डा भोजराज अधिकारीलाई दिनको २४ घण्टा पनि कम हुन्छ। मौन अवधि सकिन केही घण्टा मात्र बाँकी रहँदा जतिसक्दो धेरै जनताको घरदैलोमा पुग्नुछ। चितवनको क्षेत्र नं ३ बाट चुनावी मैदानमा होमिएका उम्मेदवारमध्ये एक हुन्, डा भोजराज अधिकारी।
स्वास्थ्य क्षेत्रमा १७ वर्ष बिताएका डा अधिकारी अहिले चितवनको क्षेत्र नं ३ को नेतृत्व गर्ने भन्दै राजनीतिमा आएका छन्। उनी माओवादी केन्द्रको तर्फबाट मंसिर ४ को प्रतिनिधि सभा चुनावमा उठेका हुन्। २०७४ सालमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन क्षेत्र नं ३ मा यो पटक उनलाई माओवादीले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनाएको हो। चुनावी भागदौडमा रहेका डा अधिकारीसँग स्वास्थ्यखबरकी कमला गुरुङले कुराकानी गरेकी छिन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
चुनावी दौडधुप कत्तिको छ?
घरदैलोको अन्तिम अभियान जस्तो छ। ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ। तीव्र गतिले धेरैभन्दा धेरै जनताको घरदैलोमा पुग्ने गरेर हामी लागिरहेका छौं। उत्साहित छौं।
करिब १७ वर्षको चिकित्सकीय पेशालाई छाडेर राजनीतिमा आउनुको कारण के हो?
म चिकित्सक हुँदा पनि आफ्नो मेडिकल फिल्डको कतै न कतै नेतृत्वमा बस्ने, काम गर्ने गर्थें नै। पहिलो, नेपाल चिकित्सक संघमा रहेर पनि मैले काम गरें। दोस्रो, पेशाभित्र पनि मेरो राजनीतिक चेतना पहिलेदेखि नै थियो। राजनीति यस्तो हुनुपर्छ, नेतृत्व यस्तो हुनुपर्छ, जनताले चाहे अनुसारको राजनीति हुनुपर्छ, राजनीति विकासको लागि हुनुपर्छ भन्ने चेतना पहिले पनि थियो। तेस्रो, अहिले पनि म नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव थिएँ स्वास्थ्य विभागको। यी सबै कुराको पृष्ठभूमिको आधारमा मलाई अवसर आयो। अवसर आएपछि मैले पेशालाई व्याकग्राउण्डमा राखेर यसलाई छोडेर भन्न मिल्दैन। यो पेशालाई व्याकग्राउण्डमा राखेर म राजनीतिमा प्रवेश गरेको हुँ।
तपाईंसँगै अन्य उम्मेदवारहरु पनि चुनावी मैदानमा छन्। जनताले आफ्नो भोट दिएर तपाईंलाई नै किन जिताउने?
जनताले युवा, फरक सोच र सेवाको पहिलाको उदाहरण हेरेका छन्। मेरो चिकित्सकीय पेशा, १७ वर्षको काम, अहिलेसम्मको इमान्दार, पारदर्शी र अनुशासित पहिचान छ। यही अनुशासित पहिचानका कारण जनताहरु मेरो साथमा हुनुहुन्छ। ज्यान बचाउने मानिसले राजनीतिमा पनि राम्रो गर्छ। यो व्यक्तिलाई अघि बढाउनुपर्छ। समग्र देशको स्वास्थ्यमा टेवा दिन सक्छ भनेर आम मतदाताहरुको अपेक्षा मैले पाएको छु। यो पनि मेरो शक्ति हो। अर्को भनेको अन्य उम्मेदवारहरु एजेण्डा नै नलिइकन आउनु भएको छ। टिकट पाइयो भनेर घर बस्नु भएको छ। यत्तिकै डुल्नु भएको छ। मेरो त मनोनयन परेको मितिबाट ‘६ स’ जनताको सेवा, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, स्वरोजगार र सडक सञ्जाल/भौतिक निर्माण भनेर अघि बढाएको छु। ती ६ स मा पनि चार/चार वटा विद्याहरु छन्, जसले समाजको समग्र विकास मोडालिटीलाई निरन्तरताको विकासबाट निकास सहित विकासमा लैजान्छ। त्यसकारण जनताले मलाई भोट हाल्छन्।
यी त तपाईंको चुनावी एजेण्डाहरु भए। तपाईंको जितको आधारहरु के के छन्? बुँदागत रुपमा प्रस्तुत गर्न सक्नु हुन्छ?
