काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको अवलोकन गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको अगुवाईमा सञ्चालित स्वास्थ्य केन्द्रमा बुधबार बिहान पुगेका मेयर बालेनले करिब एक घण्टा अवलोकन गरेका हुन्।
बिहान ८ बजे स्वास्थ्य केन्द्रमा पुगेका बालेनले ९ बजेसम्म बिताएका थिए। सो क्रममा मेयर बालेनले केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग पनि कुराकानी गरेका छन्।
स्वास्थ्य केन्द्रको अवलोकनपछि मेयर शाहले स्वास्थ्य केन्द्र राम्रो लागेको प्रतिक्रिया दिए।
'राम्रो रहेछ। महानगरले पनि वडाहरुमा यस्तै केन्द्र बनाउन खोजिरहेको छ। त्यसका लागि हामीले यो केन्द्र रिफ्रेन्सका रुपमा लिन सक्छौं,' केन्द्रको अवलोकनपछि मेयर बालेनले भने।
उनले केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति, बजेट र पूर्वाधारका विषयमा पनि चासो दिएर जिज्ञासा राखेका थिए। सो क्रममा गगन थापाका सल्लाहकार प्रताप पौडेलले हाल उक्त केन्द्र सञ्चालनका लागि वर्षिक एक करोड हाराहारीमा खर्च हुने गरेको र जनशक्तिमा विशेषज्ञ चिकित्सकदेखि सरसफाईं कर्मचारीसम्मको व्यवस्था गरिएको जानकारी दिए।
पौडेलेको कुरा सुनेपछि मेयर शाहले महानगरले कति रकम खर्च गर्दा यस्ता केन्द्रहरु सञ्चालनमा ल्याउन सक्छ भन्ने विषयमा पनि गृहकार्य गरिरहेको प्रतिक्रिया दिए। 'केन्द्रहरु आफैं सेल्फ सस्टेन हुन सक्छन् कि सक्दैनन्। हुन त स्वास्थ्यमा लगानी गर्नैपर्छ। महानगरले कति खर्च गर्दा यस्ता केन्द्र बन्छन् भन्ने पनि हो।' उनले विशेषज्ञ चिकित्सकदेखि स्वास्थ्यकर्मी र अन्य कर्मचारीको तलब लगायतका सेवासुविधाका विषयमा पनि चासो राखेका छन्।
स्वास्थ्य केन्द्रको सरसफाईं देखेर प्रभावित भएका शाहले कर्मचारीलाई सँधै यस्तै सफा हुन्छ भनेर जिज्ञासा समेत राखेका थिए।
'कस्तो सफा रहेछ। सफा देखेर मलाई त अचम्म लाग्यो। सँधै यस्तै सफा हुने हो?,' शाहले प्रश्न गरे। शाहको जिज्ञासापछि केन्द्रकी चिकित्सक डा आरती शाहले भनिन्, 'हजुर सँधै यस्तै सफा सुग्घर हुन्छ।'
गगन थापाका सल्लाहकार पौडेलले थपे, 'सरकारी स्वास्थ्य संस्था भन्नेवित्तिकै फोहोर हुन्छ भन्नेहरुका लागि यो संस्था नमुना बनाउने प्रयास गरेका छौं। स्वास्थ्य संस्था सँधै सफा हुनुपर्छ भनेर नै जोड दिएका छौं।'
उनीहरुको कुरा सुनेपछि मेयर शाहले भुइँ मात्र नभई भित्ताहरु पनि सफासुग्घर रहेको भन्दै संस्थाको प्रशंसा समेत गरे।
शाहले नि:शुल्क औषधि, फिजियोथेरापी, नागरिकहरुको स्वास्थ्य प्रोफाइल, प्रयोगशाला लगायतका विषयमा भइरहेको कामका विषयमा पनि चासो दिएका थिए।
स्वास्थ्य केन्द्र गगन थापाको अगुवाईमा मानव स्वास्थ्यसँगको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० द्वारा सञ्चालित हो। गत चैतदेखि नियमित रुपमा सञ्चालनमा आएको केन्द्रमा पछिल्लो समय डेंगुको नि:शुल्क परीक्षण भइरहेको छ।
यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवर्द्धनदेखि घर–घरमै स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ।
सरकारी प्राथमिकतामा परेका नियमित कार्यक्रमहरुको कार्यान्वयन पनि यो केन्द्रबाट भइरहेको छ। सुरक्षित मातृत्व कार्यक्रमसँगै खोप सेवा पनि उपलब्ध छन्।
एमडिजिपी चिकित्सकद्धारा नियमित रुपमा ओपिडी परामर्श, स्त्रीरोग, बाल रोग, हाडजोर्नी, छाला, नाक कान घाँटी, सामान्य चिकित्सा, आयुर्वेदक चिकित्सा जस्ता विशेषज्ञ परामर्श सेवा यो केन्द्रमा लिन सकिन्छ। एक्सरे, इसिजी, फिजियो थेरापी, मानिसक स्वास्थ्य परामर्श सहित फार्मेसी सेवालाई पनि यो केन्द्रले प्राथमिकतामा राखेको छ।
सरकारले तोके बमोजिम स्थानीय स्वास्थ्य संस्था मार्फत महानगरपालिकाले निःशुल्क उपलब्ध गराउने औषधिहरु निःशुल्क प्रदान गरिने डा शाहले बताइन्। नि:शुल्कको सूचीमा नपरेका अन्य औषधिहरु बजार मूल्यभन्दा निकै कममा २० देखि ३० प्रतिशत छुटमा केन्द्रभित्रै सञ्चालित फार्मेसी मार्फत पनि उपलब्ध हुने उनले जानकारी दिइन्।
यसका साथै केन्द्रमा वीर अस्पतालमा भन्दा कम शुल्कमा फिजियोथेरपी सेवादेखि टेकुस्थितर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै शुल्कमा प्रयोगशाला परीक्षण पनि हुने पौडेल बताउँछन्।
वडा नं ३० मा बसोबास गर्ने घर परिवार र व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी संकलनमा हाल यो केन्द्र जुटिरहेको छ। हालसम्म १५ हजार जनाको स्वास्थ्य संकलन भइसकेको छ।