काठमाडौं- नेपालमा पाँच वर्ष मुनिका बाल मृत्युदर ६ प्रतिशतले घटेको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ (एनडीएचएस) ले गएको पाँच वर्षमा पाँच वर्ष मुनिका बाल मृत्युदर ६ प्रतिशतले घटेको देखाएको हो।
एनडिएचएस २०२२ को प्रतिवेदन अनुसार नेपालमा प्रति एक हजार जिवित जन्ममा ३३ बालबालिकाको मृत्यु हुने देखिएको छ। यसअघि सन् २०१६ मा नेपालमा प्रति एक हजार जिवित जन्ममा ३९ बालबालिकाको मृत्यु हुन्थ्यो। सन् १९९६ मा ११८, २००१ मा ९१, २००६ मा ६१, २०११ मा ५४ र २०१६ मा ३९ बाल मृत्युदर थियो।
पाँच वर्ष मुनिका बाल मृत्युदरसँगै एक वर्ष मुनिका बाल मृत्युदरमा पनि ४ प्रतिशतले घटेको पाइएको छ। पाँच वर्ष अघि प्रति एक हजार जिवित जन्ममा ३२ रहेको यो संख्या यस वर्ष २८ मा झरेको छ। सन् १९९६ मा ७८, २००१ मा ६४, २००६ मा ४८, २०११ मा ४६, २०१६ मा ३२ हुँदै २०२२ मा २८ प्रतिशतमा झरेको हो।
नवजात शिशु मृत्युदरमा भने कुनै सुधार भएको छैन। पाँच वर्षअघि २१ रहेको नवजात शिशु मृत्युदर अहिले पनि २१ नै रहेको एनडिएचएसको अध्ययनमा उल्लेख छ। एक वर्षपछिको शिशु मृत्यु ८ देखाएको छ।