काठमाडौं - सिन्धुपाल्चोकका भोजराज श्रेष्ठ अस्पताल जानुपर्यो भने पानी नखाई जान्छन्। पानी खाए पिसाब लाग्छ। पिसाब लागे शौचालय जानुपर्छ। तर सरकारी अस्पतालको कुनै पनि शौचालयमा उनी जान सक्दैनन्। अस्पतालमा पिसाब लाग्दा उनलाई ठूलै आपत पर्छ। उनी ह्विलचियर प्रयोगकर्ता हुन्। उनको दुवै खुट्टाले काम गर्दैन।
‘हामी अस्पताल अनि बाहिर जाँदा पानी नै खाँदैनौ’ उनले भने, ‘पानी खायौँ भने ट्वाइलेट जानुपर्छ। ट्वाइलेटमा मेरो ह्विलचियर नै जाँदैन।’
अस्पतालको शौचालयमा ह्विलचियर नपस्दा बसेको ठाउँमै पिसाब चुहिएको नमीठा अनुभव उनीसँग छ। काठमाडौंकै एक निजी अस्पतालमा उनी उपचारका लागि पुगे। तर अस्पतालको शौचालयमा उनको ह्विलचियर पसेन। बल्ल तल्ल ह्विलचियर शौचालयभित्र पस्यो। तर गुड्न सकेन। घण्टौ देखि थामिएको पिसाबलाई उनले रोक्न सकेनन्।
त्यो नमीठो अनुभव उनले हामीलाई सुनाए, ‘म उपचार गर्न बागबजारको काठमाडौं मोडल अस्पतालमा गएको थिएँ। त्यहाँ मेरो ह्विलचियर पसेन। बल्ल–बल्ल धकेल्दै भित्र त पस्यो तर खुड्किलो जस्तो खालको भएर गुडेन। मलाई एकदमै गाह्रो भइसकेको थिए। त्यही भएर मैले बाध्य भएर त्यही नै पिसाब फेरे।’
बिरामी भएर जाँदा मात्र नभई आफन्तलाई भेट्न पुग्दा पनि उनी दुई पटक सोचेर मात्र अस्पताल जान्छन्। वीर अस्पतालमा अपाङ्गताका लागि भनेर शौचालय भएपनि ताला लगाएर राखिएको उनले बताए।
अस्पताल मात्र नभई कुनै पनि सरकारी कार्यालयमा अपाङ्गमैत्री शौचालय नभएको उनी गुनासो गर्छन्। अपाङ्गता भएका व्यक्तिका लागि कुनै पनि सरकारी अस्पतालले छुट्टै शौचालय निर्माण नगरेको उनले बताए।
उनी भन्छन्, ‘कुनै अस्पतालमा अपाङ्गमैत्री शौचालय हुन्छ। तर ताला लगाएर राख्छन्। अनि त्यहाँ लगाएको ताला खोज्न हामी कहाँ जाने ? बिरामी भएर अनि आफन्त भेट्न अस्पताल जाँदा शौचालयको धेरै समस्या पर्छ।’
शौचालय प्रयोग गर्नका लागि घर नै पुग्नुपर्ने बाध्यता रहेको उनले सुनाए। उनी स्वयं स्वावलम्ब जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष हुन्। अपाङ्गमैत्री शौचालय निर्माणका लागि पटक/पटक आवाज उठाएपनि सुनुवाई नभएको उनी बताउँछन्।
पैसा तिरेर निजीमा जान बाध्य छु
काठमाडौंकी टीका दाहाललाई सरकारी अस्पताल जान निकै झन्झटिलो लाग्छ। अरुको लागि सरकारी अस्पतालमा सेवा लिन सहज होला। तर उनको लागि यो निकै अप्ठ्यारो काम हो। पोलियोका कारण उनको एउटा खुट्टामा राम्रोसँग चल्दैन। लामो लाइन, बाक्लो भीड त छदैछ। अपाङ्गमैत्री शौचालय नहुँदा उनलाई निकै समस्या पर्छ।
झन्झटिलो प्रक्रिया र अपाङ्गमैत्री शौचालय नहुँदा उनी पैसा तिरेर निजी अस्पतालमा सेवा लिन बाध्य छिन्।
भन्छिन्, ‘म प्राय सरकारी अस्पतालमा जाँदिन। मलाई धेरै समस्या हुन्छ। सेवा लिन लाइनमा बस्नुपर्छ। शौचालयको व्यवस्था छैन। त्यसैले पैसा तिरेर भएपनि म निजीमा जान बाध्य छु।’
