काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिरा केसी वीर अस्पतालमा भर्ना भएको ११ औँ दिनमा डिस्चार्ज भए। डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए। डेंगुले गलाएपछि उनलाई त्यसको भोलिपल्टै वीर अस्पतालको आइसीयूमा सारिएको थियो। हाल स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो।
राज्यमन्त्री केसीलाई डेंगुसँगै र्याब्डोमायोलाइसिस समस्या पनि देखिएको थियो। सामान्यतया डेंगु संक्रमणको साता दिनमै बिरामीलाई डिस्चार्ज गरिन्छ। तर राज्यमन्त्री केसीलाई र्याब्डोमायोलाइसिस समस्या पनि देखिएकाले अस्पतालको बसाई लम्बिएको वीर अस्पतालका मेडिसीन विभागीय प्रमुख डा अशेष ढुंगाना बताउँछन्।
‘उहाँलाई वीर अस्पताल ल्याउँदा प्लेट्लेटको कम हुने र बीपी घट्ने समस्या थियो। सामान्यतया डेंगुमा हुने समस्या यही नै हो।’ उनले भने, ‘तर उपचारको क्रममा उहाँलाई र्याब्डोमायोलाइसिसको समस्या देखियो।’
के हो र्याब्डोमायोलाइसिस?
र्याब्डोमायोलाइसिस भनेको मसल्स लाइसिस अर्थात् मांसपेशी टुुक्रिने समस्या हो। यो समस्या शरीरमा तीव्र संक्रमण हुँदा निम्तन सक्छ। कुनै पनि संक्रमणका कारण यो समस्या हुन सक्ने डा ढुंगाना बताउँछन्। डेंगु भएका बिरामीहरुमा र्याब्डोमायोलाइसिस को समस्या देखिने गरेको उनले बताए। यद्यपि यो समस्या अत्यन्तै न्यून मात्रा हुने गर्दछ।
र्याब्डोमायोलाइसिसलाई डा ढुंगाना यसरी स्पष्ट पार्छन्, ‘हाम्रो शरीरभरी मासंपेशीहरु हुन्छन्। ती मासंपेशीहरुमा केही कारणले लाइसिस अर्थात् त्यसको कोषहरु मर्न थाल्यो भने त्यसबाट विभिन्न किसिमका इन्जाइमहरु रगतमा रिलिज हुन्छ। ती इन्जामहरुले शरीरका विभिन्न भागमा समस्या ल्याउन सक्छ।’
स्वास्थ्य राज्य मन्त्री वीर अस्पताल भर्ना भएको दोस्रो दिनबाट शरीरमा इन्जाइमको मात्रा बढेको थियो। तर शरीरमा समस्या भने पुर्याइसकेको थिएन। समयमै समस्याको पहिचान भएकाले शरीरमा धेरै असर गर्न नपाएको उनले बताए।
‘सुरुको केही दिनमा धेरै नै बढेको थियो। तर हामीले समयमै निदान गरेकाले ठिक पनि भयो। शरीरमा इन्जाइमको मात्रा बढी भयो भने यसको उपचारका लागि निश्चित प्रोटोकलहरु छन्।’ उनले भने।
डा ढुंगानाका अनुसार ती प्रोटोकलहरु हुन्, शरीरमा पानीको मात्रा बढाएर पिसाब धेरै गराउने, जसले गर्दा ती इन्जाइमहरु पिसाब मार्फत शरीरबाट बाहिर निस्किन सकोस्। यो सँगै आवश्यक औषधि पनि चलाइएको थियो। यही समस्याका कारण राज्यमन्त्री केसीको अस्पताल बसाई लम्बिएको उनले बताए।
डेंगुमा समस्या देखिदै नदेखिने भन्ने हुँदैन। तर यो समस्या अन्त्य न्यून हुने गरेको उनले बताए। एक जना डेंगुका बिरामीलाई त र्याब्डोमायोलाइसिस समस्या भएका कारण डायलाइसिस समेत गर्नु परेको थियो।
र्याब्डोमायोलाइसिस विशेषगरी मासंपेशीसँग सम्बन्धित रोग भएका व्यक्तिलाई हुने गर्दछ। तर कुनै बेला शरीरमा तिव्र रुपमा फैलिएको संक्रमणका कारण पनि हुने गरेको उनले बताए। केमोथेरापी गराइरहेका क्यान्सरका बिरामी, अटोइम्युन डिजिज भएका बिरामीहरुलाई यो समस्या देखिन सक्छ। यो समस्याको समयमै पहिचान नसके मिर्गौलामा खराबी गर्न सक्ने उनले बताए।
‘यो मसल्स इन्जाइम मिर्गौलामा गएर बस्यो भने मिर्गौला फेल हुन सक्ने, खराबी गर्न सक्छ। त्यसको लागि बढी सजग हुनुपर्छ। शरीरमा पानीको मात्रा धेरै भयो भने मिर्गौला फिल्टर गरेर बाहिर फाल्न सक्छ।’ उनले भने।
स्वास्थ्य राज्यमन्त्री केसीको उपचारमा डा ढुंगाना सहित मेडिसीन युनिट टु का प्रमुख डा मीन चन्द्र अधिकारी, क्रिटिकल केयर र एनेस्थेसिया विभागबाट डा रवीराम श्रेष्ठ र डा शुभकल्याण श्रेष्ठ, नेफ्रोलोजीबाट डा अनिल बराल, कार्डियोलोजीबाट डा समीर पौडेल, अर्थोपेडिकबाट डा विनोद शेरचन र रेडियोलोजीबाट डा समीर शर्मा संलग्न थिए।
डिस्चार्ज हुँदै गर्दा स्वास्थ्य राज्यमन्त्री केसीले वीर अस्पतालको सेवा राम्रो लागेको प्रतिक्रिया दिएका छन्। वीर अस्पतालको सेवालाई अझ विस्तार गर्न सके विपन्न नागरिकलाई अझ सेवा लिन सहज हुने उनको भनाई थियो। साथै अस्पतालमा रहेका समस्याहरुलाई सम्बोधन गर्न सक्दो पहल गर्ने उनको प्रतिवद्धता छ।