काठमाडौं - चितवनस्थित भरतपुर अस्पतालले एमआरआई सेवा सुरु गर्ने तयारी गरेको छ। बिरामीको आवश्यकता र सहज पहुँचका लागि अस्पतालले एमआरआई सेवा सुरु गर्ने तयारी गरेको हो।
एमआरआई उपकरण खरिद गर्न २५ करोड बजेट बिनियोजन भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए। हाल उपकरण खरिदका लागि टेण्डर प्रक्रियामा रहेको छ। आगामी असारसम्ममा उपकरण खरिद गरिने र त्यसको केही महिनामै सेवा सुरु गर्ने तयारी रहेको उनले बताए।
हाल एमआरआई सेवा चाहिने बिरामीहरुलाई रिफर गर्नुपर्ने अस्पतालको बाध्यता छ। सरकारी अस्पतालमै एमआरआई सेवा सुरु भएपछि गरिब तथा विपन्न बिरामीहरुलाई राहत मिल्ने उनले बताए।
‘अहिले एमआरआई गर्नुपर्ने बिरामीहरुलाई बाहिर रिफर गर्नुपर्ने हाम्रो बाध्यता छ। यो सेवा सुरु भएपछि बिरामीले सर्वसुलभ सेवा पाउँछ। बाहिर १४ हजार जति शुल्क पर्नेमा यहाँ सुरु भएपनि १० हजार जतिमा हुन्छ।’ उनले भने।
भरतपुर अस्पतालको ओपिडीमा दैनिक करिब १७ सय बिरामी सेवा लिन पुग्ने गरेका छन्। चितवन सहित मकवानपुर, गोरखा, लमजुङ, तनहुँ लगायतका जिल्लाबाट उपचारका लागि भरतपुर अस्पताल जान्छन्। हाल भरतपुर अस्पताल ६ सय शय्यामा सञ्चालित छ।