असर गरिरहेको छ। तर वायु प्रदूषणको असर स्वास्थ्यमा मात्र सीमित हुँदैन। बच्चाहरुको वृद्धि विकासमा पनि असर गर्छ। अन्ततः यसले हाम्रो अर्थतन्त्रमै असर गर्छ। सामाजिक, आर्थिक, स्वास्थ्य सबै क्षेत्रमा नै वायु प्रदूषणले असर गर्छ।