क्यान्सर मार्ने भाइरसः नयाँ उपचारविधिबाट केही बिरामीमा क्यान्सर निर्मूल, केहीमा कम
काठमाडाैं यूकेका वैज्ञानिकहरूले क्यान्सरको उपचार गर्न भाइरस प्रयोग गरेर मानव शरीरमा रहेका हानिकारक कोषलाई सङ्क्रमित पारी नष्ट गर्ने विधि निकै उपयोगी हुनसक्ने बताएका छन्। उनीहरूका अनुसार मानवमा गरिएका प्रारम्भिक परीक्षणहरूमा त्यस्तो सङ्केत देखिएको हो।
उक्त उपचारविधि प्रयोग गर्दा एक बिरामीको क्यान्सर पूर्णतः निर्मूल भयो भने अन्य केही बिरामीमा ट्यूमर सुकेको पाइयो।
कोल्ड सोर गराउने हर्पीज सिम्प्लेक्स भाइरस (एचसीभी) लाई दुर्बल बनाएर ट्यूमर मार्न औषधिका रूपमा प्रयोग गरिन्छ।
यसबारे अझ बृहत् र दीर्घकालीन अध्ययन आवश्यक छ। तर विज्ञहरूले यस किसिमको नयाँ खोपले जटिल खालको क्यान्सर भएका धेरै मानिसलाई नयाँ जीवन प्रदान गर्ने आशा व्यक्त गरेका छन्।
उनन्चालीस वर्षीय सिस्टोफ वोइकोव्स्की पश्चिम लन्डनमा बस्छन्। उनी इन्स्टिट्यूट अफ रिसर्च र द रोयल मार्स्डेन एनएचएस फाउन्डेशन ट्रस्टले सञ्चालन गरेको यो नवीन उपचारविधि परीक्षणको प्रारम्भिक चरणमा सहभागी भएका छन्।
सन् २०१७ मा उनको मुखमा थुक निस्किने ग्रन्थिमा क्यान्सर भएको पत्ता लागेको थियो। उनले समयमै शल्यक्रिया र अन्य उपचार गराएका थिए तर उनको क्यान्सर बढिरह्यो।
"मलाई उपचार गर्ने अरू विकल्प बाँकी नभएको र मैले अन्तिम अवस्थाको उपचार पाइरहेको बताइएको थियो। यो सबै निकै पीडादायी थियो। त्यतिबेला यस उपचारविधिमा सहभागी हुन पाउनु निकै अविश्वसनीय थियो।"
भाइरस प्रयोग गरिने यो उपचारविधि परीक्षणमा छोटो अवधिमै उनको क्यान्सर निर्मूल हुँदै गएको देखियो।
उक्त उपचारविधिमा परिमार्जित रूपमा हर्पीज सिम्प्लेक्स भाइरस प्रयोग गरिन्छ।
"मैले पाँच सातासम्म दुई-दुई साताको अन्तरालमा खोप लगाएँ। त्यसले मेरो क्यान्सर पूर्ण रूपमा निर्मूल बनायो। म अहिले क्यान्सरमुक्त भएको दुई वर्ष भयो।"
ट्यूमरमा सोझै दिइने यस खोपले क्यान्सरका कोषहरूलाई दुई तरिकाले आक्रमण गर्छ। पहिलो- क्यान्सरयुक्त कोषहरूलाई आक्रमण गरेर तिनलाई नष्ट पार्ने। दोस्रो, मानव प्रतिरक्षा प्रणालीलाई अझै सबल बनाउने।
परीक्षणस्वरूप झन्डै ४० बिरामी यस उपचारविधिमा सहभागी भएका थिए। केहीलाई आरपीटू भनिने भाइरसमिश्रित खोप दिइएको छ भने अरूलाई निभोल्यूम्याब भनिने अर्को औषधि दिइएको थियो।
फ्रान्सको प्यारिसस्थित एउटा चिकित्सकीय सम्मेलनमा उक्त परीक्षणका परिणामहरू सार्वजनिक गरिएका थिए।
