काठमाडौं- भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेललाई सबैभन्दा रमाइलो लाग्ने चाड हो, तिहार।
चारै तिरको झिलिमिली अनि देउसी भैलो देख्दा उनलाई खुशी लाग्छ। उमेरले ५० वर्ष पुगेपनि बालापनको रमाइलोपन उनलाई असाध्यै प्यारो लाग्छ। डा पौडेल चितवनको टाँडीमा जन्मिएर हुर्किएका हुन्।
उनी विद्यालय पढ्दासम्म टाँडीमा बिजुलीको सुविधा पुगीसकेको थिएन। टुकी बाल्नुपर्ने बाध्यता थियो। चार कक्षासम्म उनले टुकी बालेर नै पढ्ने गर्थे। तर वर्षको एक पटक भने टाँडी बजार उज्यालो अनि झिलिमिली हुन्थ्यो। टाँडी बजारको झिलिमिली उनको घरको छतबाट देखिन्थ्यो। टुकीको धिपधिपे उज्यालो भएको आफ्नो घरबाट बजारमा झिलिमिली देख्दा उनी अचम्ति हुन्थे।
उनी भन्छन्, ‘चार कक्षामा पढ्दा घरको छतबाट हेर्दा टाँडी बजार झलमल्ल देखिन्थ्यो। २०३९ सालमा टाँडीमा बिजुली आएको हो। त्यो बेलासम्म हामी टुकीमा पढ्थ्यौं। ओहो पछि बिजुली आयो भने त सधैं यस्तो उज्यालो हुन्छ है भन्ने लाग्थ्यो।’
उनलाई दसैँ तिहारको मौसम असाध्यै राम्रो लाग्छ। तिहारमा साथीभाइसँग मिलेर देउसी भैलो खेल्थे। घरबाट रातभरी खेल्ने अनुमति नभएपनि गाउँ गाउँ पुगेर मध्यरातसम्म देउसी भैलो उनले खेले।
‘रातभरी त देउसी भैलो खेलिएन। घरबाट गाली गर्नु हुन्थ्यो। तर रातको १ बजेसम्म भने देउसी भैली खेलिन्थ्यो।’ उनले भने।
हाल देउसी भैलोको संस्कार र मौलिकता हराउँदै गएको उनी बताउँछन्। तिहारको आफ्नै मौलिकता पनि हराउँदै गएको हो की भन्ने उनलाई लाग्छ।
जिम्मेवारी र उमेरसँगै तिहारको रौनकता पनि कम हुँदै जाने गरेको उनको अनुभव छ।
उनले भने, ‘कार्यालय प्रमुख भइसकेपछि आफैँ खटिनुपर्ने हुँदैन। तर सबै ड्युटी मिलाउने, सेवालाई व्यवस्थित गर्ने जिम्मेवारी भने रहन्छ।’
घर नजिकै भएकाले पनि दसैँ तिहारमा बिदा नै बसेको उनलाई याद छैन। उनी तिहारको दिन पनि बिदा बस्दैनन्। दिनको तीन चार पटक अस्पताल गइरहन्छन्।
भरतपुर अस्पतालको सेवा विस्तार हुँदै गइरहेकाले सोही अनुसार बिरामीको चाप पनि बढीरहेको उनी बताउँछन्। भरतपुर अस्पतालमा व्यवस्थापन तर्फ मेडिकल सुपरिटेण्डेन्ट मात्र पद रहेकाले जिम्मेवारी बाँडफाँड गर्न समेत समस्या हुने गरेको उनले बताए।
तिहारमा ओपिडी बाहेक अन्य सेवाहरु सञ्चालनमा रहने उनले बताए। इमरजेन्सी सेवा १२ शय्याबाट ३५ शय्यामा विस्तार गरिएकाले ड्युटी पनि सोही अनुसारले मिलाइएको उनले बताए।
यस वर्षको तिहार अस्पतालको कामसँगै परिवारसँग रमाइलो गरेर मनाउने उनको योजना छ।
‘मेरो बच्चा बच्चीलाई समय दिने, घुमाउने योजना छ। अरु बेला समय नै हुँदैन। बिहान निस्कियो घर पुग्ने बेला रात परिसक्छ। यो बिदामा परिवारलाई समय दिने नै मेरो उद्देश्य हो’ उनले भने।