काठमाडौं- एचआइभी संक्रमित प्रति समाजले गर्ने विभेद र लान्छनायुक्त व्यवहारमा केहि कमी आएको एचआईभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लान्छना सूचक) २.० ले देखाएको छ। उक्त रिपोर्टका अनुसार समाजले गर्ने विभेद र लान्छनायुक्त व्यवहारमा केहि कमी आएको भएता पनि एचआइभी संक्रमित आफैँले आफूप्रति गर्ने लान्छनायुक्त व्यवहार नयाँ चुनौतीको रूपमा बाहिर आएको छ।
३५ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (एनसीएएससी) र सेभ द चिल्ड्रेनले एक कार्यक्रममा एचआईभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लान्छना सूचक) २० रिपोर्ट सार्वजनिक गरेका छन्। २०११ को तथ्यांकसँग तुलना गरेर हेर्ने हो भने नेपालमा एचआइभी संक्रमितहरू प्रति गरिने व्यवहारमा उल्लेखनीय सुधार भएको पाइन्छ। विगतका वर्षहरूमा एचआईभी संक्रमितहरूले लान्छना र भेदभावसँग सम्बन्धित अनुभवका घटनाहरूमा उल्लेखनीय कमी आएको छ।
लान्छना र भेदभावसँग सम्बन्धित घटनामा विगत १२ महिनामा कम्तीमा सन् २०११ को ४९.७ प्रतिशतबाट सन् २०२२ मा ९.५ प्रतिशतमा घटेको छ। त्यसैगरी, स्वास्थ्य सेवा प्रदायकहरूले संक्रमितहरू प्रति गर्ने लान्छना र भेदभावसम्बन्धी व्यवहारहरू सन् २०११ को तुलनामा झण्डै आधाले घटेको छ। एचआईभी संक्रमितहरू भएकै कारण स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा प्रदान नगर्ने सन् २०११ मा ७.३ प्रतिशतबाट सन् २०२२ मा ४ प्रतिशत मा घटेको हो।
यद्यपि एचआइभी संक्रमितहरू प्रति समाजले गर्ने विभेद र लान्छना तुलनात्मक रुपमा हेर्दा धेरै नै छ र २५ वर्षभन्दा तलको उमेर समुहमा यो विभेद झनै धेरै छ। अझै पनि धेरै एचआईभी संक्रमितहरूले सेवा प्रदायकहरूबाट भेदभावको सामना गरिरहेका छन् र सेवा लिने क्रममा उनीहरुको गोपनीयता कायम नहुने पनि हुने गरेको छ। त्यस्तै धेरै प्रमुख जनसंख्या समूहका व्यक्तिहरूले एचआइभी संक्रमित भएको बाहेक अन्य कारण जस्तै आफ्नो लैंगिक पहिचानका कारण पनि लान्छना र भेदभावको सामना गर्नु परिरहेको छ। धेरै एचआइभी संक्रमितहरूले आफ्नो कार्यस्थल, आफ्ना सहकर्मी तथा शिक्षकहरूसँग आफू एचआइभी संक्रमित भएको नभनेको बताएका छन्। त्यस्तै धेरै एचआइभी संक्रमितहरूले आफ्नो अनुमति बिना नै आफू एचआइभी संक्रमित भएको कुरा अन्यलाई बताइने गरेको बताएका छन्।
तसर्थ, यो सर्वेक्षणले समुदाय, स्वास्थ्य संस्था, सामाजिक सञ्जाल, संचार माध्यम र औपचारिक शिक्षा प्रणालीहरूमा लगायत अन्य ठाँउहरूमा पनि शैक्षिक गतिविधिहरू आयोजना गरी परिवार, समाज, शैक्षिक संस्था, सेवा प्रदायक र स्वास्थ्य संस्थाहरूमा प्रमाणमा आधारित पैरवी र सचेतना मूलक कार्यक्रमहरू संचालन गर्नुपर्ने देखाएको छ। त्यस्तै एचआइभी संक्रमित युवाहरू माथि हुने भेदभाव कम गर्न कार्यस्थल तथा शैक्षिक संस्थाहरूमा विशेष सचेतना कार्यक्रमहरू गर्नुपर्ने देखिन्छ भने सेवा प्रदायकहरूबाट हुने भेदभाव र लान्छना कम गर्न अनि एचआइभी संक्रमितहरूको पहिचानको गोपनियता सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूमा विशेष कार्यक्रमहरू संचालन गर्नुपर्ने पाईएको छ।
एचआईभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लान्छना सूचक) २०० रिपोर्ट एचआईभी संक्रमितहरूका सञ्जाल, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल र एचआईभी संक्रमित महिलाहरूको राष्ट्रिय महासंघको नेतृत्वमा र सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड अन्तर्गतको कार्यक्रमको प्राविधक तथा आर्थिक सहयोगमा तथा शिक्षा स्वास्थ्य र सामाजिक विज्ञानमा अनुसन्धान केन्द्र नामक एक स्वतन्त्र अनुसन्धान संस्थाको सहजीकरणमा तयार पारिएको हो।