बाहिरी शरीरको सरसफाई स्नान( नुहाएर) गरे जस्तै आन्तरिक (भित्रि) शरीरको विधि पूर्वक सरसफाइ गर्ने क्रियालाई षटकर्म( डिटोक्सिफिकेसन) भनिन्छ। पूर्विय चिकित्सा विधाहरु आयुर्वेद, प्राकृतिक चिकित्सा र योग चिकित्सामा यो विधि महत्व पूर्ण छ। जसले धेरै रोगहरुलाई न्यूनिकरण गर्दै मनका अनावश्यक भावहरु हटाई चेतना विस्तारमा महत्वपूर्ण भुमिका खेल्दछ। विशेषत षटकर्म शरीरमा कफ बढेको बेला मोटोपन, तथा त्रिदोष जन्य रोगहरुमा प्रभावकारी मानिन्छ। बदलिदो जीवनशैली, शहरीया बसाइ र शारीरिक निश्कियताका कारण मानव शरीर मेसिन जस्तै भएको छ। जसले गर्दा नसर्ने रोगहरु (उच्च रक्तचाप, मधुमेय, मोटोपन, स्वसप्रस्वास जन्य समस्या र क्यान्सर) दिनप्रतिदिन बढ्दै छन। षटकर्म जन्य विधिहरुको क्रियात्मक अभ्यासलाई नागरिक स्वस्थ्यसग जोडेर लैजान सकेमा नसर्ने रोग न्यूनिकरणमा ठूलो टेवा मिल्दछ। षटकर्मको विधि पूर्वक अभ्यासले शरीरमा सक्रियताका साथ विश्राम प्रदान गर्ने हुनाले स्वतन्त्र कृया तथा स्नायु प्रणलीलाई सन्तुलन कायम राख्न महत्वपूर्ण भुमिका खेलेको पाइन्छ। शास्त्रहरुमा षटकर्मका विभिन्न भेद उपभेद भएपनि चिकित्साका हिसावले निम्न ६ विधिहरुको अभ्यास गरिन्छ।
धौती
वस्ती
नेती
त्राटक
नौली
कपालभाती
धौती,
पानी वा सफा कपडालाई मुखबाट खाएर पेटमा पुर्याइ वमन (उल्टी) गराउने विधिलाई धौती भनिन्छ। कपडा प्रयोग भन्दा पानीको प्रयोग सहज हुने हुनाले प्रयोगात्मक रुपमा पानीको प्रयोग गरिन्छ। पेटको सफाइ गर्ने यो विधिमा पानी उमालेर मनतातो गरी पानीमा थोरै नुन मिसाइन्छ। उक्त पानीलाई दुवै खुट्टाको गति मिलाई भुइमा टुसुक्क बसेर छिटो छिठो घाटीसम्म आउने गरी पिइन्छ। त्यसपछि चोर औला र माझि औलालाई मुख भित्र राखी जिव्रोको पछाडी मसाज गरिन्छ। मसाज शुरु भएपछि खाएको पानी उल्टी हुन थाल्दछ। जब पानी पुरै निश्किन्छ त्यसपछि बीसदेखि तीस मिनेट आराम गरी मुम मसुरोसहितको जाउलोमा एकदुइ चम्चा घ्यू राखी पेटभरी खुवाइन्छ। यो अभ्यास गरेको दिनमा साविक भन्दा धेरै मात्रमा पानी तथा झोल जन्य खाना दिनु पर्दछ। माछा, मासु, फास्ट फुड, पेय पदार्थ जस्ता खान वन्चित गरिएको छ। विशेषता यसले अम्लपित्त, माइग्रेन, अरुची, मानसिक तनाव, दम, मोटोपन तथा पित्तज ब्याधिहरुमा निकै राम्रो काम गर्दछ। ढाड दुखाइ नसा च्यापिएको कलेजो, उच्च रक्तचाप, कडा खाले पेटको रोग, आखा रोगी, कुनै शल्यक्रिया र पाठेघरका विरामीहरुलाई गराउनु हुँदैन।
वस्ती,
गुदामार्गबाट औषधियुक्त पानी वा वायुलाई भित्र प्रवेश गराई पेट तथा ठूलो आन्द्रा सफा गर्ने क्रियालाई वस्ती भनिन्छ। विधि पूर्वक गर्दा यो विधि एनिमा भन्दा धेरै प्रभावकारी मानिन्छ। कडा किसिमको कब्जियत, अरुची र वायु विकारमा यो अभ्यास लाभदायी छ। पेट तथा आन्द्राहरुको अप्रेशन गरेकाहरुले यो विधि गर्नु हुँदैन।
