काठमाडाैं- आज नोभेम्बर १७, विभिन्न कार्यक्रमको आयोजना गरी विश्व प्रिम्याचोरिटी दिवस मनाएको छ। नेपालमा पनि ‘मायाको अँगालोः अवधि नपुगी जन्मेका नवशिशुका लागि उत्तम स्याहार’ भन्ने नारासहित यो दिवस देशैभर मनाइएको छ।
विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार गर्भावस्थाको ३७ हप्ता पूरा हुनुअघि नै जन्मिएको नवशिशुको जन्मलाई अवधि नपुगी जन्मनु वा ‘प्रिटर्म बर्थ’ भनिन्छ। सामान्य रूपमा बुझ्दा गर्भावस्थाको ३२ र ३७ हप्ताको बीचको समयमा जन्मेको नवशिशुको स्वास्थ्य २८ र ३२ हप्ताको बीचको समयमा जन्मेका नवशिशुहरूको तुलनामा राम्रो हुन्छ। यी अवस्थाभन्दा २८ हप्ताअघि जन्मेका नवशिशुहरूको स्वास्थ्य अवस्था जटिल हुने सम्भावना अझ धेरै हुन्छ।
विश्वव्यापी रूपमा हरेक वर्ष करिब १० लाख बालबालिकाको मृत्यु अवधि नपुगी जन्मनुका कारण निम्त्याउने जटिलताले गर्दा हुने गर्दछ। ५ वर्ष मुनिका बालबालिकाको मृत्युको प्रमुख कारण अवधि नपुगी जन्मनुका कारण निम्त्याउने जटिलताहरू हुन्। सही उपचार तथा स्याहार गरियो भने यी मृत्युमध्ये ७५ प्रतिशत मृत्युलाई रोक्न सकिन्छ। उच्च आयस्रोत भएको मुलुकको तुलनामा नेपाल जस्तो न्यून आयस्रोत भएको मुलुकमा अवधि नपुगी जन्मने नवशिशुहरूको बाँच्ने दर कम रहेको विभिन्न प्रमाणहरूले देखाएको छ।
नेपालमामात्र वर्षेनी ८ लाख १० हजार नवशिशुहरू अवधि नपुगी जन्मन्छन् जसमध्ये ४ हजार ३ सय अवधि नपुगी जन्मेका नवशिशुहरूको ५ वर्ष नपुग्दै विभिन्न कारणले मृत्यु हुन्छ। यसलाई कम गर्नका लागि गर्भावस्थासँग सम्बन्धित कारणहरू निवारण गर्नुपर्दछ। गर्भवती महिलाको उमेर २० बर्षभन्दा कम र ३५ बर्षभन्दा बढी भएको अवस्थामा अवधी नपुगी नवशिशु जन्मिने सम्भावना बढी हुन्छ। त्यस्तै आइरन, क्याल्सियम जस्ता सूक्ष्म पोषक तत्वको कमी हुन नदिने, जुकाको सङ्क्रमण हुन नदिने, धुम्रपान, मध्यपान, लागूपदार्थको सेवन नगर्ने र गर्भवती महिलालाई कामको भार पर्ने अवस्था आउन नदिने गर्नाले अवधि नपुगी जन्म हुने दर घटाउन सघाउ पुग्छ।
अवधि नपुगी जन्मेका नवशिशुको व्यवस्थापनका लागि दक्ष वा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत प्रसूति तथा उत्तर प्रसूति सेवामा जोड दिनुपर्दछ। नवशिशु जन्मनेवित्तिकै स्तनपान गराउने, ६ महिनासम्म नवशिशुलाई स्तनपान मात्र गराउने र ६ महिना पूरा भएपछि स्तनपानका साथसाथै पुरक वा थप आहार खुवाउने गर्नुपर्दछ।
अवधि नपुगी जन्मेका, तथा कम तौल भएका नवशिशुका लागि मायाको अँगालो उत्तम स्याहार हो। आमा वा परिवारका अन्य सदस्य र अवधि नपुगी जन्मेका नवशिशुको नाङ्गो छाती लगातार टाँसेर गरिने स्याहारलाई मायाको अँगालो भनिन्छ। यो सजिलो, कम खर्चिलो तर प्रभावकारी बिधि हो। मायाको अँगालो बिधिले नवशिशुलाई न्यानो बनाउँछ र शिताङ्ग हुनबाट जोगाउन सकिन्छ। साथै, आत्मीयता बढाउने, सङ्क्रमण हुनबाट जोगाउने र मृत्युबाटसमेत बचाउन सकिन्छ।
सबै अवधि नपुगी जन्मेका बच्चाहरू बाँच्ने मात्र हैन, जटिलता बिना गुणस्तरीय जीवनयापन गर्न पाउनु पर्दछ। समय अगावै सुत्केरी हुने जोखिममा रहेका सबै महिलाले स्वास्थ्य संस्थामा आफ्नो बच्चा जन्माउनुपर्छ। यसरी जन्मेका नवशिशुहरूलाई आमा वा परिवारका सदस्यहरूले तत्काल मायाको अँगालोमा राख्ने अभ्यासलाई अनुशरण गर्न र गराउन सकेमा स्वास्थ्य जटिलताहरू कम गर्न र नवशिशुको स्वास्थ विकास सुनिश्चित गर्न सकिनेछ।
अवधि नपुगी नवशिशु जन्मँदा आउन सक्ने चुनौतीहरूका लागि विश्वभर जनचेतना फैलाउन र अवधि नपुगी जन्मेका नवशिशु र तिनका परिवारलाई सम्मान गर्न यो दिवस मनाइन्छ।