काठमाडौं- नेपाली कांग्रेसले स्वास्थ्य बिमाका कार्यक्रमहरुलाई एकीकृत गर्ने घोषणा गरेको छ। आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले सबै बिमा र स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बिमा मार्फत सञ्चालन गर्ने घोषणा गरेको हो।
कांग्रेसले स्वास्थ्य बिमाबाट प्रदान हुने उपचार खर्चको दायरा पनि बढाउने घोषणापत्रमा उल्लेख गरेको छ। स्वास्थ्य बिमा गरेका नागरिकले १० लाख रुपैयाँसम्मको उपचार पाउने घोषणापत्रमा उल्लेख छ। सरकारले हाल स्वास्थ्य बिमा गराए बापत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ।
'बिमा रकमको दायरा बढाई १० लाख पुर्याउने छ। आधारभूत बाहेकका सबै स्वासस्थ्य सेवा बिमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बिमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिनेछ।बिमा रकमको दायरा बढाई १० लाख पुर्याइने छ। आधारभूत बाहेकका सबै स्वासस्थ्य सेवा बिमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बिमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिनेछ,' घोषणापत्रमा भनिएको छ।
घोषणापत्र अनुसार अब अन्य क्षेत्रबाट चलेका स्वास्थ्य बिमाका कार्यक्रम र निशुल्क स्वास्थ्य कार्यक्रमहरु पनि बिमा मार्फत नै हुने छ।
घोषणापत्रमा अबको पाँच वर्षभित्र स्वास्थ्य बिमा अन्तर्गत सबै नागरिकलाई समेट्ने पनि उल्लेख छ।
पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा र बिमा मार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने घोषणापत्रमा उल्लेख छ।