काठमाडौं- राजनीतिक दलका नेताहरुलाई यतिखेर भोट माग्न भ्याई नभ्याई छ। दिनरात, भोक प्यास नभनी उनीहरु जनताको घरदैलोमा भोट माग्न पुगिरहेका छन्।
नेपालका अधिकांश दलका नेताहरु पाका उमेरका छन्। उनीहरुमा उच्च रक्तचाप, मधुमेह जस्ता समस्या पनि हुनसक्छ। बढी दौडधूप हुँदा शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्तन सक्ने र समस्या भएकाहरुलाई बढ्न सक्ने चिकित्सकहरु बताउँछन्।
जनरल फिजिसियन डा लोचन कार्की शरीरमा पहिलेदेखि दीर्घरोग भएका नेताहरुले स्वास्थ्यको विशेष ध्यान दिन सुझाव दिन्छन्। उनी भन्छन्, ‘धेरैजसो नेताहरु बुढापाका नै छन्। कसैलाई सुगर, कसैलाई प्रेसर हुन सक्छ। शरीरमा पहिलेदेखि रोग भएका नेताहरुले त विशेष ध्यान दिनैपर्छ।’
खानपान र जीवनशैलीमा ध्यान नदिँदा मधुमेह, उच्च रक्तचापको समस्या ह्वात्तै बढ्न सक्ने उनले बताए। दीर्घरोग भएकाहरुले चिकित्सकले दिएको औषधि र खानपान समयमै खानुपर्ने उनको भनाई छ। चुनावको दौडधूपसँगै आफ्नो स्वास्थ्यको ख्याल नगरे समस्या झन जटिल बन्न सक्ने र मृत्युसमेत हुन सक्ने उनले बताए।
‘विगतमा पनि उम्मेदवारहरु बितेको, हार्ट अट्याक भएको घटना छ। प्रेसरको औषधि खाएन, समय–समयमा परीक्षण भएन र तनाव बढी भयो भने समस्या बढ्न सक्छ’ उनले भने।
चुनावमा ह्रदयघात, ब्रेन स्ट्रोक, मानसिक रुपमा तनाव बढ्न सक्ने डा लोचनले बताए। स्वास्थ्यको ख्याल नगरे आइसीयूमा समेत भर्ना हुने अवस्था आउन सक्ने उनले बताए।
मधुमेह, रक्तचापको समस्या नभएका युवा उम्मेदवारमा पनि चुनावको बेला तनाव बढ्न सक्ने, समयमै खाना नखाँदा र शरीरमा पानीको मात्रा नपुग्दा ग्याष्ट्रिकको समस्या बढ्न सक्ने उनको भनाई छ। उनी आफैँ नेपाल चिकित्सकको संघको महासचिव हुँदा विभिन्न्न आन्दोलन र चुनावको समयबाट नै रक्तचापको औषधि खान थालेको अनुभव सुनाउँछन्।
चुनावी घरदैलोमा जाँदा खानाको कुनै ठेगान हुँदैन। पानीको मात्रा पनि विचार गरिँदैन। सरसफाईको ख्याल नगरी खानेकुरा खाँदा झाडापखाला र वान्ताको समेत समस्या हुने उनले बताए। तनाव बढी हुँदा मुटु ढुकढुक हुने, निद्रा नलाग्ने, डर लाग्ने मनोवैज्ञानिक समस्या समेत निम्तन सक्ने उनले बताए।
‘शरीरलाई ध्यान दिनुपर्छ। शरीर रह्यो भने मात्र न सांसद मन्त्री बनिन्छ। नियमित खाने औषधि छुटाउनु हुँदैन।’ उनले भने, ‘रोग अनुसार खानपान गर्नुपर्छ। रोग नहुने व्यक्तिले पनि शरीरको आवश्यकता अनुसार खाना खानुपर्छ। कम्तीमा ६ घण्टा निद्रा पुर्याउनुपर्छ।’
अर्का कन्सल्टेण्ट फिजिसियन डा निमेष पौडेल विशेषगरी रक्तचाप, मधुमेह लगायत दीर्घरोग भएका उम्मेदवारले ध्यान दिनुपर्नेमा जोड दिन्छन्। उनका अनुसार अनावश्यक रुपमा लिइने तनावले शरीरमा भएका समस्यालाई थप बढाउने काम मात्र गर्छ। प्रशस्त रुपमा पानी पिउन उनको सुझाव छ।
‘नियमित औषधि र चिकित्सकको परामर्शमा रहेका व्यक्ति नियमित सम्पर्कमा बस्नुपर्छ। धेरै दौडधूप गर्नुपर्ने भएकाले पानीको मात्रा कम हुन दिनुहुँदैन। पानी प्रशस्त मात्रामा पिउनुपर्छ।’ उनले भने।
घाममा धेरै बाहिर बस्नुपर्ने भएकाले छालाको एलर्जीदेखि विभिन्न समस्या पनि आउन सक्ने उनले बताए। आफ्नो शरीरमा भएको रोगको अवस्था बेला बेलामा परीक्षण गर्नुपर्ने उनको भनाई छ। हेलचक्र्याई गरे अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउन सक्ने उनले बताए।
दिनमा तीनदेखि चार पटक खाना खान, प्रशोधित र तयारी खाना सकेसम्म कम गर्न, सरसफाईमा ध्यान दिन, कम्तीमा ६ घण्टा सुत्न उनको सुझाव छ।