काठमाडौं- आर्थिक अभावका कारण उपचार अभावमा कुनै पनि नागरिकको मृत्यु नहोस् भन्दै सरकारले आठ प्रकारका कडा रोगका बिरामीहरुलाई उपचारका लागि सहुलियत उपलब्ध गराउँदै आएको छ।
सरकारले हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका कडा रोगका बिरामीलाई उपचारका लागि निश्चित सहुलियत उपलब्ध गराउँछ।
गत तीन वर्षमा १ लाख १९ हजार ७२० जना बिरामीले उपचार सेवा लिएका छन्। आर्थिक वर्ष २०७६/७७ मा ५४ हजार ८३७, ७७/७८ मा २९ हजार ३४६ र ७७ र ७८/७९ मा ३५ हजार ५३७ जनाले सेवा लिएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा शाखाको तथ्यांक छ।
महाशाखाको तथ्यांक अनुसार तीन वर्षको अवधिमा १८ हजार १२५ जनाको मिर्गौलाको निशुल्क डायलाइसिस भएको छ भने १ हजार ८९७ जनाको मिर्गौला प्रत्यारोपण निशुल्क भएको छ। तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ६५७ जनाको डायलाइसिस र उक्त वर्ष एक हजार ३१ जनाको मिर्गौला प्रत्यारोपण निशुल्क भएको छ।
यस्तै आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ९३४ जनाको डायलाइसिस र एक सय २१ जनाको मिर्गौला प्रत्यारोपण निशुल्क भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ५३४ जनाको डायलाइसिस र ७ सय ४५ जनाको मिर्गौला निशुल्क प्रत्यारोपण भएको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा कोरोना महामारीका कारण प्रत्यारोपण सेवामा कमी आएको महाशाखाले जनाएको छ।
तत्कालिन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पालादेखि नेपालमा मिर्गौला प्रत्यारोपण र डायलाइसिस सेवा निःशुल्क हुन थालेको हो। यस्तै थापा स्वास्थ्यमन्त्री हुँदादेखि नै युवाहरुको मुटुको भल्भको शल्यक्रिया पनि निशुल्क सुरु भएको हो। महाशाखाको तथ्यांक अनुसार तीन वर्षको अवधिमा १६ हजार एक सय ८० जनाले मुटु रोगको उपचारका लागि सरकारसँग आर्थिक सहुलियत लिएका छन्। महाशाखाले यो तीन वर्षको अवधिमा निःशुल्क मुटुको भल्भ प्रत्यारोपण कति जनाले लिए भन्ने छुट्टै तथ्यांक भने राखेको छैन।
क्यान्सरका बिरामी सबैभन्दा धेरै
यी आठ वटा रोगका बिरामीमध्ये क्यान्सरका बिरामीको संख्या सबैभन्दा धेरै छ। गत तीन वर्षमा सेवा लिने कुल बिरामीध्ये ६८ हजार २१६ जना क्यान्सरका बिरामी मात्रै छन्। आ.व २०७६/७७ मा ३४ हजार ६६७, ७७/७८ मा १५ हजार १८७ र ७८/७९ मा १८ हजार ३६२ जना क्यान्सरका बिरामी रहेको शाखाले जनाएको छ।
गत तीन वर्षमा सेवा लिनेमा क्यान्सरपछि मिर्गौला दोस्रो र मुटुका बिरामी तेस्रो सूचीमा छन्। तीन आर्थिक वर्षमा उपचार सेवा लिएका बिरामीको संख्या सम्बन्धी यो तथ्यांक हेरौँ :
लकडाउनमा सेवा लिने घटे
कोरोना महामारीले प्रभावित पारेको क्षेत्रमध्ये यो पनि एक हो। कोरोना महामारी र लकडाउनका कारण सेवा लिन जाने बिरामीको संख्यामा पनि कमी आयो। आर्थिक वर्ष २०७६/७७ मा ५४ हजार ८३७ सेवा लिएकोमा आर्थिक वर्ष २०७७/७८ मा २५ हजार ४९१ ले कमी हुँदै सेवा लिनेको संख्या २९ हजार ३४६ मा झरेको थियो। २०७८/७९ मा ३५ हजार ५३७ जनाले सेवा लिएको शाखाको तथ्यांक छ।
