काठमाडौं - सरकारी प्रयोगशालाकर्मी संघ नेपाल (गोलान) ले एक सय जना प्रयोगशालाकर्मीहरुलाई ‘कोभिड १९ पिसिआर हिरो’ अवार्डबाट सम्मानित गर्ने भएको छ।
गोलानले कोभिड महामारीमा उत्कृष्ट काम गर्ने एक सय जना प्रयोगशालाकर्मीहरुलाई उक्त अवार्डबाट सम्मानित गर्न लागेको हो। अवार्डका लागि प्रयोगशालाकर्मीहरुले (सहायक चौथो तहदेखि ११ औँ तह प्रयोगशाला विशेषज्ञ) सरकारले कोभिड महामारी घोषणा गरेको मितिदेखि कम्तीमा ६ महिनासम्म सरकारी वा मान्यता प्राप्त निजी पिसिआर प्रयोगशालामा पिसिआर परीक्षण सम्बन्धी काम गरेको हुनुपर्नेछ। जसमा स्वाब संकलन, पिसिआर परीक्षण, रेकर्डिङ तथा रिर्पोटिङ कार्य गरेको हुनुपर्ने गोलानले जनाएको छ।
अवार्डका लागि सरकारी तथा निजी प्रयोगशालाहरुले एक जना प्रयोगशालाकर्मीहरुको नाम सिफारिस गर्न सक्नेछन्। साथै प्रयोगशालाकर्मी आफैँले पनि बायोडाटा, र पिसिआर प्रयोगशालामा काम गरेको आधिकारिक कागजात सहित आफ्नो विवरण मंसिर १५ गतेभित्र [email protected] मा पठाउन सक्ने गोलानले जनाएको छ।
प्राप्त नामावलीमध्ये उत्कृष्ट एक सय जना प्रयोशशालाकर्मीहरुको नाम उच्चस्तरीय कमिटिबाट छनौट गरिने गोलानका नवनियुक्त अध्यक्ष राजेशकुमार गुप्ताले जानकारी दिए।
उनले भने, ‘प्रयोगशालाकमीहरुले कोभिड महामारीमा जोखिम उठाएर दुर्गमदेखि सबै ठाउँमा काम गरे। उनीहरुको मनोबल बढाउन र प्रोत्साहन गर्न हामीले अवार्ड वितरण गर्न लागेका हौँ।’
गोलानले शनिबार नै राजेश कुमार गुप्ताको अध्यक्षतामा १५ कार्यसमिति गठन समेत गरेको छ। गोलानको उपाध्यक्षमा सन्तोष सुवेदी, उपाध्यक्षमा पदमानाभ घिमिरे र खेमराज सापकोटा, महासचिवमा खुमराज शर्मा, सचिवमा कृष्णप्रसाद जैसी र इश्वरीप्रसाद भुसाल, कोषाध्यक्षमा लेखनाथ भट्टराई चयन भएका छन्। सदस्यहरुमा परमानन्द भण्डारी, नविन कर्माचार्य, किरण पौडेल, शैलेश थपलिया, सुजाता श्रेष्ठ, अमित कार्की र श्रेष्का श्रेष्ठ चयन भएको संघले जनाएको छ।