अस्पताल प्रवेश गरेदेखि नै सेवा लिन निकै सकसपूर्ण हुने गरेको उनले बताइन्। अस्पतालमा कम्बोड छैन। र्याम्प छैन। छ त मात्र पुराना भौतिक संरचना।
अपाङ्गमैत्री शौचालयको व्यवस्था ऐनमा भएपनि व्यवहारमा कतै कार्यान्वयन भएको उनी बताउँछिन्। नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष समेत रहेकी उनी अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको लागि लडिरहेकी छिन्। अपाङ्गमैत्री संरचनाको लागि कयौँ पटक आवाज उठाएपनि कतैबाट सुनुवाई हुन नसकेको उनको गुनासो छ।
‘सरकारी अस्पतालको शौचालय फोहोर र दूर्गन्धित त छ नै अपाङ्गमैत्री छैन। हामीलाई अस्पताल प्रवेशदेखि नै समस्या छ,’ उनी भन्छिन्, ‘सुन्दा सामान्य जस्तो लाग्छ तर यो हाम्रो लागि यो धेरै ठूलो समस्या हो। सेवा लिन जाँदा दिसा पिसाब लाग्यो भने जान सकिने सहज अवस्था छैन। आवाज त उठाइरहेका छौँ। तर कसैले पनि सुन्दैनन्।’
काठमाडौंका अधिकांश अस्पतालको शौचालय पसी नसक्नु छ। ह्वास्सै गन्हाउने गन्ध, साबुन पानीको अभाव, ढाको चुकुल नहुनु सरकारी अस्पतालको शौचालयको पहिचान नै भइसक्यो।
कुनै पनि संक्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा सफा र व्यवस्थित हुनुपर्दछ। तर उपत्यकाको सरकारी अस्पतालहरुको सबै शौचालयहरु पूर्ण रुपमा सफा छैनन्। यो सँगै सरकारी अस्पतालको शौचालयहरु अपाङ्गमैत्री हुनुपर्दछ।
हामी कान्ति, वीर, पाटन, त्रिवि शिक्षण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको शौचालयको फिल्ड रिर्पोटिङका लागि पुगेका थियौ। यीमध्ये कुनै पनि अस्पतालहरुको शौचालय अपाङ्गमैत्री देखिएन। काठमाडौंका ठूला भनिएका सरकारी अस्पतालमा रहेका शौचालयहरु कुनै पनि अपाङ्गमैत्री छैनन्।
ऐनमा मात्र छ अपाङ्गमैत्री शौचालय
नेपालको संविधानले कुनै पनि नागरिकलाई उसको शारीरिक अवस्था र अपाङ्गताको आधारमा भेदभाव गरिने छैन भन्ने उल्लेख गरेको छ। प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। तर संविधानले सुनिश्चित गरेका यी व्यवस्थालाई उनीहरुले व्यवहारमा अनुभव समेत गर्न पाएका छैनन्।
स्वास्थ्य सेवा पाउने झन्झिने प्रक्रिया त छदैछ। शौचालय समेत अपाङ्गमैत्री नहुँदा उनीहरुलाई निकै समस्या हुने गरेको छ। हरेक सरकारी कार्यालय, भवन र बाटो अपाङ्गमैत्री हुनपर्ने कानूनी प्रावधान रहेपनि शौचालय जस्तो अत्यावश्यक कुरा पनि अपाङ्गमैत्री बन्न सकेका छैनन्।
‘स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७’ ले पनि अस्पतालको शौचालयहरु अपाङ्गमैत्री हुनुपर्ने व्यवस्था गरेको छ। मापदण्डको ‘परिच्छेद २’ को ७ ग मा शौचालय सबै प्रकारका अपाङ्गता भएका (दृष्टि विहीन, ह्विल चियनर प्रयोगकर्ता आदि) हरुका लागि मैत्रीपूण हुनुपर्ने उल्लेख छ।
