काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि घोषणापत्र ल्याएको हो।
घोषणापत्रमा तलबी महिलालाई ६ महिलना सुतकेरी बिदा उपलब्ध गराइने उल्लेख छ। 'तलबी महिलाको सुत्केरी बिदा दुई सन्तानसम्मका लागि ६ महिनाको बनाइने छ।' घोषणापत्रमा भनिएको छ।
यस्तै पाँच वर्षभित्र सबैलाई स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने उल्लेख छ। गर्भवती महिलालाई निःशुल्क नर्सिङ्ग सेवा र सुत्केरी सेवा दिइने, गरीब किसान तथा मजदुर क्षेत्रका महिलालाई सुत्केरी हुँदा पोषण भत्ता दिने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।
यसैगरी घोषणापत्रमा शिशु स्याहार केन्द्रहरूको थप बिस्तार गरिने, राजमार्ग र रणनीतिक महत्वका स्थानमा ट्रमा सेन्टर स्थापना गरिने, आकस्मिक उपचारको लागि हवाई एम्बुलेन्स र हेलिकप्टर एम्बुलेन्सको व्यवस्था गरिने,असाध्य रोगहरूको उपचारका लागि सरकारले दिँदै आएको सहयोग र निःशुल्क औषधि वितरण व्यवस्थालाई पुनरावलोकन गरी प्रभावकारी तुल्याइने उल्लेख छ।
महिलाका रोगहरुको निशुल्क उपचार हुने पनि घोाणापत्रमा उल्लेख छ। 'महिला विशेषका रोगहरू स्तन क्यान्सर, पाठेघर खस्ने, पिसाब चुहिने लगायतका समस्याको निःशुल्क उपचार गरिनेछ। हरेक प्रदेशहरूमा सरकारी स्तरबाट १००० शय्याको अस्पताल सहितको मेडिकल कलेज स्थापना गरिने छ।'घोषणापत्रमा भनिएको छ।
हरेक गाउँपालिकामा प्राथमिक अस्पताल स्थापना गर्ने र जिल्लास्तरीय अस्पतालहरूको स्तरोन्नति गरी सुविधा सम्पन्न तुल्याइने, हरेक अस्पतालमा एम्बुलेन्स, फार्मेसी, ल्याब, एक्सरे, बर्थिङ सेन्टर लगायतका सुविधा २४ सै घण्टा उपलब्ध हुने व्यवस्था गरिने, कर्णाली लगायत विकट र दुर्गम क्षेत्रमा समयमा अस्पताल पुग्न नसकेर ज्यान गुमाइ रहनु परेको तथ्यलाई मध्यनजर राख्दै महिला र आपतकालीन विरामीहरूको ओसारपसार गर्नका लागि तत्काल ५ वटा हेलिकप्टरको व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख छ। साथै कोभिड, डेंगु जस्ता रोगहरूको नियन्त्रण र उपचारका लागि अस्पतालहरूमा आवश्यक भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिइने उल्लेख छ।
घोषणापत्र :