काठमाडौं- धादिङका ३२ वर्षीया एक महिला मिर्गौला प्रत्यारोपणका लागि असोज २५ गते वीर अस्पताल पुगिन्। ती महिलालाई ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो।
वीर अस्पतालका मिर्गौला प्रत्यारोपण फिजिसियन डा अनिल बरालले ती बिरामीको सबै स्वास्थ्य अवस्था हेरे। परीक्षणका लागि गरिएको जाँचका रिपोर्टहरु सामान्य आएपछि चिकित्सकहरु प्रत्यारोपणका लागि तयार भए। युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन डा अनिल श्रेष्ठ, डा पारसमणी श्रेष्ठ सहितको टोलीले कात्तिक १ गते मिर्गौला प्रत्यारोपण गर्ने निधो पनि गरे।
तर मिर्गौला प्रत्यारोपण हुन सकेन। डा श्रेष्ठका अनुसार परीक्षणका क्रममा सामान्य देखिएको मिर्गौला प्रत्यारोपणका लागि निकाल्दा समस्या देखियो।
बिरामीलाई प्रत्यारोपण गर्न निकालिएको मिर्गौला प्रत्यारोपण नभएपछि हाल वीर अस्पतालमा तनाव उत्पन्न भएको छ। बिरामीका आफन्तले उपचारका क्रममा त्रुटी भएको भन्दै विरोध गरेका छन्। आफन्तले उपचार प्रक्रियाका विषयमा प्रश्न उठाउँदै छानबिनको माग गरेपछि अस्पतालले छानबिन समिति बनाएको छ।
मिर्गौला प्रत्यारोपणका विषयमा बिरामी पक्ष र उपचारमा संलग्न चिकित्सकहरुसँग स्वास्थ्यखबरले कुराकानी गरेको छ। बिरामी पक्षले उपचार प्रक्रियाका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने, छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने, बिरामीको उपचार निशुल्क गर्नुपर्ने र क्षतिपूर्तीको माग गरेका छन्।
उपचारमा संलग्न चिकित्सकहरुले मिर्गौला प्रत्यारोपणका क्रममा गरिएका सबै प्रक्रियाहरुका विषयमा विस्तृतमा जानकारी दिएका छन्।
उपचार प्रक्रिया र त्यसक्रममा भएका विषयमा स्वास्थ्यखबरले डा अनिल बराल र डा अनिल श्रेष्ठसँग बुझेको छ। डा बराल र डा श्रेष्ठले दिएको जानकारी उनीहरुकै शब्दमाः
डा अनिल बराल, मिर्गौला प्रत्यारोपण फिजिसियन
म शल्यक्रिया गर्ने सर्जिकल डाक्टर होइन। मिर्गौला रोग विशेषज्ञ (फिजिसियन) हुँ। सर्जन नभए पनि बिरामी हाम्रो विभाग अन्तर्गतको हुनुहुन्छ। मिर्गौला फेल भएर डायलाइसिस गरिरहेका बिरामीहरु हामी हेर्छौं। उहाँहरुलाई प्रत्यारोपणका लागि मूल्यांकन गर्ने, जाँच गर्ने कामहरु हामीबाट सुरु हुन्छ। संभावित दाताको पहिचान भइसकेपछि दाता र प्राप्त गर्ने बिरामीको हरेक पक्षहरु जाँच गरिन्छ। सबैभन्दा प्रमुख गरी तीन वटा कुराहरु हेरिन्छ।
एक, दाताको दुई वटा मिर्गौलामध्ये एउटा झिक्न योग्य छ/छैन।
दोस्रो, झिकिसकेको मिर्गौला बिरामीलाई लगेर जोडिसकेपछि तत्काल काम गर्ने/नगर्ने संभावना हुन्छ/हुँदैन।
तेस्रो, मिर्गौला दिने दातालाई कुनै हानी हुन्छ/हुँदैन।
फिजिसियनको पाटोबाट विशेषगरी हामीले रिजेक्सनको पाटो हेर्छौं। रिजेक्सनको पाटो भन्नाले भोलि मिर्गौला जोडिसकेपछि ती मिर्गौलाले काम गर्ने/नगर्ने, ती मिर्गौलालाई शरीरले आक्रमण गर्ने/नगर्ने यस्ता संभावनाहरु केलाइन्छ। र, दाताबाट मिर्गौला झिक्नको लागि त्यसको नशाहरु कस्ता छन् भनेर पनि हेरिन्छ। रगत लैजाने, ल्याउने, पिसाब जम्मा गर्ने नलीहरु कस्ता छन् त्यो हेर्नका लागि सिटी स्क्यान, सिटी एन्जियो गरिन्छ। त्यसपछि दुवै मिर्गौलाहरुले बराबर काम गर्छन्/गर्दैनन् भनेर हेर्न अति नै महत्वपूर्ण छ। किनभने यो नहेरिकन मिर्गौला झिक्न मिल्दैन।