‘स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका’ ले पनि स्वास्थ्य भवन निर्माण गर्दा अपाङमैत्री शौचालय बनाउनुपर्ने कुरा स्पष्ट रुपमा लेखेको छ। ती हुन्,
अन्तरङ्ग विभागमा – १ शौचालय प्रति २० उपभोक्ता
बहिरङ्ग विभागमा – कम्तीमा ४ वटा शौचालय
कर्मचारी – १
महिला बिरामी – १
पुरुष बिरामी – १
अपाङ्ग/बालमैत्री – १ शौचालय बनाउनुपर्ने भनिएको छ।
उक्त निर्देशिका अनुसार अपाङ्ग अशक्तका लागि एक छुट्टै शौचालय हुनुपर्ने र शौचालयमा ह्विलचियर सहित भित्र पस्ने पर्याप्त कोठा हुनुपर्दछ। अपाङ्ग व्यक्तिलाई आफैँ शौचालय प्रयोग गर्नका लागि सहज बनाउन ग्राब बारहरु जडान गर्नुपर्नेछ भने शौचालयमा खुड्किलाहरु राखिनु हुँदैन। शौचालयमा ड्रोप्ड स्लाब वा र्याम्प वा स्ल्याबमा प्वाल पारी सिधै पाइप तल्लो सिलिङ्गबाट निकाल्ने गरी डिजाइन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
२०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको करिब २ प्रतिशत अर्थात् करिब ५ लाख १० हजार व्यक्तिमा कुनै न कुनै किसिमको अपाङ्गता देखिएको छ। २०७८ सालको जनगणनाको नयाँ तथ्यांक आउन बाँकी छ। सरकारले शारीरिक, दृष्टि, सुनाई, श्रवण दृष्टिविहीन, स्वर र बोलाई, मानसिक/मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिजम र बहु गरी अपाङ्गताको प्रकारलाई दश भागमा वर्गीकरण गरेको छ।
यी १० मध्ये नेपालमा सबैभन्दा धेरै शारीरिक अपाङ्गता भएका व्यक्तिहरु छन्। दृष्टि सम्बन्धीलाई दोस्रो र सुनाई सम्बन्धीलाई सरकारले तेस्रो सूचीमा राखेको छ।
‘संरचना सबैका लागि समान बनाईनुपर्ने होइन र ?’
अपाङ्गमैत्री संरचना नहुँदा अस्पताल लगायत कुनै पनि सरकारी सेवा लिन आफुहरुलाई समस्या हुने गरेको अपाङ्गता भएका द्वन्द्व पीडितको राष्ट्रिय संजालका अध्यक्ष सुरेन्द्र खत्री बताउँछन्। आफुहरुले अपाङ्गमैत्री संरचनाको कुरा उठाउँदा पुरानो भौतिक संरचना देखाएर टार्ने गरेको उनले बताए।
‘अपाङ्गता परिचय पत्रको अभावमा स्वास्थ्य सेवा लिन पनि समस्या हुन्छ। अपाङ्गमैत्री संरचना समेत छैन। चर्पीभित्र ह्विलचियर लैजान र घुमाउन पनि समस्या हुन्छ।’ उनले भने।
ऐनले अपाङ्गमैत्री संरचना हुनुपर्ने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको उनले बताए। अस्पतालको भौतिक संरचना सबैका लागि समान हुनुपर्ने भएपनि अपाङ्गता भएका व्यक्तिका लागि भने भेदभावपूर्ण खालको रहेको उनको गुनासो छ।
‘ऐन छन् नभएका पनि होइनन् तर खै किन हो कार्यान्यन नै हुँदैन। हामीले पनि आवाज उठाइरहेका छौं। तर हाम्रो आवाजको पनि सुनुवाई हुँदैन। अस्पतालमा र्याम्प छैन। कतिपयमा लिफ्ट पनि छैन। संरचना सबैका लागि समान बनाईनुपर्ने हो। तर हामीलाई भेदभाव गरिएको छ,’ उनले भने।