कोरोना महामारी विस्तारै कम हुँदै गएपछि भने पुनः सेवा लिनेको संख्या बढ्न थालेको शाखा प्रमुख डा गेलालले बताए।
यो सँगै सरकारले हेमोफिलिया र थालसिमिया रोगलाई पनि विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समावेश गर्ने तयारी गरेको छ। हेमोफिलिया र थालसिमिया रोगलाई पनि कडा रोग अन्तर्गत राख्नुपर्ने भन्दै सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समावेश गर्ने तयारी गरेको हो। हाल यो रोगको अवस्था, बिरामीको संख्या, उपचारमा लाग्ने शुल्क लगायतका विषयमा अध्ययन भइरहेको डा गेलालले बताए।
‘यी रोगको उपचार खर्च भोलि सरकारले ब्योहोर्न सक्ने अवस्था देखियो भने कडा रोगको उपचार आठबाट दशसम्म हुन सक्छ।’ उनले भने।
हेमोफिलिया र थालसिमिया रोग पनि यो कार्यक्रम अन्तर्गत भए कडा रोगको संख्या १० पुग्नेछ। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र स्वास्थ्य बिमा बोर्डले संयुक्त रुपमा उक्त अध्ययन गरिरहेको डा गेलालले जानकारी दिए। विभिन्न अस्पतालहरुमा यी दुई रोगका बिरामीहरु कत्तिको आउने गरेको विषयमा पनि बुझ्ने काम यो महाशाखाले गरिरहेको छ।
कसरी लिने सेवा?
विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ मा सेवा लिने प्रक्रिया बारे उल्लेख गरिएको छ।
विपन्न बिरामीले कडा रोगको उपचार सहुलियत लिनका लागि सम्बन्धित ढाँचामा स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। वडा कार्यालयबाट विपन्न नागरिक हो भनी सिफारिस लिनुपर्ने निर्देशिकामा उल्लेख छ।
चिकित्सकको प्रेसक्रिप्सन, नागरिकताको प्रमणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्ने हुन्छ। रोग र अवस्था अनुसार बिरामीले उपचार सहुलियत पाउँछन्।
मिर्गौला प्रत्यारोपणका लागि ४ लाख रुपैयाँसम्म उपलब्ध गराउने भनिएको छ भने मिर्गौलाको अन्य रोग अनुसार उपचार सहुलियत तोकिएको छ। ती हुन्:
अल्पकालीन रुपमा मिर्गौलाले काम नगरेको बिरामीलाई डायलासिस बापत – १ लाखसम्म
दुवै मिर्गौला फेल भई डायलासिस तथा प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधि उपचार तथा प्रयोगशाला बापत – १ लाख सम्म।
मिर्गौला प्रत्यारोपण पश्चात औषधि सेवन – ५० हजारसम्म।
अंग दाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क – १ लाखसम्म।
हेमोडायलासिस बढिमा हप्ताको दुई सेसन र सोभन्दा बढी गर्नुपर्ने अवस्थाामा – प्रति सेसन २५००
सेरोपोजेटिभ (संक्रमित) भएका बिरामीलाई डायलासिस उपचार सेवा बापत प्रति सेसन सोधभर्ना – ४०००
पेरिटोनियल डायलासिस प्रति बिरामी महिनाको अधिकतम ९० प्याकेटसम्म – तोकिए बमोजिम
मुटुरोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीलाई क्रमश १/१ लाख रुपैयाँसम्म उपचार सहुलियत उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ।
स्थानीय तहले दिएको सिफारिसको आधारमा बिरामीले सूचीकृत अस्पतालहरुबाट सेवा लिन सक्नेछन्। सरकारले रोग अनुसार अस्पतालहरुको वर्गीकरण गरेको छ। विपन्न नागरिक औषधि उपचार कार्यक्रम हालसम्म १०६ वटा अस्पतालबाट लागू भएको डा गेलालले जानकारी दिए।
यी हुन् १०६ अस्पताल