भरतपुर- चितवनस्थित भरतपुर अस्पतालमा निर्माण हुन लागेको प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको कामले गति लिन सकेको छैन। निर्माणको जिम्मा लिएको कम्पनीले ढिलाई गर्दा कामले गति लिन सकेको हो।
निर्माणको कामले गति लिन नसक्दा दुई वर्षभित्र अस्पताल बनाउने सरकारी लक्ष्य पुरा नहुने देखिएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले निर्माणको जिम्मा लिएको कम्पनीले काममा ढिलाई गरेको बताए।
‘दुई वर्षभित्र निर्माणको काम सक्ने लक्ष्य हो। तर अहिले बल्ल पहिलो तल्ला बन्दैछ। निर्माण कम्पनीले ढिलाई गर्दा काम नै सुस्त गतिमा अघि बढेको छ।’ उनले भने।
बागमती प्रदेश सरकार अन्तर्गत रहने गरी भरतपुर अस्पतालको जग्गामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्न लागेको हो। उक्त अस्पताल निर्माणको काम माघ २०७८ बाट सुरु भएको थियो।
उनले भने, ‘ठेकेदार राम्रो भयो भने मात्र भवन छिटो दिने रहेछ। तर पुमुरी जिभी नामक एक कम्पनीले जिम्मा पाएको थियो। काम एकदमै ढिलो भइरहेको छ।’
सरुवा रोगको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनको तयारीसहित प्रत्येक प्रदेशमा ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण गर्ने सरकारको नीति छ। सोही नीति अनुसार बागमती प्रदेश अन्तर्गत ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग निर्माणको काम सुरु भएको थियो। अस्पताल निर्माणका लागि सरकारले १८ करोड बजेट छुट्याएको छ।
यसअघि जग्गा विवादका कारण पनि अस्पताल बनाउन केही ढिलाई भएको थियो। चितवनसहित मकवानपुर, नवलपरासी, गोरखालगायत छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने भएकाले सरकारले भरतपुर अस्पताललाई सरुवा रोग अस्पताल निर्माणका लागि छनोट गरेको थियो।