काठमाडौं- स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार विश्व मधुमेह दिवसको अवसरमा छलफल कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ प्रमुख अतिथि थिए।
मन्त्री खापुङ आफैं मधुमेहका बिरामी हुन्। कार्यक्रममा मन्त्री खापुङले मधुमेहका विषयमा नीतिगत कुराहरु र सुझाव दिन्छन् भन्ने धेरैको अपेक्षा थियो।
तर त्यस्तो भएन।
स्वास्थ्य मन्त्री खापुङले आफू उक्त कार्यक्रममा यस्सै आएको बताए।
२२ वटा मन्त्रालयका मन्त्रीहरू मध्य यस्ता कार्यक्रममा आफू मात्रै हिँड्ने गरेकोले आफू मात्रै किन हिड्नु जस्तो सोचेर कस्तो कस्तो लाग्दा लाग्दै कार्यक्रममा आएको उनको भनाई थियो।
'म त यहाँ यस्सै आएको हुँ। २२ वटा मन्त्रालयमा अरु मन्त्रीहरु कोही पनि यस्ता कार्यक्रममा हिँडेका छैनन्। मलाई पनि के हिँड्नु जस्तो लागेको थियो। तर कस्तो कस्तो लाग्दालाग्दै पनि यहाँ आएँ,' कार्यक्रममा उनले भने।
कार्यक्रममा उनले आफूसहित आफ्ना साथीहरुलाई मधुमेह भएको भनेर केही किस्साहरु पनि सुनाए। उनले ती किस्साहरु बताउँदै कार्यक्रममा हाँस्ने वातावरण मात्र बनाए।
मन्त्रीले आफू र आफ्ना साथीहरुका मधुमेहका किस्सा सुनाएपछि स्वास्थ्यका कर्मचारीहरुले मन्त्रीले मधुमेह नियन्त्रण तथा रोकथाम र यसको समयमा नै पहिचान गर्ने विषयमा बलियो नीतिगत विषय बोल्छन् भन्ने अपेक्षा राखेका थिए। तर मन्त्रीले हाँसीमजाकमै आफ्ना कुरा टुंग्याए।
'आफैं बिरामी र साथीहरु पनि मधुमेहका बिरामी भएको कुरा पछि मन्त्रीले स्वास्थ्यमन्त्रीका रुपमा मधुमेहका क्षेत्रमा नीतिगत सुधारका लागि गरेका काम वा गरिरहेको प्रयासका विषयमा बोल्नुहोला भनेको त उहाँले त गैरजिम्मेवार कुरा गरेर हिँड्नु भयो,' कार्यक्रम सकिएपछि एक स्वास्थ्यकर्मीले मन्त्रीको आलोचना गर्दै भने।
कार्यक्रममा नीतिगत विषयमा नबोलेका मन्त्रीले मधुमेहका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने विषयमा भने बोलेका थिए। तर यसका लागि मन्त्रालयले के गरेको छ भन्ने विषयमा भने उनले केही बोलेनन्।
‘मधुमेह निकै खतरनाक रहेछ । यसले हुनसक्ने हानीका बारेमा जनचेतना फैलाउन आवश्यक देखियो,’ उनले भने।
कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले मधुमेहको जोखिम बढाउने तत्व र क्रियाकलाप त्याग्न आग्रह गरिन्।
‘खानपान र जीवनशैली परिवर्तन गर्नु पर्यो्। धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्नै पर्योव। शारीरिक व्यायम गर्नै पर्यो । नियमित स्वास्थ्य जाँच र चिकित्सकको सरसल्लाह मान्नु पर्योत,’ उनले भनिन्।
कार्यक्रममा वीर अस्पतालका कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट डा दिपक मल्लले मधुमेह सम्बन्धी प्रस्तुति गरेको थिए। डा मल्लका अनुसार पछिल्लो समय २० वर्ष भन्दा माथी उमेर समूहका र विदेशबाट फर्किनेहरुमा मधुमेह बढीरहेका जानकारी दिए।
त्यस्तै, इपिडीमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा चुमनलाल दासले राज्यले नसर्ने रोगलाई हेरिरहेको बताए। उनले मधुमेहबाट बच्न खानपिन, कसरत र नियमित जाँच गर्नुपर्ने समेत बताए।