नौमध्ये तीन जनालाई आरपीटू मात्र दिइएको थियो। त्यसमा सिस्टोफ वोइकोव्स्की पनि सहभागी थिए। उनीहरूमा क्यान्सरको कोष खुम्चिएको पाइयो
३० बिरामीमध्ये सात जनाको दुवै किसिमले उपचार गरिएको थियो। उनीहरूमा पनि सुधार देखियो
उपचार गराएका बिरामीमा थकानजस्ता दुष्प्रभावहरू मध्यम खालका थिए
प्रमुख अनुसन्धानकर्ता प्राध्यापक केभिन ह्यारिङ्टनले बीबीसीलाई यो उपचारविधिका परिणामहरू "वास्तवमै चामत्कारिक" भएको बताए।
यस किसिमको उपचारविधि भोजननलीको क्यान्सरजस्तो जटिल समस्यामा तथा एउटा दुर्लभ किसिमको आँखाको क्यान्सरमा पनि प्रभावकारी रहेको देखियो।
"प्रारम्भिक चिकित्सकीय परीक्षणमा पनि यति राम्रो नतिजा देखिनु साँच्चै दुर्लभ कुरा हो। यो उपचारविधिको प्रमुख उद्देश्य उपचारको सुरक्षा सुनिश्चित गर्नु हो।"
"यो विशेषतः ती बिरामीहरूलाई लक्षित छ जसमा अहिले विद्यमान उपचारविधिले काम गर्न छोडेको छ," उनले भने।
"यदि अन्य धेरै बिरामीको हकमा परीक्षण बढाउँदै लगेको खण्डमा नतिजाहरू लाभदायक हुन्छन् कि भन्ने जान्न म उत्सुक छु।"
पहिला पनि भाइरसको प्रयोग
वैज्ञानिकहरूले क्यान्सरविरुद्ध भाइरसको प्रयोग गरेको यो पहिलो पटक भने होइन।
यसअघि एनएचएसले जटिल छालाको क्यान्सरको उपचार गर्न रुघा लगाउने भाइरसमा आधारित टी-भेक नामक उपचारविधि अनुमोदन गरेको थियो।
प्राध्यापक ह्यारिङ्टनले आरपीटूलाई टी-भेककै परिमार्जित संस्करणको सङ्ज्ञा दिएका छन्।
"यो खोपमा त्यस्ता केही महत्त्वपूर्ण परिमार्जनहरू गरिएका छन् जसले क्यान्सरका कोषलाई प्रभावकारी रूपले निर्मूल पार्नुका साथै व्यक्तिको मृत्यु हुने सम्भावनालाई न्यून बनाउँछ।"
क्यान्सर रिसर्च यूकेकी डा. मरियान बेकरले यस किसिमको उत्साहजनक परिणामले क्यान्सरमा प्रयोग हुने उपचारविधिको बाटो नै फेरिदिने आशा व्यक्त गरिन्।
"वैज्ञानिकहरूले भाइरस प्रयोग गरेर क्यान्सरका कोशिकाहरूको उपचार गर्न सम्भव छ भनेर १०० वर्षअघि नै पत्ता लगाएका थिए। तर सुरक्षित र प्रभावकारी ढङ्गमा प्रयोग गर्नु चुनौतीपूर्ण थियो," उनले भनिन्।
"यो नयाँ प्रकारको उपचारविधि बिरामीहरूको सानो समूहमा प्रयोग गर्दा पनि आशावादी हुने ठाउँ देखिएको छ। यद्यपि हामीले यसको प्रभावकारिताबारे थाहा पाउन अझै बृहत् अध्ययन गर्नु छ।"
"अनुसन्धानले सुझाएअनुसार विभिन्न किसिमका उपचारहरूको मिश्रित प्रयोग गरिनु शक्तिशाली रणनीति हो। अहिले प्रयोग गरे जस्तै भाइरस उपचार पद्धतिहरू क्यान्सर पराजित गर्न हाम्रा लागि महत्त्वपूर्ण अस्त्र बन्न सक्छन्।" (बीबीसीका डिजिटल स्वास्थ्य सम्पादक मिशेल रोबर्ट्सको रिपोर्ट)