काठमाडौँ- आउँदो मंसिर चार गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचितलाई लक्षित गरेर राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र विवेकशील साझा पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
घोषणापत्रमा दलहरूले स्वास्थ्यका विभिन्न विषय समेटेका छन्। स्वास्थ्य बिमा, नि:शुल्क उपचार, विशिष्टकृत अस्पताल लगायतका कुराहरु लगभग सबै दलको घोषणापत्रमा समावेश छ। तर आयुर्वेद चिकित्साको विषय भने केही सिमित दलहरुको घोषणापत्रमा मात्रै अटाएको छ। गत शनिबार सार्वजनिक भएको कांग्रेसको घोषणापत्रमा छुट्टै राष्ट्रिय आयुर्वेद अध्ययन प्रतिष्ठान स्थापना गरिने भनिएको छ। ‘नेपालमा पाइने जडिबुटी तथा औषधिजन्य पदार्थको संरक्षण र सदुपयोग गर्ने गरी स्वदेशमै औषधि उत्पादन विशेष योजना ल्याइने छ। आयुर्वेद चिकित्सा पद्दतिको प्रवर्द्धन र आयुर्वेद जनशक्ति विकासका लागि छुट्टै राष्ट्रिय आयुर्वेद अध्ययन प्रतिष्ठान स्थापना गरिने छ,’ घोषणापत्रमा भनिएको छ।
त्यस्तै,नेकपा माओवादीको गत सोमबार सार्वजनिक भएको घोषणापत्रमा आयुर्वेद चिकित्साको दुईवटा विषय समावेश भएका छन्। घोषणापत्रमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने र आयुर्वेदिक चिकित्सा पद्दतीलाई सर्वसुलभ बनाउने विषय छन्।
‘औषधी उत्पादनमा आत्मनिर्भर हुन आधुनिक औषधि उत्पादन कम्पनी तथा जडीबुटी प्रशोधन केन्द्रहरु स्थापना र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ। सरकारी औषधि उद्योग तथा जडीबुटी प्रशोधन केन्द्रहरुको पुनर्संरचना गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय औषधि उत्पादन हुने व्यवस्था गरिने छ। स्वास्थ्य उपचारमा एल्लोप्याथिक चिकित्साका साथै आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, आम्ची लगायतका सबै चिकित्सा पद्धतिलाई सर्वसुलभ बनाउन राज्यले विशेष सहयोग गर्नेछ,’ नेकपा माओवादीको घोषणापत्रमा उल्लेख गरिएको छ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि आफ्नो घोषणापत्रमा आयुर्वेदिक उपचार पद्दती आजको आवश्यकता भएको जनाएको छ। उक्त घोषणा पत्रमा ‘आयुर्वेदिक, एलोपैथिक, होमियोपैथिक, युनानी, अकुपन्चर, आम्ची, प्राकृतिक र परम्परागतस्वास्थ्य सेवालगायत वैकल्पिक उपचार पद्धतिलाई एकीकृत र समन्वयात्मक रूपमा सेवामा ल्याई उक्त सबै विधाहरूलाई संस्थागत गर्नु आजको आवश्यकता हो। नेपालमा पाइने जीवनबुटी लगायतका जडीबुटी तथा औषधिजन्य पदार्थको संवर्द्धन गरी औषधी उत्पादन गर्न जोड दिइने छ,’ भनिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ‘आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतिको विकास’ भनेर आफ्नो घोषणापत्रमा आयुर्वेद उपचारको विषय समावेश गरेको छ।
यी दलहरू बाहेक नेकपा एमाले, नेपाल समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र विवेकशील साझा पार्टीको घोषणापत्रमा आयुर्वेद चिकित्साको कुनै पनि विषय समेटिएको छैन।