काठमाडौं– नेपालका डाक्टर सिद्धार्थ यादवलाई अमेरिकाको एक प्रतिष्ठित अस्पतालले क्यान्सरका विषयमा अनुसन्धान गर्न साढे २ करोडभन्दा बढी रकमको अवार्ड प्रदान गरेको छ।
अमेरिकाको मेयो क्लिनिकमा कार्यरत सिनियर एसोसिएट मेडिकल अंकोलोजिष्ट डा यादवलाई स्तन क्यान्सर सम्बन्धी अनुसन्धान गर्न २ लाख अमेरिकी डलर (२ करोड ५० लाखभन्दा बढी नेपाली रुपैयाँ) को अवार्ड प्रदान गरिएकोछ।
जनकपुर स्थायी घर भएका डा यादव हाल अमेरिकाको मिनेसोटा रोचेस्टरमा छन्। सिनियर एसोसिएट मेडिकल अंकोलोजिष्ट डा यादव मेयो क्लिनिकको वुमन क्यान्सर प्रोगामका सिनियर कन्सलट्यान्ट हुन्।
मेयो क्लिनिक ब्रेस्ट क्यान्सर स्पेसलाइज्ड प्रोग्राम अफ रिसर्च एक्सिलेन्स (स्पोर) ले डा यादवलाई सन् २०२२ क्यारियर एन्हान्समेन्ट प्रोग्राम अवार्डबाट सम्मानित गरेको हो।
उक्त अवार्डबाट प्राप्त रकमबाट डा यादवले दुई वर्षको अवधिमा स्तन क्यान्सरका विषयमा अनुसन्धान गर्ने छन्। उनले चौथो चरणको स्तन क्यान्सर भएका महिलाहरूमा एन्टी-हर्मोनल उपचारको प्रतिक्रियालाई असर गर्ने आनुवांशिक कारकहरू पहिचान गर्न अनुसन्धान गर्ने प्रस्ताव गरेका छन्।
डा यादवले यसअघि क्यान्सरका विषयमा अनुसन्धानका लागि मेयो ब्रदर्स डिस्टिग्विइड फेलोशिप अवार्ड र मेयो क्लिनिकबाट विलियम एचजे समर स्किल अवार्ड, अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीबाट योङ इन्भेस्टि गेटर अवार्ड समेत पाइसकेका छन्।