काठमाडौं– सर्वोच्च अदालतले डा तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको उक्त आदेशपछि कार्कीको उम्मेदवारी कायम हुने भएको छ।
उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ। आयोगविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा दायर भएको रिटको पेशी मंगलबारलाई तोकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो।
कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिका नभएको सर्वोच्चको व्याख्या छ।
उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयबाट निवेदकलाई हुन सक्ने अपुरणीय क्षतिको स्थिति तथा सुविधाको सन्तुलनका हिसावले रिटको अन्तिम टुंगो नलागेसम्म निवेदक तोसिमाको उम्मेदवारी अयोग्य हुने गरी निर्वाचन आयोगको कात्तिक १२ गतेको निर्णय कार्यन्वयन नगर्न नगराउन आदेशमा भनिएको छ।
‘लाभको पदमा बहाल रहेको भन्न निजले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको वा नियमित जिम्मेवारीको पद भन्ने देखिन आउँदैन,’ आदेशमा भनिएको छ, ‘कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने अवस्थाको देखिन आउँछ।’