काठमाडौं– रौतहटका एक पुरुषलाई ७ वर्ष अघि मधुमेह पहिचान भयो। उनले चिकित्सकको सल्लाहमा मधुमेह नियन्त्रणका लागि नियमित औषधि सेवन गरिरहे।
मधुमेहकै कारण विस्तारै उनको आँखामा पनि समस्या देखिन थाल्यो। तर सुरुमा उनले मधुमेहकै कारण आफूमा आँखाको समस्या भएको पत्तै पाएनन्।
तीन वर्ष अघि चोटपटक लाग्दा उपचारका लागि अस्पताल पुगेपछि बल्ल मधुमेहको समस्या हुनेले आँखाको पनि जाँच गराउनपर्ने थाहा पाए।
आँखा जाँच गरेपछि पत्ता लाग्यो मधुमेहकै कारण उनको आँखाको दृष्टि कमजोर हुँदै गएको थियो।
आइतबार आँखाको उपचारका लागि छोराको साथमा तिलगंगा आँखा प्रतिष्ठानमा आएका ती पुरुषले आफूलाई मधुमेह पत्ता लाग्दा आँखा पनि जाँच गराइराख्नु पर्छ भन्ने जानकारी नहुँदा आँखाको उपचारमा ढिला भएको सुनाए।
‘मधुमेह त ७ वर्ष अघि नै पत्ता लागेको हो, आँखामा असर हुन थालेको ३ वर्ष भयो,’ ती पुरुषले भने, ‘आज आँखाको लेजर गर्न आएको हो।’
तीलगंगा आँखा अस्पतालकी आँखाको पर्दा रोग विशेषज्ञ डा रवा थापाका अनुसार ती पुरुषको आँखामा मधुमेहकै कारण समस्या देखिएको हो। अर्थात ती पुरुषमा डाइबेटिक रेटिनेपेथीको समस्या छ। ६० वर्षीय ती पुरुषको आँखाको उपचार समयमै नभए मधुमेहकै कारण दृष्टिविहिन नै हुनसक्ने भएकाले उपचार प्रक्रिया सुरु गरिएको डा थापाले बताइन्।
ती पुरुष जस्तै तीलगंगा आँखा अस्पतालमा मधुमेहकै कारण आँखामा समस्या देखिएका बिरामीहरु दैनिक आउने गरेको डा थापाको भनाइ छ।
डा थापाका अनुसार कपितय बिरामीहरु मधुमेहको पहिचान पछि आँखा परीक्षणका लागि आउने गरेका छन् भने कतिपय बिरामीहरु आँखामा समस्या भएपछि मात्रै उपचारका लागि आँखा अस्पतालमा आउने गरेका छन्।
‘अझै पनि मधुमेहका बिरामीमा आँखा जाँच गराइराख्नुपर्छ भन्ने जानकारी छैन, मधुमेह जाँच गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीले आँखाको जाँच गराउनुपर्छ भन्ने जानकारी दिनुपर्छ,’ उनले भनिन्, ‘आँखा पनि जचाउनुर्छ भन्ने जानकारी नहुँदा आँखामा समस्या देखिएपछि मात्र उपचारका लागि आउने बिरामीहरु पनि छन्।’
अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ५३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन्। मधुमेहकै कारण मानिसहरुमा अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र मृत्यु समेत हुने गरेको छ।
हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्छ।
डा थापाका अनुसार आँखामा देखिने समस्याहरु मध्ये डायवेटिक रेटिनेपेथी दृष्टिविहिन गराउने कारणहरुमध्ये एक प्रमुख कारण हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोश्रो प्रकारको मधुमेहमा करिब २ तिहाई बिरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ।
मधुमेह भएका व्यक्तिमा आँखा धमिलो हुँदा सम्म रेटिनामा क्षति भइसकेको हुन्छ। आँखामा धेरै असर गरिसकेपछि मात्र थाहा हुदा उपचार पछि पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने डा थापाको भनाइ छ।
डा थापाका अनुसार मधुमेहले आँखाको पर्दाको रक्त कोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ। जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ।
संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डाइबेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ। आँखामा मधुमेहले पार्ने असर बारे जानकारी नहुँदा बिरामीहरुले मधुमेह हुँदा समयमै आँखा जाँच नगराएको डा थापाले बताइन्।
मधुमेहका कारण हुने अन्धोपनबाट बच्न मधुमेह पहिचान भएपछि मधुमेह नियन्त्रण सँगै आँखाको पनि नियमित जाँच र समस्या देखिए समयमै उपचार गर्नुपर्ने डा थापाले जानकारी दिइन्।