काठमाडौं - वीर अस्पतालको छातिरोग विभागमा दमको समस्या लिएर पुग्ने बिरामीको संख्या जाडोमा दुई गुणाले ह्वात्तै बढ्छ। गर्मीमा एक सातामा करिब एक सय जना दमका बिरामी पुग्छन्। जाडोमा यो संख्या साढे तीन सयदेखि साढे चार सयसम्म पुग्ने गर्दछ। जाडोमा बिरामीको संख्या बढ्नुमा वायु (हावा) प्रदूषण पनि एक प्रमुख कारणका रुपमा देखिएको वीर अस्पतालका वरिष्ठ छातिरोग विशेषज्ञ डा अशेष ढुंगाना बताउँछन्।
उनी भन्छन्, ‘चिसोमा दमका बिरामी बढ्छन्। जसमध्ये वायु प्रदूषण पनि मुख्य कारण हो। गर्मीमा भन्दा जाडोमा डेढदेखि दुई गुणासम्म बिरामी बढ्छन्।’
वायु प्रदूषणले विशेषगरी फोक्सो र मुटुमा असर गर्ने डा ढुंगानाले बताए। उनका अनुसार हावा प्रदूषित भएपछि त्यसको मसिना कण तथा विभिन्न रसायनहरु फोक्सोमा छिर्छ र जम्मा भएर बस्छ। जसले श्वासप्रश्वासमा समस्या ल्याउन थाल्छ। प्रदूषित वायुले दम, फोक्सो क्यान्सर, भाइरल÷ब्याक्टेरियल निमोनिया गराउँछ। दम भएका बिरामीको दमलाई जटिल बनाईदिन्छ।
‘वायु प्रदूषणले बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्छ। बालबालिकालाई ब्रोन्काइटिस हुन्छ। वृद्धवृद्धामा छातिको संक्रमण, मुुटुसम्बन्धी समस्या गराउँछ।’ उनले भने, ‘रक्त धमनीको सम्बन्धी समस्या गराउँछ। गर्भवती महिला र गर्भमा रहेको शिशुलाई असर गर्छ। स्ट्रोक र पक्षघात गराउँछ।’
गत वर्ष भएको वायु प्रदूषण हुँदा वीर अस्पतालको छातिरोग विभागमा बिरामीको संख्या बढेको उनी बताउँछन्।
जाडोमा बढ्छ वायु प्रदूषण
काठमाडौंमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको युएसआइडी स्वच्छ हावाका प्रमुख एवं वातावरणविद् भुषण तुलाधर बताउँछन्। पानी पर्दा वायुमण्डलमा भएको प्रदूषण पखालिन्छ। तर जाडोमा पानी कम पर्ने हुनाले वायु प्रदूषण बढ्छ।
‘वैज्ञानिक भाषामा टेम्प्रेचर इन्भर्जन भन्छ। त्यो भनेको चिसो, तातो, चिसो हावाको तहहरुले यो उपत्यकामा ढकनीको काम गर्छ। र, प्रदूषणलाई कहि जान दिँदैन। हावा पनि राम्रोसँग चल्दैन। पानी नपर्दा प्रदूषण जहाको तही रहन्छ।’ उनले भने।
प्राकृतिक यी कारणसँगै इट्टा भट्टाहरुहरु चिसोमा चल्ने, फोहोर बाल्ने, आगो ताप्ने, कृषिजन्य अवशेष बाल्ने कामले पनि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्छ। डढेलोका कारण पनि वायु प्रदूषण बढ्छ। भारतमा पनि जाडोको समयमा नै वायु प्रदूषण बढ्ने गरेको उनले बताए। पश्चिमी वायुका कारण भारतमा वायु प्रदूषण हुँदा नेपालमा पनि वायु प्रदूषण बढ्ने गरेको उनले बताए।
उनले भने, ‘हामी कहाँ पश्चित तिरबाट वायु आउँछ। त्यसैले बाहिरको वायु पनि थपियो। भित्रको त यसै प्रदूषण छ। र प्रकृतिले पनि साथ नदिएपछि वायु प्रदूषण बढ्छ। वायु प्रदूषण बढ्दै गएर महिना दुई महिनामा त्यो पिकमा पुग्छ।’
काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी
वायु प्रदूषणको समस्यालाई विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको छ। काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी रहेको तुलाधारले बताए।
डब्लुएचओका अनुसार विश्वमा ९९ प्रतिशत मानिसहरु प्रदूषित वायु भएको ठाउँमा बस्छन्। घर भित्र र बाहिरको वायु प्रदूषणका कारण विश्वमा वर्षेनी ७० लाख मानिसको ज्यान जाने गरेको छ। जसमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशरुमा हुने गर्छन्।
नेपालमा वायु प्रदूषणका कारण वर्षेनी ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको तथ्यांक छ। कचौरा आकारको भौगोलिक अवस्थितिका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषण बढी हुने गर्दछ। विभिन्न स्रोतहरुबाट निस्कने प्रदूषण वायुमण्डलीय इन्भर्सनका कारण फैलावट हुन नपाई लामो समयम्म वायुमण्डलमा रहने गर्दछन्।