नेती,
नाकमा औषधियुक्त पानी वा विशेष किसिमको रवरको सानो डोरी तथा क्याथेटर प्रयोग गरी नाक सफा गर्ने विधिलाई नेती भनिन्छ। उमालेको मनतातो पानीमा थोरै नुन राखी, करुवा वा नेती वस्तको सहायताले एक नाकको प्यालबाट राखी अर्को नाकको प्यालबाट निकालिन्छ। यो क्रिया गर्दा मुखलाई आ गरी खुल्ला राख्नुपर्दछ। कान रोग वा नात्रो फुट्ने समस्या भएकाले यो विधि गर्नुहुदैन।
सुत्रनेती तथा घृत नेती पनि महत्वपूण मानिन्छ। शिरोरोग, आखाको कमजोरी, घाटीका समस्या , पिनास, माइग्रेन, अनिद्रा जस्ता समस्याहरुमा यो विधि प्रभावकारी छ।
त्राटक,
यो आखा सफाा गर्ने विधि हो। घ्यू वा तेलको वत्ती तयार गरी हावा नलाग्ने ठाउमा तीन चार फुट दुरीमा मिलाएर राखी, आखालाई नझिम्काइ हेरीरहने विधिलाई त्राटक भनिन्छ। यो विधिमा आखाबाट आशु नवगुनजेल केहीबेर स्थीर भएर वसिन्छ। जब आँखाबाट आशु वग्छ वा आँखामा केही पोले जस्तो हुन्छ, त्यसपछि यो क्रिया वन्द गर्नु पर्दछ। त्राटकले आखाको ज्योति बढाउछ। मनको चञ्चलता हटाउछ। निद्रा बढाउछ। एकाग्रता ल्याउन यो अभ्यास महत्वपूर्ण छ। कडा खाले शिरोरोग र टाउकोको अप्रेसन गरेकाले यो विधि गर्नुहुँदैन।
नौली,
दुवै खुट्टावीच झण्डै एक फुटको फरक बनाइ हातलाई घुडामाथि हल्का दवाव साथ राखिन्छ। आँखाले भुइमा हेर्दै पुरै स्वासलाई बाहिर छोडी, पेटलाई भित्र खिच्दै दायावाया घुमाइन्छ। केही क्षणको अभ्यासपछि केही आराम गर्दै फेरि गरिन्छ। दुई तीन पटक गरिसकेपछि विश्राम गरिन्छ। यो अभ्यासले अरुची, अपच, कब्जियत मोटोपन, पाठेघरका समस्या र सम्पूर्ण पेटभित्रका अंगहरुमा सक्रियता प्रदान गर्दछ। ढाडको समस्या , स्लिपडिक्स, हृदयरोग तथा अल्सर जस्ता समस्या भएकाले यो अभ्यास गर्नु हुदैन।
कपालभाती
सुखासन अथवा सहज आसनमा बसेर पेटलाई खुम्चाउदै, दुवै नाकको प्यालबाट स्वासलाई बाहिर फालन्छ। यो क्रिया ६० देखि १२० पटक सम्म गरेपछि केही क्षण बिश्राम गरिन्छ र पूर्ण गरिन्छ। नियमित अभ्यासले मोटोपन, तनाव, मधुमेह, अरुची , रुघाखोकी, जस्ता रोगहरु न्यूनिकरणमा महत्वपूण मानिन्छ। छारेरोग, दम, उच्च रक्तचाप, मुटुरोगी , ढाडका समस्या, पेटको शल्यक्रिया आदी गरेकाले यो अभ्यास गर्नुहुँदैन।
षटकर्म चिकित्सा सुविधा सम्पन्न आयुर्वेद तथा प्राकृतिक चिकित्सालय र योगशालाहरुमा सम्वन्धित विशेषज्ञहरुको निगरानीमा गर्नुपर्दछ। क्रियात्मक अभ्यास भएकाले धेरै रोगको न्यूनिकरणमा षटकर्म चिकित्साको भुमिका महत्वपूर्ण मानिन्छ।
(लेखक योग-आयुर्वेद अभियन्ता तथा आयुर्वेद स्वास्थ केन्द्र रुकुम पुर्वका कार्यालय प्रमुख हुन्।)