काठमाडौं- प्रतिनिभिसभा सदस्यमा उम्मेदवारी दिएकी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको हो।
डा कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्।
प्रतिनिसिभा सदस्य ऐन २०७४ अनुसार डा कार्कीको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ। उक्त ऐनको दफा १३ (ख) मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन नपाउने उल्लेख छ।
तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकोले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा पाइएको उल्लेख गर्दै आएकी छन्। आयोगको निर्णयविरुद्ध डा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।
आफूले मेडिकल काउन्सिलको पद लाभको हुने नहुनेबारे स्पष्ट पार्न निवेदनसमेत लिएको तर निर्वाचन आयोगले जवाफ नदिएको उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
हेर्नुस् पत्र:
आयोगको विज्ञप्ति: