काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयु) ले पहिलो पटक हेल्थ इन्फोमेटिक विषयको अध्ययन सुरु गर्न लागेको छ। सन् २०२२ को अन्त्यदेखि अध्ययन सुरु गर्ने तयारीका साथ कियुले हाल भर्ना खुल्ला गरेको छ। स्नातोकात्तर तहको यो अध्ययनका लागि यस वर्ष केयुले १० जनाको सिट मात्र निर्धारण गरेको छ। हेल्थ इन्फोमेटिक विषय स्वास्थ्य विज्ञान र सूचनाको संयोजन हो।
अध्ययन गर्न चाहने विद्यार्थीले डिसेम्बर १४ सम्म फर्म भर्न सक्ने केयु अन्तर्गतको हेल्थ इन्फोमेटिक विषयका कार्यक्रम संयोजक सन्तोष खनालले जानकारी दिए। मेडिकल डाक्टर, नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ, ल्याब टेक्निसियन, कम्प्युटर र इलेक्ट्रोनिक्स इञ्जिनियरका विद्यार्थीले उक्त विषय अध्ययन गर्न पाउने उनले बताए।
उनले भने, ‘केयुमा मात्र नभई यो नेपालमै पहिलो पटक अध्ययन सुरु गर्न लागेको हो। मेडिकल फिल्ड र इञ्जिनियरले यो विषय अध्ययन गर्न पाउँछन्। भर्नापछि सन् २०२२ भित्रै अध्यापन सुरु गर्छौ।’
हेल्थ इन्फोमेटिक अध्ययनले तथ्यांक विश्लेषण गर्न, स्वास्थ्यका पारामिटरहरु बुझ्न सहयोग पुग्ने खनालले बताए। स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका व्यक्तिहरुलाई पनि यो विषयले थप सहज बनाउने उनले बताए।
‘स्वास्थ्य बुझेकाले आइटी बुझेका हुँदैनन्। आइटी बुझेकाले स्वास्थ्य बुझेका हुँदैनन्। तर यो विषयले स्वास्थ्य विज्ञान, सूचना र प्रविधि दुवैको ज्ञान बढाउँछ।’ उनले भने।
दुई वर्षको उक्त अध्ययन गर्न चाहनेले चाल लाख ३२ हजार शुल्क तिर्नुपर्ने केयुले जनाएको छ। उक्त अध्ययन कार्यक्रम केयुको चौकोटस्थित लङ्ग्स सेन्टरमा सञ्चालन हुनेछ। युरोपियन युनियनको इरासमुस प्लस प्राजेक्ट अन्तर्गत नेप्लीज इजुकेशन इ हेल्थ मास्टर्स (एइइएम) ले पनि सहयोग गरेको छ।