काठमाडौं- खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले ४० जना विपन्न बिरामीको मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीको शल्यक्रिया निःशुल्क गर्ने भएको छ।
खड्गी इन्स्टिच्युटले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा ४० जना बिरामीको शल्यक्रिया निःशुल्क गर्ने जनाएको हो। उक्त निःशुल्क स्वास्थ्य शिविर आगामी पुस १४ देखि १६ गतेसम्म हुनेछ।
विपन्न तथा असहाय बिरामीलाई उपचारको पहुँचमा ल्याउने उद्देश्यसहित उक्त निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीका प्रवन्ध निर्देशक डा सञ्जय खड्गीले बताए।
उनले भने, ‘हामीले गरिब जसले पैसा तिर्न सक्दैन उनीहरुलाई उपचारको पहुँचमा ल्याउन निःशुल्क स्वास्थ्य शिविर गर्न लागेका हौँ। यसका लागि उनीहरुले वडाबाट सिफारिस पत्र ल्याउनुपर्ने हुन्छ।’
उक्त शिविरमा आउने बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्ज समेत निःशुल्क गरिने इन्स्टिच्युटले जनाएको छ। पत्थरी शल्यक्रियाका लागि मिनि पीसीएनएल विधि र प्रोस्टेट ग्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरिने डा खड्गीले बताए।
आर्थिक अभावका कारण उपचार गर्न नसकेर मिर्गौला तथा प्रोस्टेट ग्रन्थी फेल हुने अवस्थामा पुग्ने बिरामीहरुलाई उक्त शिविरबाट राहत मिल्ने उनीहरुको अपेक्षा छ।
गत एक वर्षको अवधिमा खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीबाट १ हजार ४४० जनाको शल्यक्रिया गरिएको छ। जसमध्ये २८ जनाको निःशुल्क र ७५ जनाको न्यून शुल्कमा उपचार गरिएको इन्स्टिच्युटले जनाएको छ।