काठमाडौं- ‘डाक्टर साप मैले गुलियो खानै नहुने हो?’ दसैँ तिहार आउने बित्तिकै यो प्रश्न लिएर डा सुनिल पोख्रेल कहाँ पुग्ने मधुमेहका बिरामीहरु धेरै हुन्छन्।
मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा पोख्रेलको जवाफ भने एउटै हुन्छ, ‘दसंै तिहार होस् या अन्य कुनै बेला गुलियो र चिल्लो खानै हुँदैन। समस्या झन् बढ्न सक्छ।’
मिठो र स्वादिलो खानेकुराले तिहार जस्तो चाडपर्वलाई रमाइलो बनाउँछ नै। माछा मासु, चिल्लो, गुलियो पिरो जिब्रोलाई लोभ्याउने र मन सन्तुष्ट पार्ने खानेकुराहरु हुन्। तर यस किसिमको खानेकुरा स्वास्थ्य निम्ति भने फाइदाजनक छैन।
खानपान र जीवनशैलीले प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह। मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलार नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ।
मधुमेहका बिरामीले कुनै पनि बेलामा गुलियो र चिल्ल्लो खाने कुरा खान नहुने बताउँछन्। सुगर फ्रि भएका मिठाई कहिले काँही एक वा दुई पिससम्म खान मिलेपनि सधै खान नमिल्ने उनले बताए।
‘मधुमेहका बिरामीले चिल्लो र गुलियो खाने कुरा खानै भएन। सुगर नियन्त्रणमा हुँदैन। सुगर फ्रि भएसम्म कहिले काँही खान मिल्छ। तर सधै होइन। मधुमेहका बिरामीलाई गुलियो खाने छुट छैन,’ उनले भने।
चाडपर्वमा आफ्नो नियमित तालिका बिगार्न नहुने उनले बताए। खानपानमा ध्यान नदिँदा नियन्त्रणमा रहेको रोग पनि बढ्न सक्ने भएकाले सचेत रहन उनको आग्रह छ। खानपानसँगै चाडपर्वको बेलामा नियमित व्यायाम गर्न पनि उनको सुझाव छ। हप्ताको पाँच दिन र कम्तीमा ३० देखि ४५ मिनेटसम्म व्यायाम गर्नुपर्छ।
त्यसो भए कसरी मिलाएर खान सकिन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘सकेसम्म कम चिल्लो भएको खाने। अझ सकिन्छ भने उमालेका खानेकुराहरु खाने। एक दुई पिस मासु बढी खाइएको छ भने तरकारीको मात्रा बढाउने, कुनै कुरा बढी खाइएको छ भने दिउँसो वा साँझको खाना केही कटौती गरेर व्यालेन्स गर्ने।’
चिकित्सकले हरेक मधुमेहका बिरामीलाई दैनिक गरिने खानपानको एउटा चार्ट बनाएर दिने गर्छ। सोही चार्ट अनुसार मात्र मधुमेहका बिरामीले आफ्नो खानपान गर्नुपर्छ। खसीको मासु, बंगुरको मासुमा चिल्लो बढी हुने भएकाले रातो मासु (खसी, राँगा, बंगुर) भन्दा सेतो मासु (माछा, कुखुरा) त्यो पनि मात्रा मिलाएर मात्र खानुपर्छ। मधुमेहका रोगीले एकै पटक भन्दा पनि मात्रा मिलाएर थोरै थोरै गरी दिनमा चार पाँच पटक खानेकुरा खाने गर्नुपर्छ।
शरीरमा चिनीको मात्रा धेरै र कम हुनु दुवै नै राम्रो होइन। चिनीको मात्रा नियन्त्रणमा नरहने यसले तत्कालीन र दीर्घकालीन असर गर्न सक्ने डा पोख्रेलले बताए।
‘मुख सुक्ने, शरीरमा पानीको मात्रा कम हुने, आँखाहरु धमिलो हुने, घाउँ निको नहुनु, विभिन्न संक्रमण हुनु मधुमेहले निम्त्याउने तत्कालीन असरहरु हुन्।’ उनले भने, ‘मधुमेह नियन्त्रणमा नरहे यसले दीर्घकालमा आँखा, मुटु, मिर्गौला र अन्य अंगहरुमा असर गर्छ।’
खानपानमा ध्यान नदिँदा चाडपर्वपछि शरीरमा चिनीको मात्रा बढेर आउने बिरामीको संख्या धेरै हुने गरेको उनले बताए। शरीरमा चिनीको मात्रा सामान्य र बढी भएको मापन गर्न सकिन्छ।
सामान्य – खाली पेट १०० एमजी/डीएल भन्दा कम, खानापछि १४० एमजी/डीएल भन्दा कम
मधुमेह रोग लागेको अवस्था – खाली पेट १२६ एमजी/डीएल भन्दा बढी, खानापछि २०० एमजी/डीएल भन्दा बढी
मधुमेह भएका बिरामीहरुमा भने चिनीको मात्रा खाली पेट परीक्षण गर्दा १३० भन्दा कम र खानापछि १८० भन्दा कम हुनुपर्छ।
पोषणविद् बिनिता पन्त बजारमा उपलब्ध मिठाईमा प्रयोग गर्ने चिल्लो, गुलियो र रंगप्रति उत्तिकै सचेत रहनुपर्ने बताउँछिन्। उनका अनुसार एक किलो मिठाईमा शून्य दशमलव शून्य पाँच मिलिग्राम प्राकृतिक रंग राख्न सकिन्छ। तर बजारमा पाइने मिठाईमा यो मात्रा मिलाएर हालिएको हुन नसक्ने उनल बताइन्।
बजारमा पाइने मिठाईमा भन्दा घरमा बनाइने मिठाई स्वास्थ्यका हिसाबले राम्रो भएको बताउँदै उनले भनिन्, ‘दूधको कुरौनीबाट खुवा, अर्सा, अनरसा, फिनी जस्ता पनि मिठाईका रुपमा प्रयोग गर्न सक्छौ।’
तर मधुमेहका बिरामीले भने गुलियो खान नहुने उनले बताइन्। नियमित परीक्षण गराइरहेका चिकित्सकसँग परामर्श गरेर मात्र खानेकुराहरु समावेश गर्न उनको सुझाव छ।