काठमाडौं- 'नो नट अगेन' अभियानलाई डा गोविन्द केसीले साथ दिएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै केसीले निर्वाचन आयोगले नो नट अगेन अभियानलाई फौजदारी कानूनको दुरुपयोग गरी सजाय गर्ने मनसाय राखेको भन्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश नदगाउन आग्रहसमेत गरेका छन्।
'देशलाई कुशासनको दुष्चक्रमा फसाएका खलपात्रहरुलाई आगामि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको माध्यमबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नेपाली नागरिकको नैसर्गिक अधिकार हो।,' उनले विज्ञप्तिमा भनेका छन्, 'उक्त नैसर्गिक अधिकारको अभ्यास गरी नागरिक तहबाट स्वस्फूर्त रुपमा सामाजिक सञ्जालमा नो नट अगेन अभियान चलाएको देखिन्छ।'
आयोगले यही कार्तिक ८ गते जारी गरेको विज्ञप्ती प्रति केसीले खेद प्रकट गरेका छन्।
'आयोगले जारी गरेको विज्ञप्ती प्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौं। वर्तमान राष्ट्रिय राजनीतिलाई बर्षौदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताको लागि निर्वाचन आयोगका पदाधिकारीहरुले पदिय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ।' उनको विज्ञप्तिमा भनिएको छ।
साथै आत्मालोचनासहित उक्त विज्ञप्ती तत्काल फिर्ता नलिए अहिंसात्मक रुपमा अवज्ञा हुने उनले बताएका छन्।