वायुमण्डलमा धूलोका मसिना कण अर्थात् पिएम २.५ को मात्रालाई आधार मानेर वायु प्रदूषणको अवस्था निर्धारण गर्ने गरिएको छ। पिएम २.५ भनेको हावामा हुने २.५ माइक्रोमिटर व्यासका मसिना धूलोका कणहरु भएको तुलाधारले बताए।
२.५ माइक्रोमिटर व्यासका मसिना धूलोका कणहरु शरीरको भित्रि अंगसम्म पुग्न सक्ने छातिरोग रोग विशेषज्ञ डा ढुंगानाले बताए। ती कणहरु श्वासनली हुँदै फोक्सोसम्म पुग्ने र त्यसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउने गरेको उनले बताए।
विश्वमा सिओपिडीका कारण हुने ४० प्रतिशत मृत्यु वायु प्रदुषणका कारण हुने गरेको स्टेट अफ ग्लोबल एयर २०२० को तथ्यांक छ। धूम्रपानका कारण मानिसहरुको औसत आयु १.८ वर्षले घटेको छ भने वायु प्रदूषणका कारण औसत आयु २.२ वर्षले घटाएको तुलाधारले बताए। सन् २०२१ मा ६ हजार शहरमध्ये काठमाडौं उच्च वायु प्रदूषण हुने शहरको ९१ औँ सूचीमा परेको थियो।
काठमाडौंको वायु प्रदूषणको प्रमुख कारक हो, सवारी साधन। योसँगै कृषि, उद्योग, आगलागी, घरेलु चुलोका कारण पनि वायु प्रदूषण हुने गरेको छ। तर घरभित्र र बाहिरको वायु प्रदूषणलाई कम गर्न सकिने तुलाधार बताउँछन्।
ग्यास वा विद्युतको चुलोले ८० देखि १०० र चिम्नीको प्रयोगले घर भित्रको वायु प्रदूषण ३० देखि ९० कम गर्न सकिन्छ। यातायात प्रणाली व्यवस्थित, उद्योग, फोहोर व्यवस्थापन, खुल्ला आगो÷डढेलो नियन्त्रण गर्न सके बाहिरको वायु प्रदूषण घटाउन सकिने उनले बताए।
‘नेपालमा अहिले पनि करिब दुई तिहाई घरमा दाउरा, गुइठा बाल्ने गर्छन्। सबैभन्दा प्रदूषण त्यो हो। यसबाट महिला, बालबालिका सबैभन्दा बढी पीडित छन्। शहरी क्षेत्रमा सवारी साधनको बढ्दो प्रयोगले पनि वायु प्रदूषणलाई बढाइ रहेको छ’ उनले भने।
काठमाडौंमा बिहान ८ देखि ९ बजेसम्म वायु प्रदूषण उच्च हुन्छ। दिउँसो ३ बजे तिर कम हुन्छ। एयरनाउ को चाट अनुसार काठमाडौंमा बिहान ९ बजे सबैभन्दा धेरै वायु प्रदूषण हुने गरेको देखिएको छ। बिहान ९ बजे एयर क्वालिटि इनडेक्स (एक्युआई) १५२ पुगेको थियो। १५२ एक्युआईलाई स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण नै मानिन्छ।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) भनेको हावाको गुणस्तर मापन हो। एक्युआईले नै हावाको गुणस्तर मापन गर्दछ। एक्युआईले हावाको गुणस्तरलाई ६ भागमा मापन गरेको छ।
स्वच्छ हावामा बाँच्न पाउने अधिकार कागजमै सीमित
नेपालको संविधान धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको छ।
संविधानले स्वच्छ हावामा बाँच्न पाउने अधिकारको सुनिश्चित गरेपनि काठमाडौं उपत्यकावासी प्रदूषित हावामा बाँच्न बाध्य छन्। उपत्यकाको वायु गुणस्तरको अवस्था वर्षेनी झनै खस्कदै गएको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ मा उल्लेख छ।
संविधानले मात्र नभई राष्ट्रिय वातावरण नीति २०७६ ले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाएको छ। साथै वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौं वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०७६ समेत जारी भएको छ।
सरकारले विभिन्न ऐन तथा नीति जारी गरेपनि कार्यान्वयन हुन नसकेको वातावरणविद् तुलाधर बताउँछन्।
‘वायु प्रदूषण नियन्त्रणको विषय सरकारको प्राथमिकतामा नपरेको भन्छु म।’ उनले भने। ‘अन्य निकायहरुको पनि भूमिका त हुन्छ नै। तर मुख्य नेतृत्वकर्ता सरकार हो।’
सर्वसाधारण स्वयंले पनि आफ्नो तर्फबाट वायु प्रदूषण घटाउनका लागि पहल गर्नुपर्नेमा उनको जोड छ। वायु प्रदूषणको समस्या नियन्त्रण हुनुको साटो वर्षेनी बढ्दै गए नेपालमा जनस्वास्थ्यमा ठूलै संकट आउन सक्ने उनी बताउँछन्।