काठमाडौं- वीर अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली (इएचआर) लागू गर्न प्रक्रिया सुरु गरिएको छ।
सबै सरकारी अस्पतालमा इएचआर लागू गर्ने सरकारी नीति अनुसार वीर अस्पतालमा यो प्रणाली लागू गर्न प्रक्रिया सुरु गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्र कुमार बस्नेतले जानकारी दिए।
उनले भने, ‘अस्पतालहरुमा इएचआर प्रणाली लागू गर्ने सरकारको नीति तथा कार्यक्रम पनि छ। सोही अनुसार हामीले वीर अस्पतालमा पनि यो प्रणाली लागू गर्न लागेका हौँ।’
अस्पताललाई पूर्ण रुपमा कसरी एकीकृत रुपमा डिजिटलाइज गराउन सकिन्छ भनेर अध्ययन समेत गरिएको डा बस्नेतले बताए। अस्पतालको सबै सेवाहरु पेपर लेस बनाउने उक्त अध्ययनको मुख्य उद्देश्य छ।
वीर अस्पतालको पुरानो र नयाँ दुवै भवनमा यो प्रणाली लागू गर्न लागिएको हो। हाल पनि वीर अस्पतालमा बिरामी रजिस्ट्रेसन, बिलिङ, फार्मेसी, अकाउन्ट, ल्याब रिपोर्ट, अनलाइन रिर्पोटिङ, अनलाइन रजिस्ट्रेसन हुने गरेको छ। यी विद्युतीय सेवा भएपनि एकीकृत हुन नसकेको स्वयं उनी स्वीकार्छन्।
उनले भने, ‘अहिले पनि अस्पतालमा डिजिटल सेवाहरु नभएको होइन। तर त्यो एकीकृत भने छैन। अब भने यी सेवाहरुलाई पूर्ण रुपमा एकीकृत मेडिकल रेकर्ड सिस्टम विकास गरेर पेपर लेस गर्ने भनेर विज्ञको टोलीले अध्ययन गरेको थियो।’
विज्ञको टोलीले अध्ययन गरेको उक्त रिपोर्ट आइतबार अस्पताललाई बुझाएको उनले बताए। उक्त टोलीमा डा सुवास प्याकुरेल सहित आइटी र चिकित्सकका विज्ञहरु सहभागी थिए। इएचआर प्रणाली लागू गर्न के के चाहिन्छ ?, कसरी गर्ने ? लगायत विषय अध्ययन रिपोर्टमा उल्लेख रहेको उनले बताए। विज्ञले बुझाएको रिपोर्टपछि आफुहरुलाई अस्पतालमा यो प्रणाली लागू गर्ने बाटो सहज भएको उनको भनाई छ।
‘यो हाम्रो लागि बेस लाइन भयो। यो रिपोर्टलाई हामीले डाक्टर, स्टेक होल्डरसँग बसेर छलफल गर्छौ। विज्ञसँग पनि छलफल गरेपछि ओरिएनटेसनको सुरुवात गर्छौ।’ उनले भने।
के हो इएचआर?
इएचआर भनेको अस्पतालमा उपचारका लागि जाने बिरामीको विवरण सुरक्षित राख्ने प्रणाली हो। यसमा बिरामीले कागजपत्रहरु बोकेर विभिन्न स्थानमा भौतारि रहनु पर्दैन। स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार हुँदा र बाहिरिँदासम्मको विवरणका साथै प्रयोगशालाका विवरण समेत उक्त प्रणालीमा सुरक्षित रहन्छन्।
‘बिरामीले कागज बोकेर हिडिरहन पर्दैन। आफ्नो आइडी नम्बर भन्यो भने सबै रिपोर्ट निस्किन्छ र वर्षौसम्म सुरक्षित रहन्छ।’ उनले भने, ‘यही प्रणाली अरु संघीय अस्पतालमा लागू भयो भने बिराटनगरको बिरामी झोला बोकेर काठमाडौं आउन परेन। उसले आफ्नो आइडी नम्बर मात्र भने पुग्छ।’
बिरामीलाई उपलब्ध गराइने नम्बरबाट बिरामीका विवरणहरु सहज रुपमा हेर्न सकिन्छ। यो प्रणालीले बिरामीको रोगको इतिहास, खाइरहेको औषधि, विगतको स्वास्थ्य जाँचको अवस्था हेरेर थप उपचार प्रक्रिया अगाडी बढाउन सहज हुने उनले बताए। यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके बिरामी र अस्पताल दुवैलाई सेवा लिन र दिन सहज हुने उनले बताए।
आर्थिक वर्ष २०७९/८० को बजेटमा पनि इएचआरको विषय उल्लेख छ। स्वास्थ्य सम्बन्धी व्यवस्थाको बुँदा नम्बर १५० मा भनिएको छ, ‘प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न आगामी आर्थिक वर्षदेखि प्रमुख अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली स्थापना गरी क्रमशः सबै स्वास्थ्य संस्थामा विस्तार गर्दै लगिनेछ।’