फेटल इकोकार्डियोग्राफी एक प्रकारको भिडियो एक्सरेबाट गरिने गर्भवती महिलाको पेटभित्र बसेको बच्चाको मुटु सम्बन्धी जाँच गर्ने प्रविधि हो। यो जाँच विकासोन्मुख देशहरुमा धेरै पहिलेदेखि सुरु भए पनि अल्ट्रासाउण्ड मेसिनको नयाँ प्रविधि विकास भएसँगै यो बढी लाभदायक हुँदै गएको छ। नेपालको सन्दर्भमा फेटल इको सुरु भएको केही वर्ष मात्र भएको छ।
फेटल इको किन गर्ने?
संसारमा सबैभन्दा बढी भ्रूण (पेटभित्रको बच्चा) मा हुने समस्या मुटुमा पाइएको छ। १००० जनामा ८–१० जना भ्रूणमा मुटुको समस्या भएको पाईन्छ। त्यसैले समयमानै फेटल इको गरेमा भ्रूणलाई कस्तो किसिमको मुटुको समस्या भएको छ र जन्मि सकेपछि यसको उपचार गर्न सकिन्छ या सकिँंदैन भनेर पेट भित्रै पहिचान गर्न सकिन्छ। मुटुको समस्यासँगै अरु अँगहरुको समस्या पनि धेरै हुने भएकोले भ्रूणको मुटुको जाँच गर्नु अतिनै आवश्यक हुन्छ।
फेटल इको कहिले गर्ने?
फेटल इको धेरै जसो २०–२२ हप्ता गर्भवती भएको बेलामा गरिन्छ। किनकी यो समयमा भ्रूणको लगभग सबै अंगहरु बनि सकेको हुन्छ। तसर्थ यो समयमा मुटु बाहेक अरु अंगहरुको पनि जाँच गर्न मिल्छ र यसलाई एनोमली स्क्यान भनिन्छ। अहिले अल्ट्रासाउण्ड मेसिनको राम्रो प्रविधिले गर्दा फेटल इका १२–१४ हप्तामा पनि गर्न सकिन्छ। तर सबै प्रकारको समस्या यो अवधिमा पत्ता लगाउन नसकिने भएकाले २०–२२ हप्तामा गर्नु उपयोगी मानिन्छ। तर धेरै जटिल समस्या भएमा १२–१४ हप्तामा पनि पत्ता लगाउन सकिन्छ। केहि गरि २०–२२ हप्तामा फेटल इको गर्न छुटेको खण्डमा त्यसपछि पनि गर्न सकिन्छ तर कहिलेकाहीँ प्राविधिक जटिलता भने हुन सक्छ।
फेटल इकोबाट के के समस्या पत्ता लगाउन सकिन्छ?
फेटल इकोबाट मुटुको बनावटमा हुने समस्याहरु पत्ता लगाउन सकिन्छ जस्तै मुटुको भित्तामा हुने प्वाल एउटा वा दुईवटा मात्र मुटुको कोठा हुने समस्या, धमनीहरुको समस्या मुटुको भल्भको समस्या, मुटुको चालको समस्या, उल्टो भएर बसेको मुटु, मुटुले काम नगरेको अवस्था र मुटुको ट्युमरहरु इत्यदि। सामान्य समस्यादेखि लिएर जटिल समस्यासम्म पत्ता लगाउन सकिन्छ। फेटल इको गर्दा मुटुको मात्र नभई भ्रूणको पेटभित्र रहेका अगहरु जस्तै आमासय, कलेजो र पेटका धमनीहरु ठिक ठाउँमा छ वा छैन भनेर पनि पत्ता लगाउन सकिन्छ।
फेटल इको कसले गर्छ?
फेटल इको अल्ट्रासाउण्ड मेसिनको प्रयोग गरिने भएकोले यस विषयमा विषेशज्ञता हासिल गरेका रेडियोलोजिष्ट वा कार्डियोलोजिस्टले गर्ने गर्छ। तर फेटल इको एक प्रकारको विषेश जाँच हुने भएकोले फेटल इकोको ट्रेनिङ लिएका रेडियोलोजिष्ट वा पेडियाट्रीक कार्डियोलोजिस्टले मात्र गर्न सकिन्छ। फेटल इकोको ट्रेनिङ्ग लिएका रेडियोलोजिष्टहरुले गर्दा मुटुकोमात्र नभई केही गरी अरु अंगमा पनि समस्या देखिएमा यसको बारेमा पनि रिपोर्टिङ्ग गर्ने गरिन्छ। जसले गर्दा भ्रूणको धेरै जसो समस्या पहिचान गर्न सकिन्छ ।