एउटा, मेरो पार्टी र गठबन्धनको आधार भयो। दलीय व्यवस्थाको सम्मानको आधारमा मैले पाउने भोट भयो। दोस्रो, मेरो पेशागत परिचय र चितवनमा मैले बनाएको पहिचान भयो। तेस्रो, जनताले खोजेको नयाँ कुरा भयो। युवा, फरक शक्ति, एजेण्डाहरु जनताले खाजेका छन्। चौथो, अहिलेको माहोलमा नेकपा एमालेको उम्मेदवारको उम्मेदवारी फिर्ता भएको हिसाबले ती मतहरु पनि मेरो पक्षमा आएर मैले जित्न सक्छु र जित्छु भन्ने देखिन्छ। मेरो जित निश्चित छ।
जनताले विश्वास गरेर यहाँलाई जिताए भने स्वास्थ्य क्षेत्रमा कस्तो किसिमको परिवर्तन गर्नुहुन्छ?
मेरो प्रमुख एजेण्डा नै स्वास्थ्यमा आमूल परिवर्तन र नीगित सुधार हो। संविधानले स्वास्थ्यलाई आधारभूत हक अधिकार भनेको छ। ती आधारभूत हक अधिकार जनतासम्म पुर्याउने। कसरी हुन्छ त्यसलाई जनतासम्म पुर्याउने भनेर मैले एजेण्डामै जनतासँग अस्पताल भन्ने अभियान चलाएको छु। स्वास्थ्यको संरचना नै परिमार्जन गर्ने गरेर काम गर्छु। जसले गर्दा स्वास्थ्यको पहुँच मुख्य लक्षित वर्गसम्म पुग्न सक्छ। यसो गर्दै गर्दा विशिष्टकृत सेवा र प्राज्ञिक सेवा यो तीन वटा आयामलाई म आमूल परिवर्तन गर्ने हिसाबले अघि लैजान्छु। संघीयताको कारणले गर्दा स्वास्थ्यमा भएको अलमललाई व्यवस्थित गर्छु।
स्वास्थ्य क्षेत्रमा यहाँले लामो समय बिताउनु भयो। यहाँले नियाल्दा नेपालको स्वास्थ्य प्रणालीमा सुधार गर्नुपर्ने पक्षहरु के-के देख्नुहुन्छ ? हालसम्म किन सुधार हुन सकेन?
स्वास्थ्य क्षेत्रमा मुख्यगरी सुधार गर्नुपर्ने पक्षहरु धेरै छन्। एउटा, मेडिकल शिक्षा अझै सुध्रिएको छैन। दोस्रो, आधारभूत स्वास्थ्य सेवा व्यावहारिक रुपमा जनताले पाएको छैन। आधारभूत सेवा जनताले सहज तरिकाले पाउन सक्ने बनाउनुपर्यो। तेस्रो, अस्पतालहरुको चेन अफ कमाण्ड मिलेको छैन। प्रथम बिन्दु कुन हुने ? बित्तीय बिन्दु कुन हुने? विशिष्टकृत सेवा कहाँ लिने भन्ने मिलेको छैन। अर्को भनेको सरकारी सेवा र संयन्त्रलाई बढी बलियो बनाउनुपर्छ। जनस्वास्थ्यलाई जनतासँग जोड्नुपर्छ। जनस्वास्थ्यलाई त्यति धेरै प्राथमिकता दिइएको छैन। पुर्नस्थापना स्वास्थ्य केन्द्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ। कुनै रोग लागेर पुर्नस्थापना हुन नसकेका व्यक्तिहरुलाई समाजमा पुर्नस्थापना गर्नुपर्छ। पूर्वाधार विकास, पूर्वाधार विकास भनेको सबै पुराना भवनहरु जीर्ण छन्। अस्पतालहरु जीर्ण छन्। क्वाटरहरु जीर्ण छन्। कुनै बनाइएको छैन। औषधि कम्पनीहरु बाहिर निर्भर छन्। सबै कच्चा पदार्थहरु बाहिर ल्याउनुपर्छ। औषधि कम्पनीदेखि कच्चा पदार्थमा हामी आत्मनिर्भर हुनुपर्छ। स्वास्थ्यमा अध्ययन अनुसन्धान हुनुपर्छ। अनुसन्धानको आधारमा बिरामीको उपचार हुनुपर्छ। यही क्षेत्रहरुमा मुख्यगरी सुधारको आवश्यकता छ।
अन्त्यमा के भन्न चाहनु हुन्छ?
मेरो पेशा परिवर्तन भएको होइन। स्वास्थ्यको क्षेत्रमा म एउटा चिकित्सकको रुपमा गोरेटोमा थिएँ भने त्यही गोरेटोबाट म राजमार्गमा प्रवेश गरेको हुँ। राजनीति भनेको अलि ठूलो राजमार्ग हो भने स्वास्थ्य भनेको एउटा क्षेत्र हो। स्वास्थ्यलाई शिक्षा, रोजगारी, सामाजिक सुरक्षासँग जोडियो भने त्यो स्वास्थ्य दिगो हुन्छ। त्यसैले म यो चुनाव मार्फत राजनीतिमा आउँदैछु। यस वर्ष मलाई अनुमोदित गर्न जनताहरुलाई आग्रह गर्दछु।