काठमाडौं- प्रदुषणको स्तर निकै बढेपछि भारतको दिल्लीमा प्राथमिक विद्यालय बन्द हुने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका हुन्।
यसबाहेक कक्षा ५ भन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा पनि प्रतिबन्ध लाग्नेछ। मुख्यमन्त्रीले दिल्लीमा यातायातमा जोर विजोर प्रणाली लागू गर्नेबारे पनि विचार गरिएको जानकारी दिए।
पत्रकार सम्मेलन कार्यक्रममा केजरीवालले पञ्जाब र दिल्लीमा बढेको प्रदुषणबारे बोल्दै प्रदुषित हावा एउटा राज्यमा मात्रै नभई हरेक राज्यमा जाने बताए। उनले भने, ‘प्रदुषण दिल्लीको मात्रै समस्या होइन, हरियाणा, युपी र पूरा उत्तर भारतको हावाको स्थिति खराब छ। यो एक–अर्कालाई आरोप लगाउने बेला होइन। केन्द्रले अघि सरेर कदम उठाउनुपर्नेछ। यसो गरेर उत्तर भारतलाई बचाउन सकिनेछ।’
उनले थपे, ‘पञ्जाब र दिल्लीमा भलै हाम्रो सरकार छ तर यतिबेला एक–अर्कालाई औँला उठाउने होइन। यसले समाधान हुँदैन।’
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा उच्च बनेपछि सरोकारवालाले विद्यालय बन्द गर्न माग गरेका थिए। दिल्ली सहित वरपरका २ करोड जनसंख्याले सो प्रदुषणको सामना गरीरहेको जनाएको छ। राजधानीका लगभग सबै अनुगमन स्टेशनहरूमा गम्भीर र खतरनाक स्तरका प्रदुषण पाइएको भन्दै सरोकारवालाले विद्यालय बन्द गर्न आग्रह गरेका थिए। एजेन्सी