काठमाडौं - एकै परिवारका तीन जना मंसिर ४ को निर्वाचनमा खटिएका छन्। आमा, छोरी र बुवा गरी परिवारका तीनजना नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचमा खटिएका हुन्। चितवन घर भएका उनीहरु फरक फरक जिल्लाहरुमा खटिएर काम गरिरहेका छन्।
आमा सिता दाहाल (परिवार नियोजन अधिकृत) लाई चितवन क्षेत्र नम्बर १ को कालिका नगरपालिकामा हुने प्रदेश सभाको निर्वाचनमा सहायक मतदान अधिकृतको रुपमा सरकारले खटाएको छ। बुवा नारायण प्रसाद काफ्ले (लेखा अधिकृत) लाई नवलपुर जिल्लामा मतदान अधिकृत र छोरी सिमृन काफ्लेलाई कास्की जिल्ला क्षेत्र नम्बर १ को पोखरा महानगरपालिकामा मतदान अधिकृतको रुपमा सरकारले खटाएको हो।
‘हामी दुवैजनालाई निर्वाचनमा खटाईन्छ भन्ने सोचेका थिएनौँ। झन् छोरी पनि सँगसँगै खटिँदा हामीलाई यो ठूलो अवसर र खुसीको क्षण हो भन्ने लागेको छ।’, नारायणले काफ्लेले भने।
सिमृन गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र अन्तर्गतको खरिद, योजना तथा अनुगमन शाखा प्रमुखको रुपमा कार्यरत छिन्। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत थिइन्।
आमा र बुवासँग मतदान प्रक्रियाका बारेमा दिनहुँ भिडियो कलमा छलफल हुने गरेको उनी बताउँछिन्। छोरा समीरण काफ्ले चिकित्साशास्त्र अध्ययन गरी हाल तेह्रथुम अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत छन्।
परिवारका सदस्यसँग निर्वाचनको मतदान प्रक्रियाका बारेमा दैनिक भिडियो कुराकानी हुने गरेको सिमृन बताउँछिन्।
उनले भनिन्, ‘नियुक्ति पत्र आउने बित्तिकै हामी तीन जना फिल्डमा खटिएका हौँ। यो हाम्रो लागि ठूलो अवसर हो।’
छोराछोरी हुर्काएको १२ वर्षपछि नारायण र सीताले आफ्नो अध्ययनलाई पुनः निरन्तरता दिएका छन्। छोरी सिमृन, जनस्वास्थ्य दोस्रो वर्ष स्नातक पढ्दै गर्दा आमा, सिता पहिलो वर्षमा भर्ना भएकी थिइन्। अहिले सिताले पनि समाजशास्त्रमा स्नातकोत्तर सकाएकी छिन् भने बुवा नारायण अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्।
करिब पाँच वर्ष गैरसरकारी संस्थामा काम समेत गरिसकेकी सिमृन सरकारी सेवा मार्फत देशलाई योगदान दिन सकिने बताउँछिन्।
‘सरकारी सेवामा कमाउन सकिन्छ भनेर म र मेरो परिवार आएको होइनौँ। सरकारी सेवा मार्फत हामी देश र जनतालाई योगदान दिन सक्छौ भनेर आएका हौँ,’ उनले भनिन्।