काठमाडौं- गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गरेकाे आरोपमा पक्राउ परेका तीन युवक धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय गोरखाले उनीहरूलाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोडेको हो।
अस्पतालका डाक्टर अविनाश पराजुलीलाई ओपीडी कक्षमा बिरामी परीक्षण गरिरहेकै बेला कुटपिट गरेको भन्दै प्रहरीले गोरखा नगरपालिका ९ बस्ने २८ वर्षका समीर कुँवर, १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका ३ का २६ वर्षका प्रमोदजंग कुँवरलाई पक्राउ गरेको थियो।
कात्तिक ६ गते दिउँसाे पराजुलीलाई हातपात गरी सम्पर्कविहीन भएका उनीहरूलाई गएकाे शनिबार पक्राउ गरिएको थियो।
अस्पतालका स्वास्थ्यकर्मीले भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, पहिलो संशोधन अध्यादेश २०७९ को दफा ३ (ग) मा भएको व्यवस्थाअनुसार मुद्दा दर्ता गरी अनुसन्धान गर्न माग गर्दै आएका थिए। त्यस बुँदामा तीन वर्षसम्म कैद, तीन लाखसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।