यो पछि मुटुको परीक्षण, छाति, रगत, सुगर, प्रेसर लगायत सबै हेरिन्छ। यी सबै हेरिसकेपछि हामीले सिटी स्क्यानको रिपोर्ट विशेष गरेर सर्जिकल टिमलाई दिन्छौं। किनभने मिर्गौला झिक्ने र जोड्ने काम शल्यचिकित्सकले गर्नु हुन्छ। वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त चिकित्सकहरु हुनुहुन्छ।
मिर्गौला प्रत्यारोपण गर्नुअघि यी दुई विभागको समग्र बैठक बस्छौं। एनेस्थेसिया, रेडियोलोजी र आवश्यक परे प्रशासनको अधिकारीलाई पनि बोलाएर बैठक बस्ने गर्छौं। बिरामी र दाताको सबै मिलेपछि बैठकले प्रत्यारोपण गर्ने निर्णय गर्छ। यो पटकको बिरामीमा भने सिटी स्क्यानको रिपोर्टमा देब्रे मिर्गौलाको नशाहरु सामान्य भएको र झिक्न मिल्ने रिपोर्ट आयो। र, देब्रे मिर्गौलाले ४८ र दाहिने मिर्गौलाले ५२ प्रतिशत काम गर्ने देखाएपछि हामीले देब्रे मिर्गौला झिक्ने तय गर्र्यांै।
हामीले सोचेको भन्दा एक/दुई वटा नशाहरु बढी हो की भन्ने शंका लागेर फेरि पनि रेडियोलोजी विभागसँग बैठक पनि गर्यौं। निज बिरामीको सिटी एन्जियो त्रिवि शिक्षण अस्पतालमा गरिएको हो। त्रिवि शिक्षण अस्पतालको रेडियोलोजिस्टले हस्ताक्षर गरेर दिनु भएको रिपोर्ट हो। त्यसको आधारमा हामीले वीर अस्पतालका रेजियोलोजिस्टसँग छलफल गर्दा पनि नशाहरु राम्रै देखियो। तर नशा अलिकति फुलिएको जस्तो देखिएको भएर नशा ड्रेन हुने ठाउँमा माथि छातिमा पनि केही खराबी पो हो की भनेर छातिको पनि सिटि स्क्यान गरेर हेरेका थियौं। त्यसमा पनि ठूलो खराबी भन्ने देखिएन। कुनै खराबी नदेखिएपछि सबै रिपोर्ट ठिकै छ भनेर मिर्गौला प्रत्यारोपणका लागि बिरामीलाई अपरेशन थिएटरमा लगेका थियौं।
प्रत्यारोपणका लागि निकालिएको मिर्गौलामा यो समस्या छ भनेर कुनै पनि संकेत देखिएको थिएन। मिर्गौला काम नलाग्ने हुन सक्छ भनेर थाहा भएर हामीले मिर्गौला निकालेका होइनौ। अरु ठाउँमा थाहा छैन। तर वीर अस्पतालमा यो किसिमको घटना भने पहिलो पटक अनुभव गरेको छु।
दुवै जना स्वस्थ नै हुनु हुन्छ। हामीले पनि बिरामीलाई जोगाउँछौ भनेर नै लागेकै हौँ। प्रि अपरेटिभ रिपोर्टले धोका दियो की थाहा छैन। त्रिवि शिक्षण अस्पतालको स्ट्यान्र्ड एन्जियोको रिपोर्ट हो। यहाँ पनि दोहोर्याएर परीक्षण गरेकै हो। हाम्रो लागि पनि यो अप्रत्याशित र दुर्भाग्यपूर्ण घटना हो। हाम्रो लागि पनि यो घटना मुटु कमाउने खालको भइसक्यो। बिरामीहरुको धेरै प्रश्न छन्। तर कतिपय प्रश्नको जवाफ हामीसँग पनि छैन। हामी आफैँ पनि यसमा छानबिन होस् र सत्यतथ्य कुरा बाहिर आओस् भन्ने चाहन्छौं। छानबिनका लागि अस्पतालले पनि कमिटि गठन गरेको छ।
डा अनिल श्रेष्ठ, युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन
