काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन्।
नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि उनी पुनः यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो।
चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका पुन शुक्रबार साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओहुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।
उपमहासचिव पुन गत वर्ष चीनमा उपचार गरेर फर्कँदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ। नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि चीनको सेनजेन जान लागेका हुन्।
काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि उनी चीन जान लागेको सचिवालयले जनाएको छ।
चीन जानुअघि उपमहासचिव पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि आफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेका थिएनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौंमा आएर आराम गरिरहेका थिए।
माओवादी केन्द्रका तर्फबाट सत्तारुढ गठबन्धनमा सिट बाँटफँड कार्यदलमा रहेर काम गरेका नेता पुनको कार्यव्यवस्थताका कारण पुरानै रोग जण्डिस बल्झिएको थियो उनको सचिवालयको दाबी छ। नेता पुन स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा माओवादीका तर्फबाट सिट बाँटफाँड कार्यदलमा सहभागी थिए।
‘यतिबेला हरेक दिन मध्यरातिसम्म बैठक हुने र खाना तथा आरामको समय नमिलेका कारण उहाँलाई पुरानै रोगको असर देखिएको हो’, सचिवालयको भनाइ छ, ‘अस्वस्थाताका बाबजुत नेता पुन सिट बाँटफाँड कार्यदलमा सक्रिय भएर लाग्नुभएको थियो।’
वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो।