काठमाडौं- नेपालमा उत्पादित एन्टीक्यान्सरका औषधि नेपालसहित भारतका विभिन्न अस्पतालमा प्रयोग हुन थालेको छ। औषधि उत्पादक कम्पनी टिजिग फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले नेपालसहित भारतका विभिन्न अस्पतालमा उपचाररत बिरामीले सहज र सुलभ रुपमा प्रयोग गर्न थालेको जानकारी दिए।
टिजिगले करीव ९ महिना अघि देखि उत्पादन सुरु गरी बजार पठाउन थालेको औषधिहरु बिरामीले प्रयोग गर्न थालेको उनको भनाई छ।
वैद्य भन्छन्, क्यान्सर रोगको उपचारमा नेपालमै रहेका बिरामीका लागि चिकित्सकले प्रेस्काईव गर्न थालेका छन्। भारतमा रहेका बिरामीहरुले पनि टिजिगबाट उत्पादित एन्टी क्यान्सरको औषधि उपभोग गर्न थाल्नु भएको छ।
उनले भारतको दिल्लीस्थित राजिवगान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेका बिरामीहरुले पनि आधिकारिक रुपमा त्यहाँको औषधि नियमक निकायको स्वीकृतिमा टिजिगबाट उत्पादित क्यान्सर विरुद्धको औषधि उपभोग गरिरहेको बताए।
कार्यकारी निर्देशक बैद्य भन्छन्, 'विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण सम्बन्धी निर्देशिका बमोजिम विदेशी कम्पनीको प्रविधि र लगानी भित्र्याउने यो नेपालकै पहिलो औषधि कम्पनी हो।'
कति प्रकारका औषधि उत्पादन हुन्छन्?
टिजिगले फोक्सो, रगत, स्तन, पाठेघर, मस्तीष्क, ठुलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरु उत्पादन गरिरहेको छ। हाल नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युलबाट उत्पादन हुन सक्ने ५३ किसिमको औषधिको उत्पादन गर्नको लागि औषधि व्यवस्था विभागबाट अनुमति पाई सकेको छ। यीमध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादिन २३ किसिमका औषधिहरुको लागि औषधि व्यवस्था विभागले बिक्रि वितरण अनुमति दिईसकेको छ।
अहिले टिजिगले बिक्रिवितरण अनुमति पाएकामध्ये ५ प्रकार मोलिक्युलका ७ किसिमका औषधिहरु मात्र नेपालमा बिक्रि वितरण गर्न पाएको छ। अरु ९ प्रकारका मोलिक्युलबाट १६ किसिमका औषधि विदेशमा बिक्री वितरणको तयारी र अभ्यास हुँदै आएको छ। विदेशमा मात्रै बिक्री वितरण गर्नका लागि अनुमति पाएको १६ किसिमका औषधिहरु यतिवेला नेपाली चिकित्सक, अस्पताल र बिरामी पक्षबाट निकै नै माग भएका छन्।
टिजिगले मुख्य सरोकारवालाहरुको मागलाई ध्यान दिएर अहिले औषधि व्यवस्था विभागमा यी औषधिहरु नेपालमा पनि बिक्रिवितरण गर्न विभागसँग अनुमति लिनका लागि निवेदन पेश गरिसकेको छ। विभागले पनि यो विषयमा आफू सकारात्मक रहेको जनाएको छ। कम्पनीले भविष्यमा अन्य धेरै प्रकारका क्यान्सर विरुद्धका औषधिहरु बजारमा ल्याउने तयारीमा रहेको पनि कार्यकारी निर्देशक वैद्यले बताए।
नेपालमा क्यान्सरको उपचार गर्ने संस्था (अस्पताल)हरुले पछिल्लो दश वर्षमा निकै धेरै स्थापना भई सञ्चालनमा आएका छन्। भरतपुर, भक्तपुरबाहेक सरकारी तवरबाट नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खुलेको छ। काठमाडौँमा त्रिवि शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर सञ्चालनमा आएको छ। यस्तै निजी क्षेत्रबाट हरिसिद्धीमा नेपाल क्यान्सर अस्पताल, भक्तपुरमा काठमाडौँ क्यान्सर सेन्टर, जावलाखेलमा नेशनल क्यान्सर सेन्टर, झापामा पूर्वाञ्चल क्यान्सर सेन्टर र चितवनमा सीएमसी क्यान्सर सेन्टर सञ्चालनमा आएका छन्। यी बाहेक पाटन, वीर, प्रसूती, ओम, ग्राण्डी, वीएण्डबी, ह्याम्स, मेडिसिटी लगायतका नयाँ तथा पुराना ठूला सरकारी तथा निजी अस्पतालमा पनि क्यान्सरको उपचार हुँदै आएको छ।
यसैबीच टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य ‘वर्ल्ड बुक अफ रेकर्डबाट सम्मानित भएका छन्। ‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपाल च्याप्टरले नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरी देश र जनताको लागि अमूल्य योगदान गरेको भन्दै निर्देशक वैद्यलाई सम्मान गरेको हो।
वैद्यलाई मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले सम्मान गरेकी हुन्।