धादिङको यो बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने उपचारमा डा पारसमणी श्रेष्ठ, म र हाम्रो टिम सहभागी थियो। मिर्गौला प्रत्यारोपण गर्दा गर्नुपर्ने सबै किसिमको मापदण्ड अनुसारको जाँच ठिक छ भनेपछि ती बिरामीको प्रत्यारोपण गर्ने तय गरेका हौँ। तर अहिले नशाको समस्या देखियो। तर त्यो नशाको समस्या अपरेशन अघि देखिएको थिएन। नशामा कुनै समस्या छ/छैन, नशा कति वटा छ, कति जटिल छ भनेर गरिने जाँचलाई रेनल एन्जियो भनिन्छ। त्यो रेनल एन्जियोको आधारमा हामीले नशाको जटिलता छ/छैन, गर्न सकिन्छ/सकिँदैन लगायत समस्या पत्ता लाग्छ।
त्रिवि शिक्षण अस्पतालबाट यो बिरामीले रेनल एन्जियो गरेर आउनु भएको थियो। रेनल एन्जियो सामान्य भएकाले नै हामीले मिर्गौला प्रत्यारोपणको योजना बनाएका हौँ। मिर्गौला झिक्दा पनि कुनै समस्या देखिएको थिएन। सामान्य नै थियो। तर मिर्गौला झिकेर आइस (बरफ) मा राखेर बिरामीको शरीरमा राख्नु अगाडि बेन्च डिसेक्सन गर्ने बेलामा समस्या देखियो।
यो भनेको दाताको मिर्गौला भित्रको रगत फ्लस गर्न हामीले नरमल स्लाइन राख्छौं। ती सबै फ्लस भएर भेनबाट पानी बाहिर निस्किएको हामीले देख्नुपर्छ। तर त्यस्तो गर्ने क्रममा पानी भित्र छिर्यो तर बाहिर निस्केन।
प्रत्यारोपण गर्न तयार बनाएर राखिएको मिर्गौलामा सबै सामान्य थियो। तर एउटा मात्र खराबी भनेको आर्टरीबाट फ्लस गर्न राखेको पानी भेनबाट निस्किएन। त्यसपछि हामीे भेन हेर्न थाल्यौ। भेन टिस्युले जाम भएको जस्तो देख्यौँ। त्यसपछि हामीले भित्र ठिकै छ की भनेर डिसेक्ट गर्यौं। तर त्यो नभएपनि हामीले नशा सम्बन्धी चिकित्सक डा किरण श्रेष्ठसँग सहयोग माग्यौं। उहाँले पनि प्रयास गर्नुभयो तर भेन खुलेको देखिएन।
यस किसिमको मिर्गौला शरीरमा राख्दा रगत भित्र जान्छ तर बाहिर आउन नपाएर मिर्गौला फुलेर फुट्ने डर हुन्छ। मिर्गौला लिने बिरामीलाई ज्यानको खतरा हुन्छ। बिरामीलाई खतरा हुने देखेपछि हामीले डा अनिल बराल र अस्पताल निर्देशकलाई खबर गर्यौं। यो घटना हामी सबैको लागि झट्का दिने खालको थियो।
दाताबाट निकाएको उक्त मिर्गौला योग्य नभएको र बिरामीलाई राख्दा ज्यान जोखिममा हुने भएकाले हामीले मिर्गौला प्रत्यारोपण नगर्ने निधो गर्यौँ। हामीले बिरामीलाई यो विषयमा जानकारी गराएर सम्झायौँ। बिरामीहरु दुवै जना सकुशल नै हुनुहुन्छ। तर यो भेनमा के समस्या हो भनेर पत्ता लगाउन हामीले मिर्गौलाको बायोप्सी गर्ने निर्णय गर्यौं।
के कारणले भेन बन्द भएको हो भन्ने कुरा बायोप्सी मार्फत मात्र पत्ता लगाउन सकिन्छ। त्यसैले प्याथोलोजीमा धेरै अनुभवी प्राडा गिता सायमीसँग सल्लाह गर्यौं। हामीले सोही दिन नै बायोप्सीको लागि पठायौँ। हामीले बायोप्सीको लागि ह्याम्स अस्पताल पठाउँदा उहाँहरुले मिर्गौला प्रत्यारोपणको बायोप्सी हुँदैनौ भन्नुभयो। त्यसपछि हामीले एक ल्याबमा पठाएका छौँ। बायोप्सीको रिपोर्ट आउन ५/७ दिन लाग्छ। बायोप्सीको रिपोर्ट आएपछि समस्या कसरी भयो भन्ने थाहा हुन्छ।