काठमाडौं- नेपाल मजदुर किसान पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ। घोषणपत्रमा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई पनि स्तरोन्नति गर्ने उल्लेख छ।
यस्तै स्वास्थ्यकर्मीहरूलाई सघन तालिम र अध्ययनपछि तत्काल आ–आफ्नो जिल्ला अस्पताल र दुर्गम स्थानमा खटाउने र आर्थिक सहुलियत एवम् स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ।
राजधानीका वीर अस्पताल र शिक्षण अस्पतालहरूलाई अन्तर्राष्ट्रियस्तरको अस्पतालमा परिणत गर्ने नेमकिपाको घोषणापत्रमा उल्लेख छ।
यस्ता छन् स्वास्थ्यसम्बन्धी थप विषय
'सरकारी अस्पतालका स्वास्थ्य उपकरणहरूलाई जानाजान बिगार्ने र निजी अस्पतालको दलाल बनेका कर्मचारीहरूलाई ऐन नियमअनुसार तत्काल कारबाही गराउने तथा सरकारले कारबाही गर्न ढिलाइ गरेमा जनतालाई आह्वान गरी जनस्तरबाटै कारबाही गराउने नयाँ नीति बनाउन प्रतिपक्षका दलहरूलाई समेत सङ्गठित गरिनेछ। त्यसैगरी, औषधि व्यवस्था विभागभित्रको जनविरोधी, भ्रष्टाचारी एवम् भन्सार कार्यालय प्रवृत्तिको विरोधका साथै दलगत र अन्य भेदभाव भएमा जनस्तरमै कारबाहीको लागि जनतासँग आह्वान गर्न र गराउनु आवश्यक छ।
प्रदेशहरूलाई पुँजीवादी पार्टीहरूले पालैपालो सरकारमा पुग्ने खेल बनाउनुभन्दा पनि सबैलाई पायक पर्ने ठाउँमा काठमाडौँ उपत्यकाको वीर अस्पताल र शिक्षण अस्पतालजस्तै अस्पतालहरू सञ्चालन र स्तरोन्नति गर्न सम्बन्धित संस्था, समूह एवम् विशेषज्ञहरूसँग छलफल तथा विचार विमर्श सुरु गर्ने काममा हाम्रा प्रतिनिधिहरूले तदारुकता देखाउनेछन्। यो काममा जनताको आन्दोलन, धर्ना, जुलुस र सभासहितको कारबाही अगाडि बढाइनेछ। डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूलाई सघन तालिम र अध्ययनपछि तत्काल आ–आफ्नो जिल्ला अस्पताल र दुर्गम स्थानमा खटाउने तथा सोअनुसार आर्थिक सहुलियत एवम् स्वास्थ्य सामग्री पनि उपलब्ध गराउन कडा नीति अवलम्बन गराउनु आवश्यक छ। गाउँगाउँका स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई पनि स्तरोन्नति गराउन तदारुकता दिनु जरुरी छ।
वर्षोदेखि अस्पताल कब्जा गरी बसेका भ्रष्ट कर्मचारीहरूलाई तत्काल कारबाही गर्ने र कामचोर तथा अयोग्य व्यक्तिहरूलाई तत्काल तालिम दिने, नमाने नसिहत दिने र व्यवहारमा परिवर्तन नआएमा तत्काल ऐन नियमअनुसार कारबाही गर्ने तथा जबरजस्ती गरेमा जनतालाई आह्वान गरी आन्दोलनको रूप दिई जनताको स्वास्थ्य सेवालाई सचारु गरिने नीति अपनाइनेछ।
माथिका नीतिले प्रदेश, जिल्ला र गाउँका जनताले धेरै दुःख पाई काठमाडौँ र विदेश धाएर उपचार गर्नुपर्ने स्थिति आउने छैन। ठूल्ठूला रोगको उपचारको निम्ति अस्पताल र डाक्टरहरूले विदेशमा पठाउन नपर्ने गरी जनताले आफ्नै देशमा उपचार पाउनेछन्। यसको निम्ति धेरै वर्षदेखि जनताको आँखा छली स्वास्थ्य मन्त्रालय र सरकारले भन्सारजस्तो भ्रष्टाचारको अखडा बनाउँदै आएको औषधि व्यवस्था विभागु लाई तत्काल भङ्ग गरी त्यसका अपराधीहरूलाई सजाय दिइनेछ र त्यसको वैकल्पिक व्यवस्था गरी गुणस्तरीय औषधि व्यवस्थापन गरिनेछ।'
पूर्णपाठ: