काठमाडौं- काठमाडौं बाहिरका केन्द्रीय अस्पतालहरुमध्ये एक हो, चितवनस्थित भरतपुर अस्पताल। सरकारले २०७५ सालमा भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा परिणत गरेको थियो।
६५ वर्ष पहिले १५ शय्याबाट सुरु भएको यो अस्पताल हाल ६ सय शय्यामा सञ्चालित छ। सीमित रहेका आफ्ना सेवाहरुलाई बढाउँदै लगेको छ। भरतपुर अस्पतालले हालै मात्र ३५ शय्याको छुट्टै इमरजेन्सी भवन सञ्चालनमा ल्याएको छ। यद्यपि यो इमरजेन्सी भवन ५० शय्या क्षमताको हो। अन्य सेवाहरुलाई विस्तार गर्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेण्टेन्ड प्राडा कृष्णप्रसाद पौडेल बताउँछन्।
‘इमरजेन्सीको समस्या थियो। अहिले नयाँ भवनमा सरेपछि यो समस्या पनि हटेको छ। इमरजेन्सी ल्याब पनि बनाउँदैछौ।’ उनले भने।
प्रसुति सेवा लिनेको चाप बढेपछि अस्पतालले छुट्टै प्रसुति भवन निर्माण गर्ने तयारी पनि गरेको छ। भवन निर्माणको लागि डिपीआरको काम पुरा भइसकेको छ। बर्थिङ सेन्टर सहितको छुट्टै दुई सय शय्याको प्रसुति भवन बनाउने अस्पतालको तयारी हो। सरकारबाट बजेट प्राप्त नभएपनि अस्पताल विकास समितिको रकमले भएपनि ५० शय्याको भवन बनाइने मेसु पौडेलले बताए।
भरतपुर अस्पताल प्रसुति सेवाका लागि प्रख्यात छ। यहाँ दैनिक ४० जना महिलाले प्रसुति सेवा लिन्छन्। जसमध्ये १० जनाले शल्यक्रिया मार्फत सुत्केरी गराउँछन्। वर्षेनी करिब १६ हजार जनाले प्रसुति सेवा लिने गरेको अस्पतालको तथ्यांक छ।
यो सँगै भरतपुर अस्पतालले स्पाइनल इन्जुरीको सेवाका लागि छुट्टै भवन बनाउने तयारी गरेको छ। रोटरी क्लबसँगको सहकार्यमा भरतपुर अस्पतालले २५ शय्याको स्पाइनल इन्जुरी भवन बनाउने भनिएको थियो। तर हाल भरतपुर महानगरपालिकाले नै यो भवनको जिम्मेवारी लिएको छ।
भरतपुर अस्पतालमा २०६९ सालदेखि १२ शय्याको चितवन स्पाइनल इन्जुरी सेन्टर सञ्चालित थियो। तर भवन भत्किएका कारण हाल उक्त सेवा अर्थोपेडिक वार्ड अन्तर्गत सञ्चालन भइरहेको छ। स्पाइनल इन्जुरीका बिरामीलाई एक लाख रुपैयाँ दिने अस्पतालहरुमा भरतपुर अस्पताल पनि सूचीकृत छ। त्यसैले पनि स्पाइनल इन्जुरीका बिरामीहरु उपचारका लागि यहाँ आउँछन्।
स्वास्थ्य बिमाको बिरामी धेरै
सेवा बढेसँगै भरतपुर अस्पतालमा उपचार लिन जाने बिरामीको संख्या पनि बढेको छ। ओपिडीमा दैनिक १७ सयसम्म पुग्ने गरेको छ। तर पुष र माघमा भने बिरामीको संख्या योभन्दा कम पुग्छ। अस्पतालको ओपिडीमा सेवा लिन आउने कुल बिरामीमध्ये करिब ७० प्रतिशत स्वास्थ्य बिमा अन्तर्गतका बिरामी हुन्छन्।
उनी भन्छन्, ‘१४ महिना अगाडी बिमा र अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या ५०÷५० प्रतिशत थियो। अहिले यो दर बढेर बिमाको बिरामी ७० प्रतिशत पुगी सक्यो। कहिले त ८० प्रतिशत नै पुग्छ।’
सरकारले बिना योजना स्वास्थ्य बीमा कार्यक्रम ल्याएको उनको बुझाई छ। बिना योजना कार्यक्रम ल्याउँदा बिरामीहरुलाई सहज रुपले सेवा दिन र व्यवस्थापन गर्न निकै गाह्रो हुने गरेको उनले सुनाए। सेवाग्राही र सेवा प्रदायकबीच सन्तुलन नहुँदा जनता असन्तुष्ट हुने र द्वन्द्वको संभावना हुने उनी बताउँछन्।
भरतपुर अस्पतालमा ओपिडी सेवा निःशुल्क छ। सबैलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्य सहित भरतपुर अस्पतालले ओपिडी टिकट बापतको शुल्क साउन ८ देखि निःशुल्क गरेको हो। यसअघि भरतपुर अस्पतालमा ओपिडी टिकट शुल्क ३० रुपैयाँ थियो। बिरामीको चाप बढेसँगै टिकट काउन्टर पनि बढाउने अस्पतालको तयारी छ।
६ सय शय्याको अस्पताल तर दरबन्दी १५० को मात्र
१५ शय्याबाट सुरु भएको भरतपुर अस्पतालको शय्या क्षमता हाल ६ सय पुगेको छ। सेवा र भवनहरु पनि थपिदैछन्।
भरतपुर अस्पतालमा १५ वटा विभाग सञ्चालित छ। ती हुन्, मेडिसिन, सर्जरी, गाइनो, जेरियाट्रिक, पेडियाट्रिक, अर्थोपेडिक्स, इएनटी, स्कीन, रेडियोलोजी, प्याथोलोजी, साइकाइट्रि, न्यूरो सर्जरी, सिटिभीएस, डेन्टल, कार्डियोलोजी। तर सेवा र भवन अनुसार जनशक्ति भने बढ्न सकेको छैन। यी १५ मध्ये १० वटा विभागको आफ्नै वार्ड छ।
६ सय शय्यामा सञ्चालन भएपनि दरबन्दी मात्र १५० शय्याको हो। अस्पतालले सेवाहरु विस्तार त गर्यो। तर ती सेवा दिन र सञ्चालनका लागि भने आवश्यक पर्ने जनशक्ति भने बढाउन सकेन। बिरामीको चाप र सेवा बढेको अनुपातमा कर्मचारीको दरबन्दी नबढ्दा अस्पताल सञ्चालनमा समस्या आउने गरेको मेसु पौडेलको अनुभव छ।
उनी भन्छन्, ‘शय्याको संख्या र नयाँ सेवा बढाउने भन्दा पनि भएकै सेवालाई व्यवस्थित गर्ने हाम्रो मुख्य उद्देश्य हो। किनभने सरकारले जनशक्ति दिदैन। हामीले मात्र सेवा बढाएर थेग्नै नसक्ने भइसक्यो। सेवा बढाको बढ्यै गर्नुपर्ने तर सरकारले जनशक्ति भने नदिने।’
हाल भरतपुर अस्पतालमा ७६५ जना कर्मचारी छन्। जसमध्ये १७५ दरबन्दी मात्र सरकारी हो। ४५० जना अस्पतालको विकास समितिको कर्मचारीहरु छन्। १४० सेवा करार मार्फत रहेका छन्।
सरकारले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा परिणत गरेपछि दुई पटकसम्म ओएमएन सर्भे पनि भयो। स्वास्थ्य मन्त्रालयले अस्पतालको पाँच सय शय्या सञ्चालनको लागि अनुसार १ हजार ८३ कर्मचारीको दरबन्दी पास समेत गरिसकेको छ। तर दरबन्दीको विषय हाल अर्थ मन्त्रालयमा गएर रोकिएको उनले बताए।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयले दरबन्दी पास गरिसक्यो। तर स्वास्थ्यबाट मात्र पास गरेर पनि हुँदैन। तीन वटा मन्त्रालयबाट पास भएर गएपछि मन्त्रिपरिषदले पास गर्नुपर्छ। स्वास्थ्यले मात्र महत्व दिएर हुँदैन। सरकारले पनि यसलाई महत्व दिनुपर्छ।’
उनी सरकारलाई प्रश्न गर्छन्, ‘रेफरल अस्पताल बनाउने, पाँच शय्याको अस्पताल भनेर घोषणा गर्ने त्यो पनि चार वर्ष हुन लागि सक्यो। तर जनशक्ति बढाउन यति ढिलो किन ?’
सरकारबाट भौतिक भवन, पूर्वाधारमा साथ पाएपनि आवश्यक जनशक्ति पाउन नसकेको उनको गुनासो छ।
६५ वर्ष पुरानो इतिहास
६५ वर्ष पुरानो इतिहास बाकेको अस्पताल हो, भरतपुर अस्पताल। २०१३ साल मा १५ शय्याको हेल्थ सेन्टरको रुपमा यो अस्पतालको स्थापना भएको थियो।
त्यो बेला भरतपुरमा ‘हेल्थ सेन्टर’ को स्थापना गरिनुको एउटै उद्देश्य थियो, औँलो उन्मुलन गरी बस्ती बसाल्नु।
राप्ती उपत्यका परियोजना अन्तर्गत औँलो उन्मुलनका लागि अमेरिकन सरकारको सहयोगमा उक्त सेन्टरको स्थापना भयो। हेल्थ सेन्टरको रुपमा सञ्चालन हुँदै आएकोमा सरकारले ‘महेन्द्र आदर्श चिकित्सालय’ को नामबाट सेवा दिन सुरु गर्यो। २०२० साल पुस १४ गते राजा महेन्द्र वीर बिक्रम शाहले २५ शय्याको अस्पतालको रुपमा यसको उद्घाटन गरेका थिए। हाल यो अस्पताल ६ सय शय्यामा सञ्चालित छ।
भरतपुर अस्पतालको आफ्नै जमिन ३१ विगाहा ११ कठ्ठा छ। तर अस्पतालले मात्र १२ विगाहा जमिन प्रयोग गर्न पाएको छ। बाँकी १९ विगाहा जमिन कलेज अफ मेडिकल साइन्सेज, आँखा अस्पताल, सिटिइभीटी, रेडक्रसको ब्लड बैंक र जनस्वास्थ्य कार्यालय चितवनले प्रयोग गरिरहेका छन्।
अस्पतालको आम्दानीको स्रोत मुख्यगरी सरकारको अनुदान हो। वार्षिक बजेट ५० देखि ५५ करोड हुन्छ। अस्पतालको मात्र आम्दानी वर्षेनी ४० करोड हुन्छ। जसमध्ये २० करोड कर्मचारीको तलब र भत्तामा खर्च हुन्छ।