काठमाडौं– नेपाल चिकित्सक संघको वर्तमान कार्यसमितिको कार्यकाल सकिँदै छ। आगामी माघमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ।
वर्तमान कार्यसमितिको कार्यकाल सकिनै लाग्दा चिकित्सा क्षेत्रमा संघको आगामी निर्वाचनमा कुन पदमा कस-कसको उम्मेदवारी रहन्छ भन्ने विषयमा चासो व्यक्त हुन थालेको छ।
कांग्रेस निकट प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि लामो समयदेखि तीन जनाको नाम चर्चामा छ। यस्तै प्रगतिशिलतर्फ पनि केही चिकित्सकको नाम चर्चामा छ। तर उनीहरुका विषयमा भने अझै प्रष्ट को उठ्ने भन्ने विषय बाहिर आइसकेको छैन।
प्रजातान्त्रिकतर्फ अध्यक्षमा डा भुपेन्द्र बस्नेत, डा अनिल कार्की र डा बद्री रिजालको नाममा भने लामो समयदेखि नै चर्चा हुँदै आइरहेको छ। यी तीन जनामध्ये कोही एक जना अध्यक्षका उम्मेदवार हुने लगभग पक्का छ। तर कसले उक्त समूहबाट आधिकारिक उम्मेदवारको टिकट पाउँछ भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।
तीनै जनाले आ-आफ्नो तर्फबाट दाबी गर्दै आवश्यक तयारी अगाडि बढाइरहेका छन्।
डा बस्नेत वीर अस्पतालका प्रमुख हुन् भने डा कार्की नेपाल चिकित्सक संघका हालका उपाध्यक्ष र प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष हुन्। डा रिजाल नेपाल चिकित्सक संघका महासचिव हुन्।
यस्तै अध्यक्षमा प्रगतिशिलतर्फ डा दिपेन्द्र पाण्डे, डा सन्तोष पौडेल, डा पुष्पमणि खराल र डा प्रेनित पोखरेलको नाम चर्चामा छ। डा पाण्डे सरकारी चिकित्सक संघका पूर्वअध्यक्ष हुन् भने डा पौडेल राष्ट्रिय चिकित्सक संघका अध्यक्ष हुन्।
यस्तै, डा खराल यसअघिको निर्वाचनमा अध्यक्ष पदमा डा लोचन कार्कीसँग पराजित भएका थिए। अध्यक्षको दावेदारीमा नाम चर्चामा रहेका डा पोखरेल राष्ट्रिय चिकित्सक संघका कोषध्यक्ष हुन्।